News Portal

रुकुम हत्याकाण्ड जातिय छुवाछुतकै कारण भएको ठहर (स्थलगत प्रतिवेदनसहित)

मोटिभेटन्यूज संवाददाता
५० पटक

काठमाडौं – नवराज विकसहित ६ जनाको हत्या हुने गरि रुकुममा भएको घटना जातिय छुवाछुतकै कारण भएको एक स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ । दलित आन्दोलन एवम् विभिन्न उत्पीडनविरुद्धका आन्दोलन, अधिकारवादी आन्दोलन तथा सचेत बौद्धिक एवम् आन्दोलनरत अभियान्ताको बिचबाट गठन गरिएको एक अध्ययन टोलीले यस्तो निस्कर्ष निकालेको हो ।

टोलीले मंगलबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनका बिच ५३ पृष्ठको रुकुम हत्याकाण्ड स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निस्कर्ष निकालेको हो । घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्ययन टोलीका सदस्य युग पाठकले कुनै पनि प्रमाणले दुवैतर्फबाट झडप भएको पुष्टि नगरेको बताए ।

निर्ममतापूर्वक एकतर्फीरुपमा आक्रमण गरेर योजनावद्ध तरिकाले ६ जनाको हत्या गरिएको उनले बताए । अन्तरजातीय विवाह गर्न खोजेकै कारण सुनियोजित तरिकाले हत्या गरिएकाले यसको मुख्य जड नै जातिय छुवाछुत भएको उनले बताए । वरिष्ठ लेखक तथा राजनीतिक विश्लेषकसमेत रहेका पाठकले सोमबार मात्र सार्वजनिक भएको पोस्टमार्टमको रिपोर्ट पनि राजनीतिक दवाबबाट गलत आएको बताए ।

समितीका सदस्य एवम् दलित अधिकारकर्मी जेवी विश्वकर्माले स्थानीय तहदेखी माथिल्लो तहसम्मका जनप्रतिनिधिले सुरुदेखि नै यस घटनालाई सामान्यिकरण गर्न खोजेको बताए । अध्ययनका क्रममा घटनाको प्रमुख जड नै जातिय छुवाछुत भएको उनको भनाइ छ ।

त्यसैगरी अर्का सदस्य राम नेपालीले स्थानीय प्रहरीले समेत घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाए । देशभर घटनाका विरुद्धमा आन्दोलन भएपछि मात्र प्रहरीले कदम अघि बढाएको बताए ।
अर्का सदस्य एवम पत्रकार सुष्मा बरालीले घटनामा मुख्य पात्र सुस्मा मल्लसँग आफुले कुराकानी गर्न खोज्दा प्रहरीले नदिएको तर उनको अवस्था सामान्य रहेको र बाहिर हल्ला भएजस्तो गर्भवती नभएको बताईन् । घटनामा हत्या भएका टिकाराम सुनार लगायत अन्य परिवारको बिचल्ली भएकाले त्यतातिर सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

समिति सदस्य एवम लेखक संगीतले घटनालाई दोहोरो भिडन्त भनेर तोडमोड गर्न खोजिएपनि बास्तविक स्थलगत अध्ययनमा भने निर्ममतापुर्वक गरेको पाइएको बताउनुभयो । उनले चारैतिरबाट घेरा हालेर हत्या गरिएकाले उनिहरुमाथि कडा कारवाहीको माग गरे ।

जातिय छुवाछुतको घटना होइन भनेर सत्तारुढ नेकपाका केही नेताले यस घटनालाई ढाकछोप गर्न खोजिएकोप्रति पुर्व सांसद समेत रहेका दलितअधिकारकर्मी धनकुमारी सुनारले दुख व्यक्त गरिन् । नेकपाकै नेताको योजनामा यो घटना भएको उनले आरोप लगाए ।

पीडितलाई न्याय दिनका लागि नभई नेकपाकै नेता जनार्दन शर्मा र शक्ती बस्नेतलाई बचाउ गर्नमा नेकपा लागेको उनले बताइन् । यो घटना मात्र नभइ अरु पनि दलित भएकै कारण भएका हत्याका घटनामा पनि न्याय नपाएको उनको भनाइ छ ।
आफ्नै स्रोत साधन र सहयोगी हातबाट स्थलगत अध्ययन गरिएको समाजवादी पार्टीका नेता समेत रहेका दलित अधिकारकर्मी कमला हेम्चुरीले बताईन् । जातिय छुवाछुतकै कारण घटना भए पनि यसलाई अर्कोतिर मोड्न खोजिएको उनको भनाइ छ ।

