News Portal

संविधानअनुसार संघीयता कार्यान्वयन गर्न कम्युनिष्ट सरकारको रुचि नदेखिएको उपसभापति निधिको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९४ पटक
काठमाडौं

असोज १३, काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानअनुसार संघीयता कार्यान्वयन गर्न कम्युनिष्ट सरकारको रुचि नदेखिएको आरोप लगाएका छन्।

दाङ घोराहीमा भएको पार्टीको संशोधित विधानको मस्यौदाबारे सुझाव संकलन कार्यक्रममा निधिले प्रदेश सरकार संचालनका लागि कानून बनाउन सरकारले नचाहेकोले संघीयता कार्यान्वयनमा कम्युनिष्टको रुची नदेखिएको बताए।

‘संघीयता कम्युनिष्टको रुचिको विषय होइन, कांग्रेसले संघीयता ल्याएको हो’, उनले भने, ‘रुची नै नभएकोले हुनुपर्छ कम्युनिष्ट सरकार संघीयता विफल बनाउन खोजेको छ।’

संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीबाट हुनुपर्ने भएपनि अहिले दुवै पद नेकपाले नछाडेको उनको भनाइ छ। कांग्रेसको विधान पार्टीलाई थप गति दिने खालको हुनुपर्ने उनले बताए। प्रदेश ५ का संयोजक रमेश लेखकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउने खालको विधान बनाउन सुझाव दिन आग्रह गरे।

विधानमाथि सुझाव दिँदै केन्द्रिय दीपक गिरीले सभापतिलाई पूर्ण अधिकार दिने विषय सुधार गर्नुपर्ने बताए। केन्द्रिय सदस्य किशोरसिंह राठौरले शक्तिशाली सभापति बनाउने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिए।

दाङ सभापति कीर्तिबहादुर खड्काले पार्टीभित्र झ्यागिंएको गुटउपगुट हटाउनुपर्ने बताए। प्रदेश ५ का १२ जिल्लाका कांग्रेस नेताहरु सहभागी भेला शनिबारसम्म चल्छ।

२०७५ असोज १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्