News Portal

फोन ट्यापिङ गर्न अदालतको अनुमति चाहिन्छ : कांग्रेस

मोटिभेटन्यूज संवाददाता
५७ पटक

काठमाडौं – नेपाली काँग्रेसले अदालतको अनुमतिबिना कल ट्यापिङ (इन्टरसेप्सन) गर्न नहुने बताएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विशेष सेवासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै यो प्रावदान हटाउन भनेको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकले अदालतको अनुमति बिना नै गुप्तचर निकायले कल ट्यापिङको अधिकार पाउने व्यवस्था छ ।

अदालतको अनुमति नलिइकनै कल ट्यापिङ गर्न दिए त्यसको दुरुपयोग हुन सक्ने र त्यो व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै कांग्रेसका सांसदहरुले विधेयकमा यस्तो संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

कांग्रेसका २२ जना सांसदले चार समूहमा रहेर संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

गगन थापा एक्लै र मिनेन्द्र रिजाल, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, पदमनारायण चौधरी, भीमसेनदास प्रधान र मीना सुब्बाले उक्त विधेयकमाथि संशोधन दर्ता गराएका छन् । त्यस्तै सञ्जयकुमार गौतम, बहादुरसिंह लामा, रामबहादुर विष्ट, राजेन्द्रकुमार केसी र देवप्रसाद तिमल्सिनाको अर्को र पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडू, मानबहादुर बिश्वकर्मा, डिला संग्रौला, लक्ष्मी परियार, रंगमती शाही, उमा रेग्मी, देवेन्द्रराज कंडेल, अतहर कमाल मुसलमान र सत्यनारायण शर्मा खनालले अर्को संशोधन दर्ता गराएका छन् ।

एकै समुहमा संशोधन हाल्दा संसदीय समितिमा बोल्न वा संशोधन विधेयकमाथि तर्क गर्न कम समय पाइन सक्ने भएकाले बढी समय लिन फरक समूहमा संशोधन हालिएको कांग्रेस नेताहरुले बताएका छन् ।

२०७७ असार १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्