News Portal

कस्तो छ नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव ?

रामप्रसाद अधिकारी
१९७ पटक

काठमाडौं – चीनको हुवेई प्रान्तस्थित वुहान सहरबाट गत डिसेम्बर ३१ देखि सुरु भएको कोरोना भाईरस (कोभिड–१९) को महामारी विश्वभर फैलदो छ । यसले विश्व अर्थतन्त्रलाई त धक्का पुगेको छ नै त्यस्तै असर नेपाली अर्थतन्त्रमा पनि परेको छ ।

कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा परेसँगै दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने श्रमिक र साना व्यवसायी यसको मारमा परेका छन् । पछिल्लो ४ महिनादेखि विश्वभर फैलिन थालेको कोरोनाको महामारी अझै कहिलेसम्म रहने हो यसै भन्न सकिने अवस्था छैन । नेपालमा दिनप्रतिदिन यसका संक्रमित थपिँदै जाँदा सोही अनुसार लकडाउनको मिति पनि प्रत्येकचोटी थप्नुपर्ने अवस्था आएको छ । जसका कारण नेपाली नागरिक पनि आजित भइसकेका छन ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ६ सयभन्दा माथी पुग्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसले आगामी दिनमा आईपर्ने समस्यालाई देखाएको त छ नै त्यसमा पनि पछिल्लो समय छिमेकी देश भारतले नेपाली श्रमिकलाई आफ्नो देशबाट सीमानामा ल्याएर छोडिदिँदा यसको प्रभाव लामो समयसम्म रहिरहने निक्र्याेल गर्न सकिन्छ ।

नेपालमा गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनलाई नेपालले धान्न सक्ने अवस्था नरहेको विज्ञहरुले बताउँदै आएका छन् । सरकारले यसको रोकथामका लागि विभिन्न पहल गरिरहेकै अवस्थामा एकचोटी कोरोनामुक्त बन्न लागेको नेपाल पुनः तराईका केही जिल्लामा कोरोनाको कहर बढ्दै जाँदा यसको प्रकोप रोक्न नसकिने अवस्थासम्म पुगेको छ ।

यसरी दिनप्रतिदिन यसको प्रकोप बढ्दै जाँदा अमेरिका, चीन, ईटालीलगायतका देशहरु यसको रोकथामका लागि विभिन्न प्रयास थालेका छन् । साथै अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक प्याकेज पनि घोषणा गरेका छन् । तर नेपालजस्ता अल्पविकसित देशहरुमा भने यसले ठुलो असर निम्त्याउने सर्वविदितै छ । रोजगारीका विभिन्न स्रोतहरुमा लकडाउनका कारण काम ठप्प भएको छ । सोही अनुसार निजी क्षेत्रका विभिन्न कम्पनी तथा कलकारखानाहरु बन्द हुँदा रोजगारीको समस्या पनि बढ्दो छ । एकातिर आन्तरिक श्रमशक्तीलाई नै स्वदेशमा रोजगार दिन नसकिरहेको सरकारले आगामी दिनमा कामको लागि विदेश भासिएका लाखौं युवाशक्तीलाई रोजगारी पाउन मुस्किल हुनेछ ।

हालैको कुरा गर्ने हो भने विदेशिएका धेरै युवाहरु नेपाल फर्केका छन् । केही हदसम्म विप्रेषणबाट धानिएको नेपालको अर्थतन्त्रमा युवा सवै नेपाल फर्किँदा विप्रेषणमा ठूलो भार पर्नेछ । जसका कारण समग्र अर्थतन्त्रमा असर पर्नेछ ।

लकडाउनले कृषकका उत्पादनले बजार नपाउने अवस्थासमेत सृजना गरेको छ, जसका कारण कृर्षिमा भएको जनशक्तीले पनि भने अनुसार काम गर्न पाईरहेको अवस्था छैन । यस्तो अवस्थामा खेतबारीबाटै तरकारी उठाउने विभिन्न एजेन्टहरुले तरकारी खेतबाट नउठाईदिँदा खेतमा फलेको तरकारी तथा फलफुलहरु खेतबारीमै कुहिएका छन् । यसले कृषकको दैनिकी उथलपुथल भएको छ ।

