News Portal

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको सव काठमाडौं ल्याइयो

मोटिभेटन्यूज संवाददाता
१६१ पटक

काठमाडौँ – धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ।

मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए। उनले भने ‘मृतकलाई शवबहानमा राखेर र अगाडि पछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं।’

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्तपाल ल्याइएको थियो। तर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको केही वेरमा पशुपति आर्यघाटको विद्युतिय सवबाह गृहमा अन्त्यटी गरिने बुझिएको छ ।

दाह संस्कारबारे यस्तो छ व्यवस्था

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ ।

मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

२०७७ जेठ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्