News Portal

७६ जना कोरोना संक्रमितलाई निको पार्ने नर्सहरूको अनुभव

मोटिभेटन्यूज संवाददाता
२५९ पटक

वीरगञ्ज – प्रदेश नम्बर २ मा वीरगञ्जस्थित नारायणी अस्पतालले पहिलो पटक कोभिड संक्रमितको उपचार सुरु गरेको थियो । ०७६ चैत २९ गते वीरगञ्जमा पहिलो पटक तीनजना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो । उनीहरूलाई नै अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो ।

वैशाख १ गते रौतहटबाट थप एकजना संक्रमित भर्ना भएका थिए । जेठ १२ गते एकैदिन ४३ जना संक्रमित कोरोनामुक्त भएर घर गएसँगै नारायणी अस्पताल अहिले कोरोनामुक्त अस्पताल बन्न पुगेको छ । नारायणीबाट कुल ७६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

अस्पतालबाट सबै संक्रमितहरू निको भएर घर फर्किँदा उनीहरूको उपचारमा दिनरात खटिने नर्सलगायत अस्पतालका अन्य सहयोगीसमेत हर्षित देखिन्थे ।

उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक्स स्टाफलगायत अन्य सहयोगीहरूले संक्रमित भएर फर्किँदा खुसी हुँदै हात हल्लाएर बिदाइ गरेका थिए । सँगसँगै उनीहरूले परिवारको सदस्यलाई बिदाइ गरेको जस्तो महसुस गरेका देखिन्थे । उपचारका क्रममा संक्रमितसँग सबैभन्दा बढी नर्सहरू नै घुलमिल हुनेछन् । खाना वितरण गर्ने, औषधि दिने, औषधि खान सम्झाउने, गुनासो र गाली नर्सहरूले नै सुन्नुपर्ने हुन्छ । सीसीटीभीबाट नर्सहरूले संक्रमितको गतिविधिमाथि नियमित निगरानी गर्ने गर्छन् ।

संक्रमितको उपचारमा संलग्न नर्सहरूको अनुभव उनीहरूकै शब्दमा :

नर्स अहेमा थापा

सुरु–सुरुमा संक्रमितलाई सम्झाउन निकै गाह्रो भयो । उनीहरूसँग नजिक भएर कुराकानी गर्दै गएपछि आफ्ना कुराहरू राख्न थाल्थे । कतिपय संक्रमितले फोनमा घर व्यवहारका कुरा समेत सेयर गर्थे । आफ्ना जीवनका सुख दुःखका पाटाहरू पनि साटासाट गर्थे । यसरी कुरागर्दा उनीहरूले अस्पतालमा आफू एक्लो छु भन्ने महसुस हुन पाउँदैनथे ।

पीपीई, ग्लोब्स, पञ्जालगायतका व्यक्तिगत सुरक्षा सामग्री लगाएर जाँदा उनीहरूले आफूलाई रोगी भएको महसुस गर्ने गरेको पायौं । यसरी जाँदा उनीहरू डराउने गर्थे । यस्तो डर लाग्दो लुगा लगाएर किन आएको भनेर जिज्ञासा समेत राख्थे । हामीलाई केही भएको छैन, कुनै रोग लागेको छैनभन्दै औषधि समेत सेवन गर्न मान्दैनथे । आइसोलेसनमा संक्रमितहरूले थुनिएजस्तो महसुस गरेको पायौं । तर, सम्झाउँदै गएपछि उनीहरूले व्यक्तिगत सरसफाईमा ध्यान दिन थाले । हामीले भनेको मान्न थाले ।

त्यसैले डिस्चार्ज भएर जाँदा परिवारका सदस्य नै छुट्टिएर गएको जस्तो महसुस भयो । हामीले केही गुमाएजस्तो महसुस भयो । ड्युटीको समयमा अस्पतालमा बसेर सीसीटीभीमार्फत संक्रमितहरूको नियमित निगरानी गथ्र्यौं । संक्रमितहरूको दैनिक गतिविधि नियालेर उनीहरूको भावनाअनुसार काउन्सिलिङ गथ्र्यौं । कहिलेकाहीँ संक्रमितहरूको गतिविधिबारे ड्युटीमा रहेका साथीहरूबीच एक आपसमा कुराकानी पनि गथ्र्यौं ।