समितीले भेरी नगरपालिका जाजरकोट, चौरजहारी नगरपालिका रुकुम पश्चिममा पुगेर पाँच दिनसम्म स्थलगत अध्ययन गरेको थियो । समितिले पीडित परिवार, जनप्रतिनिधि, आन्दोलनकर्मी तथा अधिकारकर्मी, स्थानिय प्रशासन र प्रहरी, स्थानिय नागरिक, घटनाका घाइते तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गरेको थियो । घटनास्थलको अध्ययन तथा घटनास्थलतर्फ जानुभन्दा अघि र घटनास्थलबाट फर्किसकेपछि समितीले विभिन्न राष्ट्यि अन्तराष्ट्रिय सरोकारवाला संस्था, राजनीतिक दल विभिन्न अध्ययन समितीका विज्ञप्ती एवम् प्रतिवेदनको अध्ययन पनि गरेको जनाएको छ ।

स्थलगत अध्ययन प्रतिवेदनका तथ्य यस्ता छन्

सुनियोजित हत्या

घटनास्थलको प्रकृति, घटनाको बेहोरा, र विवरण अध्ययन गर्दा हत्या सुनियोजित रुपमा भएको देखिन्छ । नवराज विक लगायत १८ जना युवा जाजरकोट खलंगाबाट प्रस्थान गर्नासाथ सूचना दिइएको, घटनास्थलमा सबै नाका थुनेर एकतर्फी आक्रमण गरिएको, घटनामा आक्रमणकारीतर्फ कसैलाई पनि चोट नलागेको आदि प्रमाणले योजनावद्ध हत्या गरिएको पुष्टि हुन्छ ।

भवितव्य देखाउने सुनियोजित प्रयास

६ जना होनहार युवाको हत्या भएको घटनालाई भवितव्य देखाउने सुनियोजित प्रयास शुरुदेखि नै भएको पाइएको छ । दुइ पक्षिय झडप पुष्टि गर्ने कुनै आधार नहुदाँनहुँँदै पनि झडप भएको र गाउँलेद्धारा लखेटिएका युवा भेरीमा हाम फालेर मृत्यु भएको बनावटी कथा शुरुदेखि नै वितरण भएको देखिन्छ ।

प्रहरीको शंकास्पद भूमिका

घटना हुँदाहुँदै घटनास्थलमा पुगेको प्रहरीले घाइते युवालाई नियन्त्रणमा लिनेबाहेक कुनै सचेत काम गरेको देखिएको छैन । नवराजको प्रेम सफल पार्न गएको युवाटोलीमध्ये नवराज नै बेपत्ता भैरहेको स्थितिमा प्रहरीमा हराएका युवाको पहिचान र खोजीमा कुनै चासो नराखेको पाइएको छ । घटनास्थललाई सिल गर्ने, प्रमाण जोगाउने र बेपत्ता युवाको खोजी गर्ने कार्यमा पनि प्रहरीले तदारुकता देखाएको छैन । सबै शव स्थानियले फेला पारेको भए पनि लाश जाँच प्रकृति मुचुल्कालाई मुद्धा प्रभावित गर्ने उद्देश्यले शुरुदेखि नै तोडमोड गरिएको पीडित र स्थानियको आशंका जायज देखिन्छ ।

