News Portal

२० वर्षीय युवामा कोरोना पुष्टि भएपछि नगरपालिका अनिश्चितकाकालका लागि बन्द

मोटिभेटन्यूज संवाददाता
१६४ पटक

खोटाङ – एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ ।

काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं. ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए ।

‘युवकमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ’, उनले भने, ‘यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ ।’

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ । सङ्क्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए ।

सङ्क्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुनसक्ने अनुमान गरिएको छ । सङ्क्रमित युवक होम क्वारेन्टाइनमा बसेको भनिए पनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए । सो आयोजनाको काममा संलग्न व्यक्तिमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले उनीहरु सबैको पिसीआर टेष्ट गर्ने तयारी गरिएको वडाध्यक्ष चइन्द्र राईले बताए । पिसीआर टेष्टका लागि स्वाब सङ्कलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन् ।

सङ्क्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा सङ्कलकको काम गर्दै आएको स्रोतले जनाएको छ । गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

२०७७ जेठ ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्