News Portal

प्रसुती अस्पतालमा आतंककारी हमलामा, १८ नवजात शिशुका आमा मारिए

मोटिभेटन्यूज संवाददाता
२११ पटक

एजेन्सी – अफगानिस्तानको काबुलस्थित बारची प्रसुती अस्पतालमा मंगलबार भएको आतंककारी हमलामा २४ मानिस मारिए । यसपछि सुरक्षाफौजले पनि आतंककारीमाथि आक्रमण गरे । दोहोरो फायरिङ अन्त्यपछि जब शवहरु संकलन गरियो, तब हमलाको सबैभन्दा भयावह तस्विर बाहिर आयो ।

१८ नवजात बच्चामध्ये केही बच्चा रगतमा लत्पतिएका थिए । जन्मिएपछि उनीहरुको डिस्चार्ज हुनुअघि नै अस्पतालमा आतंकी हमला भएको थियो । त्यसो त अफगानिस्तानमा वर्षौदेखि हिंसा कायम छ, तर मंगलबारको आक्रमण निकै घृणित थियो ।

यी १८ बच्चामध्ये सबैभन्दा ठूलो बच्चाको उमेर ५ दिनको थियो र सबैभन्दा कान्छो बच्चा हमलाकै समय जन्मिएको थियो । यसमध्ये २ जना शिशुका आमा जिवित रहे । बाँकी बच्चा यस्ता छन्, जसले अस्पतालमै आक्रमणका कारण आमा गुमाए ।

अस्पतालमा हमला भए लगत्तै बच्चाहरुको पहिचान गर्दै उनीहरुलाई परिवारको हस्तान्तरण गर्ने काम सुरु गरिएको थियो । अस्पतालबाट एक व्यक्ति बच्चाहरुलाई जन्म दिने आमाको सुची लिएर आएका थिए र त्यसपछि दर्जनौं मानिस एकजुट भए ।

अफगानिस्तानको रुढीवादी समाजमा कुनै व्यक्तिको पत्नीको नाम सार्वजनिक रुपमा लिनु भनेको ती व्यक्तिको अपमान गर्नु हो । तर, अब बच्चाको पहिचान उनीहरुकी आमाकै नामबाट हुनुपर्ने थियो किनकी बच्चाको नाम नै राखिएको थिएन । त्यसैले ती व्यक्तिले जोड–जोडसँग आमाको नाम लिएर उनीहरुका परिवारलाई बच्चाबारे जानकारी दिइरहेका थिए ।

सबै १८ बच्चाहरुलाई यस अस्पतालबाट अतातुर्क अस्पतालमा सिफ्ट गरिएको छ ।

बुधबार बिहान अतातुर्क हस्पतालको वार्डमा सुराया र गुल मकाईका बच्चाहरु एकअर्काको नजिकै थिए । सुराया इब्राहिम आक्रमणमा मारिइन् । गुल मकाई आफ्नो बच्चासँगै थिइन् र उनको खुट्टामा पनि ठूलो चोट थियो ।

सुराया इब्राहिमको यो पाँचौ बच्चा थियो । आफन्तहरुका अनुसार ३१ वर्षीया सुराया सेनामा अफिसर थिइन् । उनी रक्षा मन्त्रालयको हेडक्वाटरमा सर्जेन्टको पदमा तैनाथ दिइन् ।

३५ वर्षीया गुल मकाई गृहणी हुन् । उनका पति ट्याक्सी ड्राइभर हुन् । यो उनको सातौं बच्चा हो । यस बच्चालाई सास फेर्न समस्या भएकाले उनी पाँच दिनदेखि अस्पतालमै थिइन् ।

गुल मकाईका अनुसार जब हमला सुरु भएको थियो तब उनी बसेको कोठामा अन्य दुई व्यक्ति मारिए । उनीसामु दुविधाको स्थिती आयो ।  उनले बच्चालाई छाडेर हिंड्ने वा त्यही रोकिने भनेर सोच्न सकिनन् ।

कोठामा केवल महिलाहरु मात्रै थिए । उनको परिवारका कोही थिएनन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै आमा र उसको बच्चासामु अन्य कसैलाई पनि जान दिइएको थिएन ।

बच्चालाई छाडेर बचाइन् ज्यान

गुल मकाईका अनुसार उनी कोठाबाट भागेर निस्किइन् । त्यहीं रोकिएका दुई आमा मारिए । उनी झ्यालबाट कुदेर बाहिर सडकमा आइन् । त्यही क्रममा चोट लाग्यो । किन यस्तो गर्दैछु भनेर उनलाई केही थाहा थिएन रु उनीसँग फोन थिएन र तत्काल आफ्ना पतिको नम्बर पनि संझन सकिनन् ।