जेठ १२ गते ४३ जना कोरोनामुक्त भएर घर फर्किएका थिए । ४२ जनाले आ–आफ्नै ढंगले व्यवस्थापन मिलाएर घर फर्किएका थिए । तर, सर्लाहीका १२ वर्षीय युवकलाई लिन भने कोही आएनन् । हामीले नै समन्वय गरेर उनलाई वीरगञ्जस्थित त्रिजुद्ध माविको क्वारेन्टिनमा पठायौं । सबै आ–आफ्नो घर फर्किसक्दा पनि उनी भने घर जान पाएनन् । जुन कुराले हामीलाई साह्रै नरमाइलो महसुस भयो ।

उनलाई त्यसको भोलिपल्ट अस्पतालकै एम्बुलेन्समार्फत घर पुर्‍याउने व्यवस्था मिलायौं । त्यसपछि मात्रै हामीहरू खुसी भयौं । उनलाई घर लैजाने पैसा नभएका कारण उनको बुबा लिन आउन नसकेका रहेछन् । पछिमात्रै हामीले थाहा पायौं । घर फर्किनुअघि उनले हामीलाई जानकारी दिएअनुसार उनको बुबासँग एम्बुलेन्सलाई दिने पैसा पनि रहेन छ । क्वारेन्टिनमा बस्दा उनले फोन गरेर आफ्नो दुःख पोखेका थिए । कोरोना निको भएर गएको हुनाले उनलाई बेग्लै एउटा कोठामा राखिएको रहेछ । डरले रातभर सुत्न नसकेको पीडा उनले सुनाए ।

अहेमा नेतृत्वको समूहले पहिलोपटक भेटिएका तीन जना भारतीय नागरिकसहित अन्य संक्रमितको उपचारमा संलग्न भएका थिए । सुरुमा संक्रमितको उपचारमा खटिन कसैले पनि नमानेपछि आफू नै संक्रमितको उपचार गर्छु भनेर अघि सरेकी थिएँ । नयाँ रोग भएकोले सबै डराएको अवस्था थियो । कोही न कोही त अघि सरेर काम गर्नै पथ्र्यो । त्यसैले अग्रसर भएर उपचारमा संलग्न भएँ । पहिलो एक हप्ताको ड्युटी सकाएपछि मात्रै अरू साथीहरू पनि संक्रमितको उपचारमा संलग्न हुनुभयो ।

७ दिन संक्रमितको उपचारमा खटिएपछि १५ दिन क्वारेन्टिनमा बसेर घर गएकी थिएँ । घरबाट फर्किएपछि पुनः मेरै नेतृत्वमा पारामेडिक्स र नर्सिङ स्टाफ गरी १० जनाको समूह संक्रमितको उपचारमा खटेका थियौं । १४ दिनको ड्युटी गर्न भनी जेठ ४ गतेबाट खटिए पनि त्यसको आठै दिनमा सबै संक्रमितलाई बिदाइ गर्न सफल भयौं ।

नर्स मनीषा पाण्डे

सुरुमा चार जना संक्रमितको उपचारमा खटेका थियौं । पछिल्लो पटक संक्रमितको ग्रुप ठूलो थियो । सुरु–सुरुमा व्यवस्थापन गर्न कठिनाइ भयो । सिस्टम बसेपछि भने सजिलो भयो ।

संक्रमितको उपचारमा खटिँदा एकातिर संक्रमण हुने डर लाग्थ्यो भने अर्को तर्फ रमाइलो पनि लाग्थ्यो । पहिले गाइनो वार्ड रहेको ठाउँमा राखिएका संक्रमितहरूको उपचारमा खटिँदा भने निकै रमाइलो महसुस हुन्थ्यो ।

कतिपय संक्रमितले त रातभर फोन गरेर हैरानै पार्थे । तर पनि झर्को नमानी उनीहरूलाई सम्झाउने गर्थ्यौं । प्रत्येक वार्डमा टोली नेता बनाएर उपचारमा खटिँदा सहज हुन पुग्यो । टोली नेताकै नेतृत्वमा खानेकुरा, औषधि र उनीहरूको समस्या बुझ्न सहज भयो ।

वार्डमा टोली नेता नबनाउँदा फोन गरेरै हैराउन पार्थे । खाना, नास्ता, औषधिसमेत समयमा दिन समस्या हुन्थ्यो । टोली नेता बनाएर संक्रमितको उपचारमा खटिँदा धेरै सहज भयो ।

आइसोलेसनमा बसेका धेरैजसो संक्रमितहरूले नियमित योगा गर्दा, नाच्दा, गाउँदा भने ड्युटीमा खटिँदाको सबै पीडा भुल्ने गथ्र्यौं ।

नोट ः यो सामाग्री सुरेश विडारीले अनलाइनखवरका लागि तयार पारेका हुन । हामीले अनलाइनखवरबाट साभार गरेका होऊँ ।

२०७७ जेठ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्