News Portal

साझा यातायातले दशैंका लागि उपत्यका बाहिरिने यात्रुहरुकालागि २१ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

असोज १५ काठमाडौं – साझा यातायातले दशैंका लागि उपत्यका बाहिरिने यात्रुहरुकालागि यहि असोज २१ गते देखि टिकट बुकिङ खुल्ला गर्ने भएको छ । मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ सम्म रात्रि र दिवा सेवा एवं काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा उपलब्ध गराउने भएको हो ।

साझासँग हाल ४ वटा डिलक्स बसहरु रहेका छन् । दुई बस काठमाडौंबाट बाहिरिँदा, दुई बस फर्किन्छन्, यसबाट दशैंका यात्रुहरुलाई केही राहत मिल्ने साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेको विश्वास छ । बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे बस छुट्नेछन् ।

त्यस्तै सुनौलीका लागि पुल्चोकबाट साढे ६, नयाँ बसपार्कबाट ७ तथा कलंकीबाट साढे ७ बजे बस छुट्नेछन् । साझा यातायातले यात्रुहरुको चापलाई मध्य नजरगरि बस थप्नुपरेमा उपत्यकामा नै सञ्चालन हुदै आइरहेका बसहरुलाई नै अवस्था हेरेर परिचालन गर्ने साझाले जनाएको छ । साझाले सरकारले तोकेकै भाडादरमा टिकट बुकिङ गर्ने जनाएको छ ।

आउँदो ३ महिना भित्र उपत्यकाकालागि थप २० वटा बस उपत्यका ल्याउने तयारी पनि साझाले गरेको छ । निकट भविष्यमा आफ्नो सेवा विस्तार गर्दै पहिला जस्तै नेपाल लगायत भारतको नयाँ दिल्ली र ल्हासासम्म बस पु¥याउने साझा यातायातको योजना रहेको छ ।

२०७५ असोज १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्