News Portal

कोरोना पुष्टि भएपछि पुरै नगरपालिका सिल गर्ने तयारी

मोटिभेटन्यूज संवाददाता
१८४ पटक

दैलेख – कोरोना सङ्क्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ । आठबीस नगरपालिका—१ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना सङ्क्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए । लकडाउनको ५६ औँ दिनमा कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित दैलेखमा भेटिएका हुन् ।

शनिबार स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना सङ्क्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो । भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए ।

वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

उनले भने, ‘यहाँ आउने बेला उनीहरुको आरडिटी परीक्षण गरिएको थियो, त्यसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछि जेठ ३ गते शनिबार हामीले सबैकोे स्वाब सङ्कलन गराएर परीक्षण गराउँदा ती युवामा कोरोना पोजेटिभ देखिएको छ ।’ कोरोना सङ्क्रमण भेटिएको थाहा पाएपछि वडा सिल गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए ।

२०७७ जेठ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्