News Portal

सरकारले एमसीसी पास गर्ने लागेको भन्दै विप्लवले गरे आन्दोलनको घोषणा

मोटिभेटन्यूज संवाददाता
२५१ पटक

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्र विक्रम चन्द (विप्लव)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको बताउँदै सहीछाप नलाउन आग्रह गरेका छन् । विप्लवले आइतबार विज्ञप्ति जारी गरेर काँग्रेसको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदबाट पास गर्न लागेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

विप्लवले विज्ञप्तिमा जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन आग्रह पनि गरेका छन् । यदि एमसीसी संसदबाट पारित गरे त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिदै विप्लवले त्यसको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने बताए ।

“एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ” विज्ञप्तिमा भनिएको छ ।

विप्लवले एमसीसी सम्झौताले नेपाल र अमेरिका सम्बन्धमासमेत गम्भीर नकारात्मक परिणाम ल्याउने भन्दै जबरजस्त सम्झौता नलाद्न र नेपालको सार्वभौमितामामाथि हस्तक्षेप नगर्न अमेरिकलाई आग्रहसमेत गरेका छन्

विज्ञप्तिमा भनिएको छ, “हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ ।”

विप्लवले जेठ २८ गतेसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसमा जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाउने, जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म घोषणा गरिने जानकारी गराएका छन् ।

२०७७ जेठ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्