यसैगरी पर्यटन क्षेत्रलाई हेर्दा अन्य क्षेत्रको तुलनामा दयनिय अवस्था सृजना भएको देखिन्छ । बाह्य पर्यटक र आन्तरिक पर्यटननै चलायमान हुन नपाउँदा र कोरोनाको डरका कारण पर्यटनमा निर्भर कैयौं होटल, रेष्टुराँ, होमस्टेको अवस्था चौपट भएको छ । जसका कारण पर्यटन क्षेत्र र एयरलाईन्स क्षेत्रले कहिले आफ्नो पुरानै मेसो समात्ने हो यसै भन्न सकिने अवस्था छैन ।

यसको रोकथामका लागि विभिन्न विकसित देशका वैज्ञानिकहरुले पनि हालसम्म कुनै ओखती पत्ता लगाईसकेका छैनन । जसले आधुनिक चिकित्सा विज्ञानमा ठूलो चुनौति खडा भएको छ । विश्वलगायत नेपालको उत्पादन, रोजगारी, बचत, निर्यात, स्टकमार्केटजस्ता आर्थिक विकासका सुचकांकहरुलाई ठूलो धक्का पुगेको छ । नेपालको आर्थिक सामाजिक, सांस्कृतिक, राजनीतिक, पर्यटन उद्योगलगायतका क्षेत्रहरुले पनि ठूलो नोक्सानी भोग्न बाध्यजस्तै भएका छन् ।

कारण नेपालका शैक्षिक संस्थाहरु चैत्र ५ गतेदेखि पुर्ण रुपमा बन्द गरिएको छ । एसईईको परिक्षासमेत बन्द भएको छ । एसईई परिक्षाको तयारीमा रहेका ४ लाख ८२ हजार विद्यार्थीहरु अब आईपर्ने अवस्था अवस्थालाई सम्झेर मनोवैज्ञानिक त्रासले ग्रसित छन् ।

हुन त सरकारका विभिन्न निकाय, मन्त्रालय, स्वस्थ्य सुरक्षाका सरोकारवालाहरु आफ्नो आफ्नो स्तरबाट अबको बाटो कस्तो हुने भन्ने विषयमा गम्भिर सोचमा छन् । सोही अनुसार शिक्षा मन्त्रालयले बालबालिकाको भविष्यलाई मनन गर्दै विभिन्न अनलाईन कक्षालगायतका क्रियाकलाप गरेर विद्यार्थीलाई अपडेट गराईरहन विद्यालयहरुलाई आग्रह गरेको छ । तर शहर तथा विकशित क्षेत्रका बालबालिका ईन्टरनेटमार्फत पढाईने शिक्षाबाट लाभान्वित होलान तर गरिब तथा दुर्गम स्थानका बालबालिका भने यसबाट बन्चित हुने अवस्था छ ।

यस्तो भयाबह अवस्थाको सामना गर्न सरकारले निजी क्षेत्रलाई आर्थिक प्याकेजको घोषणा गर्नुपर्ने भन्दै निजी क्षेत्रका विभिन्न संघसंस्थाहरु अपिल गरिरहेका छन् । यसमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाईराख्नका लागि पनि विशेष रुपले सोच्नुपर्नेछ । भयाबह अवस्था सिर्जना भईराख्दा सरकारले लकडाउनलाई निरन्तरता दिनु आवश्यक पनि छ । तर विभिन्न क्षेत्रलाई खतराको सुचक हेरी सोही अनुसार आर्थिक क्रियाकलाप गर्नु पनि उत्तिकै आवश्यक मानिनेछ ।

लकडाउनलाई विस्तारै खुकुलो गर्दै अर्थतन्त्रलाई चलायमान राख्न पनि सरकारले हेर्नु जरुरी छ । शिक्षा क्षेत्रलाई पनि गएका दिनजस्तै पुनः संचालनमा ल्याउन पहल गर्नु जरुरी देखिन्छ । तर यस्तो भयाबह अवस्थामा हामी नागरिकले पनि सरकारले अघि बढाएका केही सकारात्मक कदमलाई साथ दिनु उत्तिकै आवश्यक छ । जसका कारण महामारीको अन्त्यमा सरकारलाई केही हदसम्म भएपनि सहयोग पुग्नेछ ।

२०७७ जेठ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्