गुल मकाईले एक मोटरसाइकललाई रोकिन् र घटना बताएर घर छाडिदिन विन्ति गरिन् । त्यसपछि उनले पति अजिजुल्लाहलाई फोन गरेर आफु सुरक्षित अवस्थामा रहेको तर बच्चाको अवस्था के भयो भन्नेबारे थाहा नभएको जानकारी गराइन् ।

अजिजुल्लाह अन्य बच्चाका बाबु र भाईहरुसँग अस्पताल बाहिर मिलिटरी अपरेशन सकिने प्रतिक्षामा थिए । धेरै घण्९टासम्म गुल मकाई र अजिजुल्लाहलाई आफ्नो बच्चाबारे कुनै सुचना थाहा भएन । गुल मकाईका अनुसार लामो समयसम्म उनी जोडजोडसँग रोइरहिन् ।

अस्पताल बाहिर जब आमाहरुको सुची पढिरहेका अधिकारीले ठूलो स्वतरमा गुल मकाईको बच्चालाई अतातुर्क अस्पताल लैजादै गरिएको जानकारी दिए तब उनको खुसीको सीमा रहेन । अतार्तुक अस्पतालमा पुगेर उनले सुतिरहेको आफ्नो बच्चालाई हेरिन्, उनलाई ठूलो खुसी मिल्यो ।

बच्चालाई कोख लिनेको भीड

बुधबार दिउँसो हुनासाथ अस्पतालमा दर्जनौं यस्ता महिला जम्मा भए जो बच्चालाई पाल्न चाहन्थ्यें । उनीहरु कसैले बच्चा दिन्छ कि भनेर सोधपुछ गर्दै थिए । त्यही, एक व्यक्ति गुलाम सखी आफ्ना नातीलाई लिन अस्पताल आएका थिए । उनले एक रात पहिले नै हमलामा मारिएकी आफ्नी छोरीको अन्त्येष्टी गरेका थिए । जब केही महिलाहरुले उनीसँग बच्चाको जिम्मेवारी लिने चाहना राखे, तब उनी चिच्याउन लागे । उनले भने, ‘तपाईहरु मानिस हो कि होइन रु यस्तो होइन कि पुरै परिवारको हत्या भएको छ र बच्चासँग कोही बाँकी छैन ।’

अन्त्यमा बुधबार दिउँसोसम्म ११ बच्चालाई उनीहरुको परिवारको जिम्मा लगाइयो र बाँकी बच्चाको पहिचानको काम जारी थियो । अस्पतालमा अर्कातर्फ २० वर्षकी एक युवती रोइरहेकी थिइन् । उनी आफ्नी दिदीको बच्चा लिन आएकी थिइन् । हमलामा दिदीको मृत्यु भएको थियो र दिदीका श्रीमान् सेनामा गजनी प्रान्तमा तैनाथ छ । अस्पताल प्रशासनले यी युवतीलाई बच्चा दिन इन्कार ग¥यो । जबसम्म बाबु आउदैंनन्, तबसम्म बच्चा नदिने अस्पतालको अडान थियो ।

अजिजुल्लाह पनि अस्पतालबाट आफ्नी श्रीमती र बच्चालाई लिएर घर फर्किएका थिए । उनले आफ्नो ट्याक्सीको पछाडिको सिटमा गुल मकाईलाई राखिदिए र उनका एक आफन्त बच्चालाई बोकेर बसेका थिए । कुराकानी गर्ने क्रममा अजिजुल्लाहको गला भरियो । उनले भने, ‘उनी मेरी पत्नीमात्रै होइनन्, मेरी हिरो पनि हुन् ।’

अझैसम्म कसैले लिएन जिम्मेवारी

अस्पतालमा भएको हमलाको जिम्मेवारी अहिलेसम्म कुनै संगठनले लिएको छैन । इस्लामिक स्टेटजस्तै संगठनले हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । विगतमा पनि आईएसले कमजोर नागरिकलाई निशाना बनाएको थियो, तर अफगानिस्तानमा यस घटनापछि तालिवानविरुद्ध आक्रोश उम्लिएको छ ।

तालिवानले युद्धविरामका लागि सहमत हुन लगातार इन्कार गर्दाको फाइदा अन्य आतंकवादी संगठनले उठाइरहेका छन् । देशका नेताहरुले अवस्थालाई थप खराब बनाएका छन् । राष्ट्रपति असरर्फ घानीसँगै उनका प्रतिद्वन्द्वी अब्दुल्ला–अब्दुल्लाले पनि स्वयंम्लाई राष्ट्रपति घोषणा गरेका छन् ।

गत फेब्रअरीमा तालिवान र अमेरिकाबीच भएको शान्ति सम्झौताले हिंसा कम गर्ने आशा जगाएको थियो । तर कैदीबन्दी रिहा गर्ने विषयमा विवाद हुँदा यो सम्झौता त्यसै अड्किएको छ । यही क्रममा तालिवानले देशभर हमला गरिरहेको छ, जसकारण दर्जनौं मानिस मारिएका छन् ।

२०७७ जेठ १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्