News Portal

हिरासतभित्र कपडाले मुख थुनेर शम्भुको हत्या, आमालाई सुई लगाएर बेहोस !

मोटिभेटन्यूज संवाददाता
१२१ पटक

जनकपुरधाम – धनुषाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा प्रहरी हिरासतमा मृत भेटिएका छन । साहलाई प्रहरीले कपडाले मुख छोपेर हत्या गरेको आफन्तले आरोप लगाएका छन ।

स्थानिय संजय साहको ट्याक्टर चलाउँदै आएको उनी जेठ १२ गते सवारी दुर्घटनाको केसमा पक्राउ परेका थिए । माटो लोड गरेर गाउँतर्फ फर्किने क्रममा एक जना महिलालाई उनले चलाएको ट्याक्टरले ठक्कर दिएको थियो । उनको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । घटनापश्चात प्रहरीको सम्पर्कमा गएका उनको मंगलबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो ।

उनी मंगलबार राति इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । उनका परिवारका सदस्य र स्थानीयवासी भने यो कुरा मान्न तयार छैनन् । उनीहरुको एउटै भनाइ छ, ‘उनको हत्या भएको हो र घटनाको छानबिन हुनुपर्दछ ।’

चाँडो नछोडाए, मारिदिने बताएका थिए शम्भुले

‘आमा मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छ,’ रुँदै आफ्नी आमा र सासूलाई तीन दिन अगाडि भनेका थिए शम्भु सदाले । त्यस बेलाको कुरा सम्झँदै उनकी सासू तेतरी देवीले भनिन्, ‘ज्वाइँले मलाई छिट्टै हिरासतबाट निकाल्न भन्नुभएको थियो । नत्र मेरो ज्यानको खतरा छ भन्नु भएको थियो ।’

थुनाभित्र रहेका शम्भुलाई उनकी आमा सयाली देवी र सासूआमा तेतरी देवी भेट्न जाँदा शम्भुले यस्तो कुरा बताएका रहेछन् ।

शम्भुको कुरा सुनेर डराएकी आमा र सासू आमा दुवै ट्याक्टर धनी संजय साहलाई चाँडो छुटाइदिन आग्रह गर्न उनको घरै पुगेका थिए । ‘संजयले यो विषयमा धेरै मान्छेलाई भन्ने काम छैन, म छोडाइहाल्छु भने,’ तेतरी देवी भन्छिन्, ‘उसको कुराले ढुक्क हुन सकेनौं । हामी पनि ५ लाख रकम खोज्नतिर लाग्यौं ।’ रकमको जोहो गर्दागर्दै आफ्नो ज्वाइँलाई प्रहरी हिरासतभित्र हत्या गरिएको तेतरी देवीको आरोप छ ।

‘बेहोस् बनाएर औंठाछाप लगाए’

शम्भुको मृत्युपछि उनकी आमा सयालीदेवी विक्षिप्त बनेकी छन् । दिउँसो केहीबेर होसमा आएकी उनले आफूलाई प्रहरीले राति ३ बजे घरबाट उठाएर प्रहरी कार्यालयमा लगेको बताइन् । रातिको बेला प्रहरीले लैजाँदै आफूलाई डर लागेको बताउँदै उनले भनिन्, ‘प्रहरीले त्यहाँ लगेपछि तिम्रो छोराले झुण्डिएर आत्महत्या गरेको भन्यो, त्यो कुरा सुन्नेवित्तिकै रुन, कराउन थालेँ । त्यहीबीचमा पाखुरामा एउटा सुई लगाइदियो ।’

सुई लगाएको ठाउँ देखाउँदै उनले भनिन्, ‘त्यसपछि म बेहोस जस्तै भएँ । र एक जना प्रहरीले मेरो हात समातेर कुनै कागजमा औंठा छाप लगाएको सम्झना छ ।’ त्यसपछि प्रहरीले नै आफूलाई गाडीमा चढाएर घर पुर्याइदिएको उनको भनाइ छ ।

सीसीटिभी बन्द

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा मुखमा कपडा कोचिएको, ३ बजे नै उनकी आमालाई बोलाएर सही छाप गराएको र इलाका प्रहरी कार्यालयको सिसिटिभी बन्द रहेको जस्ता घटना क्रमले उनको हत्या भएको हुन सक्ने बताए ।

उनले घटनाको उच्चस्तरीय न्यायीक छानबिन नगरिए मुसहर समुदाय चरणबद्व आन्दोलनमा उत्रने बताए ।

यता नेकपा नेता एवं पूर्वमन्त्री उमेश यादव प्रहरी हिरासतभित्र शम्भु सदाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँछन् । ‘उनको हत्या या आत्महत्या के भएको हो ? प्रहरीको निगरानीमा रहेको व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिनु रहस्यमय छ,’ उनले भने, ‘गम्भीर छानबिन होस्, घटनालाई सामान्य ढंगले नलिइयोस् ।’

२०७७ जेठ २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्