News Portal

शैक्षिक परामर्श व्यवसायलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रमा राख्न व्यवसायीको माग

मोटिभेटन्यूज संवाददाता
१७९ पटक

काठमाडौं – राष्ट्रिय शैक्षिक परामर्श संघ नेपाल (नेका)ले शैक्षिक परामर्श व्यवसायलाई कोरोना भाइरस (कोभिड १९) प्रभावित व्यवसायका रुपमा सूचीकृत गर्न माग गरेको छ । संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरस र नेपालमा गरिएको लकडाउनका कारण व्यवसाय चौपट भएको भन्दै परामर्श व्यवसायलाई अति प्रभावित क्षेत्र घोषणा गरि सहुलियत दिन आग्रह गरेको छ ।

संघका अध्यक्ष शन्तोष प्याकुरेलद्वारा जारी विज्ञप्तिमा शैक्षिक परामर्श व्यवसायलाई अति प्रभावित ब्यवसायिक क्षेत्र अन्तर्गत सुचिकृत गरी सहुलियत ऋण÷पुनरकर्जाको सुबिधा, कर छुट तथा कर तिर्नका लागि सहज समयावधिका साथै कर्मचारीहरुको तलबमा लाग्ने करमा अधिकतम सहुलियत प्रदान गरि व्यवसायिक हौसला, प्रोत्साहन, तथा व्यवसाय सुचारु गर्ने बातावरण निर्माण गरिदिन सरकार समक्ष अनुरोध गरेका छन ।

उनले विज्ञप्तिमा भनेका छन, ‘बैदेशिक शैक्षिक परामर्श व्यवसाय नेपालमा कोभिड–१९ को संक्रमण शुन्य रहेकै अवस्थामा हुँदाको केही महिनाअघि देखी नै विधार्थीहरु पढ्न जान चाहेको गन्तब्य देशमा भैरहेको कोरोना महामारीको संक्रमणको प्रभाबलाई हेरी विदेश पढ्न जानको लागि ती केही देशका लागि अध्ययन स्वीकृतिको पत्र रोकेको थियो ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पहिल्यै आंशिक रुपमा यो व्यवसाय प्रभाबित भईसकेको अवस्थामा लकडाउनपछिको स्थिती भयावह भएको र व्यवसायको कारोबार शुन्य अवस्थामा रहेको सर्वबिदितै छ । यस परिवेशमा लकडाउन खुलेपछि कार्यालय सन्चालनार्थ घरभाडा, कर्मचारिको तलब, भत्ता, मसलन्द खर्च तथा अन्यखर्चहरु, सरकारका विभिन्न करहरूको साथै आफ्नो पनि दैनिकी गुजारा गर्न निकै कठिन अवस्था रहेको छ ।’

नेकाले अहिलेको अवस्थामा अन्तरास्ट्रिय शैक्षिक गन्तब्य मुलुकका आर्थिक र जनस्वास्थ्यमा आएको बिकटताले गर्दा शैक्षिक सत्र संचालनमा ढिलाइ, विधार्थीले गर्न पाउने आंशिक कार्यको उपलब्धतामा कमी र बोर्डर बन्दका कारणले महिनौसम्म व्यवासायिक गतिबिधि ठप्प भै शैक्षिक परामर्श व्यवसाय धरासायी हुने अवस्थामा पुगेको भन्दै सहयोगका लागि सरकारसँग याचना गरेको छ ।

त्यस्तै, नेकाले कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गरिसकेका मुलुकका लागि बैदेशिक शैक्षिक अनुमति पत्र सुचारु गरिदिन समेत अनुरोध गरेको छ ।

 

२०७७ जेठ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्