News Portal

रौतहटमा फेरी गोली चल्यो

मोटिभेटन्यूज संवाददाता
८७ पटक

रौतहट – समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक आन्दोल गरेका छन । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् ।

उनीहरू क्वारेन्टिनमा बसेको १८÷२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर एक सातासम्म रिपोर्ट नआएपछि उनीहरू आन्दोलित भएका हुन् ।

समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले शनिबार गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध गरेका हुन् ।

वडाध्यक्ष शेख अरि रुल्लाह भन्छन्, ‘२४ गते काठमाडौं स्वाब पठाएका थियौं । रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।’

उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । क्वारेन्टिनमा बसेकाहरूले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेन्टिन छोडेर भाग्न खाजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको छ ।

प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमै पुर्‍याएको छ ।

वडाध्यक्षका अनुसार दुई ठाउँमा क्रमशः ९६ र ७५ जना छन् । अरू भगवानपुर मदरसामा छन् ।

२०७७ जेठ ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्