भेरी वारी–पारीको मनोवैज्ञानिक विभाजन

मृतकमध्ये नवराजसहित पाँच जना जाजरकोटका छन् भने एकजना टिकाराम सुनार चौरजहारी नगरपालिका, रुकुम पश्चिमका हुन् । हत्याकाण्ड चौरजहारी नगरपालिका आठ सोतीगाँउमा भएको भए पनि स्थानिय जनप्रतिनिधि, प्रशासन तथा प्रहरीले यो घटनाको जड कारण र हत्यामा संलग्न अपराधीलाई पहिचान गरेर कारवाही गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नसक्थे । त्यसो हुदाँ तत्काल न्याय निरुपण गर्ने तथा दिर्घकालिन रुपमा यसको जड कारण निर्मुल गर्ने वैचारिक, व्यवहारिक कदम तय गर्न सकिन्थ्यो । यसमा जाजरकोट पट्टिको भेरी नगरपालिका र रुकुम पश्चिमपट्टि चौरजहारी नगरपालिकाका जनप्रतिनिधिको भूमिका महत्वपुर्ण हुन्थ्यो र अझै छ । तर जनप्रतिनिधिको विवेकपूर्ण भूमिका हालसम्म नभएको हुनाले भेरी वारी–पारिको मनोवैज्ञानिक फाटो स्पष्ट देखिन पुगेको छ । भेरीका प्रमुख चन्द्रप्रकाश घर्तीमगर र चौरजहारीका प्रमुख विशाल शर्माका बीचमा यो टोलीको अध्ययन अवधिसम्म कुनै छलफल वा कुराकानी भएको पाइएन ।

केन्द्रमा प्रतिनिधित्व गर्ने स्थानिय जनप्रतिनिधिको रहस्यमय भूमिका

रुकुम पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद जनार्दन शर्माले संसदमा दिएको अभिव्यक्ति विवादमा परेसँगैै यो हत्याकाण्डलाई भवितव्य सावित गर्ने राजनीतिक दबाब र षडयन्त्र भइरहेको आशंका चौतर्फी व्याप्त छ । पीडित परिवार, स्थानीय अधिकारकर्मी, दलित अधिकारकर्मी तथा विभिन्न राजनीतिकर्मी समेत यस्तै आशंका व्यक्त गर्छन । बन तथा बातावरण मन्त्री समेत रहनुभएका जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्ति बस्नेतको मौनतालाई पनि स्थानीयले रहस्यमय ठानेका छन् । केन्द्रबाट जनप्रतिनिधि जिल्ला नगएको, पीडित परिवारलाई सान्त्वनाका साथै न्याय, क्षतिपूर्ति र राहत दिलाउन भूमिका निर्वाह नगरेको व्यापक जनगुनासो पाइएको छ ।

लाशजाँच प्रकृति मुचुल्का र पोष्टमार्टममा गम्भिर षडयन्त्रको आशंका

सबै शव मृतकका परिवारजन आफन्त र स्थानियले फेला पारेर भेरीबाट झिकेका थिए । तर लाशजाँच प्रकृति मुचुल्कामा झेल गरेर हात भाँचिएको मृतकको पेटमा पानी नभरिएको, आँँखा फुटेको, गर्दन भाँच्चिएको आदि तथ्यलाई ठिकसँग उल्लेख नगरिएको, शव फेला पार्ने र झिक्ने काममा लागेका परिवारजन, आफन्त र स्थानियको आरोप छ । पोष्टमार्टम रिपोर्टमा पनि छल गरेर भवितव्य सावित गर्ने षड्यन्त्र भएको यो टोलीलाई बताएको थियो । भर्खरै सार्वजनिक भएका मुचुल्का र पोष्टमार्टममा यो तथ्य थप पुष्टि भएको छ ।

सोती गाउँ र सुष्मा मल्लको चित्रण र अधिकारबारे चासो

यस घटनामा संलग्न दोषीलाई पहिचान गर्ने र न्याय निरुपण गर्ने कामलाई प्रभावित गर्नेगरि सम्पूर्ण सोती गाउँलाई नै दोषी देखाउने विभिन्न तहतप्काबाट भइरहेको प्रयास खेदजनक छ । यसले गाँउलाई समग्रमा मुछेर दोषीलाई उम्काउने प्रयासलाई नै सहयोग पुर्याउने देखिन्छ । त्यसैले सोती गाउँलाई नै दोषी चित्रण गर्ने सबै काम बन्द गरिनुपर्छ । त्यसैगरी सुष्मा मल्लको आधारभूत मानव अधिकार, व्यक्तिगत विवरणको गोपनियता, लैंगिक संवेदनशिलता, मनोवैज्ञानिक सुरक्षासमेत ख्याल नगरिएको पाइएको छ ।

