News Portal

७ दिनका भोका यादवले मध्य सडकमै प्राण त्यागे, कोरोनाको डरले चाउचाउ पनि खान दिइएन

मोटिभेटन्यूज संवाददाता
१९६ पटक

काठमाडौं – भोकका कारण थप १ नेपालीका ज्यान भएको छ । मजदुरीका लागि भारत गएका धनुषाका वीरेन्द्र यादव घर फर्किदै गर्दा बाटामै मृत्यु भएको हो ।

उनी भारतबाट नेपाल फर्कंदै थिए। धनुषास्थित उनको घरमा श्रीमती, छोरा र छ महिनाकी छोरी पर्खाइमा थिए। भारतको गुजरातमा काम गर्ने ३० वर्षे वीरेन्द्र लकडाउनपछि कामविहिन भए। हातमुख जोर्न पनि गाह्रो हुने देखियो।

अर्कोतर्फ घरपरिवारको मायाले उनलाई तान्यो। लकडाउनकै बीच उनले सुरू गरे धनुषाको यात्रा। कयौं दिन भोक, प्यासको उनले मतलव गरेनन्। उनी हिँडिरहे।

जब धनुषाको जटही नाका आइपुगे, पाइला अघि सरेनन्। त्यहीँ उनले अन्तिम सास फेरे। वीरेन्द्रका भाइ धिरेन्द्रका अनुसार दाजु छ दिनसम्म हिँडेर भारतको दरभंगा पुगेका थिए। त्यसबेलासम्म उनको अवस्था राम्रै थियो। ‘चिउरा, भुजा खाएर दाइ ६ दिन हिँडेर दरभंगा पुग्नुभएको थियो,’ उनले भने।

वीरेन्द्रसँग छ÷सात जना नेपालीहरू पनि सँगै थिए। उनीहरूले बेलाबेला भारतीय नम्बरबाट उनको हालखबरबारे धिरेन्द्रलाई जानकारी दिइरहन्थे। गत मंगलबार धिरेन्द्रलाई भारतीय नम्बरबाट फोन आयो। उताबाट बोल्नेले भने, ‘म्बुलेन्स लिएर दरभंगा आउनू’ वीरेन्द्र सिरियस छ।

‘रातको १० बजेतिर दाइसँगै रहेकाहरूले फोन गरेर एम्बुलेन्स ल्याउन भनेका थिए,’ धिरेन्द्रले भने, ‘जसरी भए पनि उतै ९भारत० बाट एम्बुलेन्स खोजेर दाइलाई जटही नाका ल्याउन भनेको थिएँ।’

उनीहरूले वीरेन्द्रलाई एम्बुलेन्समा राखेर राति १ बजेतिर नाका ल्याइपुर्‍याए। ‘नाकामा रहेका प्रहरीलाई दाजुको अवस्था जानकारी गरायौं। उनीहरूले छिटो ल्याउन स्वीकृति दिए,’ उनले भने, ‘तर एसएसबीले भने विहान नभएसम्म जान दिनौं भन्यो।’

दाजुलाई सीमा कटाउन नदिने थाहा पाएपछि त्यो रात धिरेन्द्र काकाको घर फर्किए। तर विहान ४ बजेतिर वीरेन्द्रका साथीहरूले ‘एम्बुलेन्स लैजान नदिने भए बोकेरै लैजान्छौं‘ भनेपछि एसएसबीले लैजाने स्वीकृति दियो।

‘विहान नाकासम्म ल्याइपुर्‍याउँदा दाजुको अवस्था झन् नाजुक बन्दै गएको थियो,’ धिरेन्द्रले भने, ‘कोरोनाका डरले पनि हुन सक्छ दाजु र उहाँका साथीहरूको नजिक कोही जान मानेनन्।’

भोकले दाजुको अवस्था गम्भीर रहेको थाहा पाएर घरबाट दूध, विस्कुट र जुस लिएर गएको उनले बताए। ‘सुरक्षाकर्मीले उनीहरूमा कोरोना हुन सक्छ भनेर नजिक जान दिएनन्। दाजुसँगै आएका साथीहरूले हामीले लगेका खानेकुरा खान त दिनुभएको थियो,’ उनले भने।

अवस्था नाजुक भइसकेका वीरेन्द्र घरबाट ल्याएका खानेकुराले तङ्गिएनन्। उहाँलाई तत्कालै अस्पताल लैजान हारगुहार गरेँ। हामीलाई कसैले सहयोग गरेनन्,’ उनले भने। एम्बुलेन्स नपाएका कारण बुधबार विहान ८ बजेतिर दाजुको मृत्यु भएको उनले बताए।

एम्बुलेन्स समयमै खोज्न सकिएको भए दाजुलाई बचाउन सकिन्थ्यो कि भन्ने धिरेन्द्रलाई लागेको छ। ‘सहिद नगरका मेयरलाई फोन गरेर एम्बुलेन्स खोज्न सहयोग गरिदिन भनेको तर सहयोग गर्नुभएन,’ उनले भने।

धिरेन्द्रले एम्बुलेन्स चालकलाई फोन नगरेका भने होइनन्। ‘चिनेका एम्बुलेन्स चालकलाई फोन गरेँ। तर उनीहरूले दाजुलाई अस्पताल लैजान मानेनन्,’ उनले भने।

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ९ का वीरेन्द्र यसअघि खाडि मुलुक जाने योजनामा थिए। त्यसका लागि उनले राहदानी पनि बनाएका थिए। मेनपावरले भिसा आउन समय लाग्ने भनेपछि उनी मजदुरीका लागि भारत हानिएका थिए। उनले होटलमा काम पनि गरेका थिए।

२०७७ जेठ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्