आन्दोलित जनता, दलित र अन्य अधिकारकर्मीको संघर्ष

जाजरकोट र मुसीकोट दुवैतिर दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र विभिन्न अभियान्ताको साझा संघर्षका कार्यक्रम चलिरहेको छ । जघन्य सामुहिक हत्या सम्म निम्त्याउन सक्ने जातीय विभेदको विरुद्ध र हत्याकाण्डका दोषीलाई उचित कारवाही र पीडितले न्याय पाउने कुरा सुनिश्चित गर्न त्यहाँ विरोध कार्यक्रम भइरहेका हुन् । स्वभाविक हिसाबले न्याय नपाइने साझा बुझाइले पनि स्थानीय जनता र अधिकारकर्मीलाई आन्दोलन तुल्याइरहेको छ ।

कानूनी प्रकृयामा आम सन्देह र न्यायको उत्कण्ठा

कानुनी प्रकृयाबाट न्याय पाइने कुरामा पीडित परिवार र स्थानीय जनतामा आम सन्देश रहेको पाइएको छ । न्यायको उत्कण्ठा व्यापक छ, तर आशंकाले घर गरेको छ ।

सरकार र राजनीतिक दलको कमजोर भूमिका

यो कुनै सामान्य अपराधको घटना होइन, र यसको केन्द्रमा रहेको जातीय विभेदको अन्तर्वस्तुबाट जाजरकोट वा रुकुम मात्र होइन, देशविदेशका दलित, उत्पीडित समुदायलाई दुःख र अन्यायको अनुभूति भएको छ । तर, सरकारले भने यसलाई एउटा अपराधको घटनाको रुपमा व्यवहार गरिरहेको छ । त्यसैगरी राजनीतिक दल पनि यसको गम्भिरता अनुरुप संवेदनशिल, जागरुक देखिएनन् ।

अन्तराष्ट्रिय सरोकार

यो हत्याकाण्डका बारेमा अन्तराष्ट्रिय मानव अधिकारबादी संस्थाले पनि चासो र सरोकार व्यक्त गरिसकेका छन् ।

जनप्रतिनिधिको संलग्नता

सोतीगाउँका वडा अध्यक्ष डम्बरबहादुर मल्लको प्रत्यक्ष संलग्नता देखिएको छ । मूख्य योजनाकारको रुपमा रहेका वडाअध्यक्ष मल्लको बचाउमा शुरुदेखि नै चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माको समेत भूमिका देखियो । यो गम्भिरतापूर्वक लिइनुपर्ने कुरा हो ।

संरचनागत हिंसा र रोगी समाजको उपचार

जात व्यवस्थाद्धारा निर्मित संरचनात्मक हिंसाको यो थप अर्को गम्भिर घटना हो । संरचनात्मक हिंसालाई पहिचान गर्ने र रोगी समाजको उपचार गर्ने मामलामा सरकार, राजनीतिक दल, जनप्रतिनिधि, प्रशाासन, प्रहरी लगायत सबैको भूमिका अपेक्षित छ । तर यो घटनालाई संरचनात्मक हिंसाभन्दा बाहिर राखेर एउटा दुर्घटनाको रुपमा व्यवहार गरिने कुरा स्वभाविक होइन ।

राहत, क्षतिपूर्ति, घाइतेको उपचारमा वेवास्ता

पीडित परिवारलाई राहत, क्षतिपूर्ति र घाइतेको उपचारमा पनि गम्भिर वेवास्ता भएको पाइएको छ ।

गैरदलितको भूमिका

यो घटनामा अन्तरजातिय प्रेम सफल पार्न दलित साथीको पनि सहयोग गर्ने क्रममा दुईजना गैरदलित युवाले पनि ज्यान गुमाएका छन् । यो नयाँ पुस्ताले नयाँ समाज खोजिरहेको संकेत हो । संरचनात्मक हिंसा अन्त्य गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा गैरदलितको भूमिका अझै महत्वपुर्ण र साझेदार रहेको यसले देखाउँछ । दलित तथा उत्पीडित समुदायको मुक्तिको सवाल भनेको गैरदलितको समेत मुक्तिको सवाल हो । यो सैद्धान्तिक निरुपण नै भविष्यमा हुने यस्ता हिंसाको उपचार हुन सक्छ ।

२०७७ असार २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्