News Portal

विदेश जाने युगको अन्त्य हुँदै, २० लाख युवालाई रोजगारी

मोटिभेटन्यूज संवाददाता
१४५ पटक

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रोजगारीका लागि विदेश जानपर्ने युगको अन्त्य भएको बताएका छन । उनले नेपालमै २० लाख युवालाई रोजगारी दिने योजना ल्याएको भन्दै कामका लागि विदेश जानपर्ने युगको अन्त्य भएको बताएका हुुन ।

कोरोना महामारी र यसले सृर्जना गरेको संकट, वेरोजगारीको समस्या, निजी क्षेत्रले भोग्दै आएका अफ्ठ्यारा तथा यी यावत समस्याको समाधानका लागि सरकार तयार रहेको बताउँदै उनले युवाको पक्षमा सरकारले विभिन्न खालका योजनाहरु ल्याएको बताए । उक्त के हो ? र कसरी कार्यन्वयन हुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेछौँ ।

तपाईं उद्यमी व्यवसायी पनि हुनुहुन्छ । देशले तपाईंजस्तो अनुभवी मन्त्री पाएको छ । यही बेला कोरोना महामारी जस्तो महासंकट आइपुर्यो र मुलुकले लामो समयदेखि लकडाउनको सामना गरिहेको छ । अहिले देशैभरि रहेका उद्योग, व्यावसायिक क्षेत्रहरु धरासायी भएका छन् । यसलाई उठाउन अब के गर्नुपर्छ ?

तपाईंले म उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनासाथ कोरोना आयो र लकडाउन भयो भन्ने आसयको प्रश्न गर्नुभयो, यो मेरो दोष त होइन (हा हा हा) । यो एउटा संकट र चुनौती पनि हो । तर यसबाट डराएर हुँदैन । यसप्रकारका महामारी वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाविपत्तीहरु त आइरहन्छन् । मान्छेको जिन्दगी नै स्ट्रग्लिङ हुनुपर्छ । स्मुथ हुनुहुँदैन । यस्तो हुनु पनि पर्छ । समस्या आउँछन् र सँगसँगै समाधान पनि निििस्कन्छन् । यो एउटा ठूलो समस्या देश र जनताको लागि मात्रै नभएर विश्वकै लागि हो ।

यसको पनि समाधान हुन्छ । मुलुकले लकडाउनको सामना गरेको करिब ३ महिना भइसकेको छ । यो तीन महिनाको अवधिमा कोरोना भाइरस कोभिड १९ पनि निक्कै कन्ट्रोल भइसकेको छ । तर एकातिर संक्रमितहरु बढेको बढ्यै छन् । हाम्रो टेस्टिङ बढेसँगै संक्रमित बढेको देखिएको हो । तर यी नयाँ संक्रमित हुन् भन्न मिल्दैन । यो समस्या भारतबाट आउने र केही मात्रामा समुदायमा पनि देखिएको पक्कै हो । तर यो देशभित्र फस्र्ट स्टेजको मात्रै हो । यो समुदायस्तरमा भने अझै सरिसकेको छैन ।

यसबाट धेरै चिन्तत हुनुपर्ने, डराउनुपर्ने अवस्था छैन । अब सरकारले लकडाउनलाई विस्तारै लुज गर्दै गइरहेका अवस्था पनि छ । अब हाम्रो व्यापार, उद्योगधन्दाहरु पनि बिस्तारै सुचारु गर्दै लौजाने सरकारले नीति अख्तियार गरेको छ । यसबीचमा हामीसँग चुनौतीहरु पनि अनगिन्ती नै छन् । यो सानो कुरो होइन । तीन महिनादेखि हामी पूर्णरुपमा शिथिल भएर बसेका छौँ । बेरोजगारीको ठूलो समस्या देखिएको छ । रोजगारीका लागि विदेशिएका हाम्रा युवाहरु पनि फर्किएर आइरहेका छन् । अब लाखौँको संख्यामा युवाहरु फर्किन्छन् ।

२० औँ लाखको संख्यामा बेरोजगारीको सिर्जना हुन्छ, यसमा शंका छैन । विश्वमा आर्थिक मन्दी छाइसकेको छ र त्यो हामीकहाँ पनि हुन्छ । अब यो आर्थिक मन्दीलाई कसरी पार लगाउने, कसरी समस्या समाधान गर्ने, कसरी रोजगारीको सिर्जना गर्ने ? यी यावत् विषयहरु गम्भीररुपमा हाम्रा सामू उभिएका छन् । यसमा हामी योजना बनाएर अघि बढ्छौँ ।

यहाँ रोजगारीको सिर्जना गर्न हामीले एसएमइज, एमएसएमइज, अन्य किसिमका साना ठूला उद्योगहरुलाई बढावा दिने, कृषि क्षेत्रमा आधुनिकीकरण गरेर आत्मनिर्भर हुने, उद्योगहरुमा आत्मनिर्भर हुँदै जाने, नयाँ नयाँ उद्योगधन्दाहरु स्थापना गर्नका लागि स्टार्टअप नेपालजस्तो महाअभियानलाई अगाडि बढाउन लागिएको छ । हाम्रा सिक युनिट (रुग्ण उद्योग) हरु छन्, निजी उद्योग र सरकारी संस्थानहरु सबैलाई पुनर्जागरण अस्तिवमा ल्याउने कार्यमा सरकार जुटेको छ । यी यावत पहलकदमी लिएपछि पक्कै पनि हाम्रा आर्थिक गतिविधिहरु अगाडि बढ्छन् ।

तपाईंकै मिडियामार्फत् म हामी रेमिटेन्सको भरमा मात्रै कहिल्यै बस्नु हुँदैन भन्ने सन्देश पनि दिन चाहान्छु । मैले त यो कुरो पहिलदेखि नै भन्दै आएको छु । पाखुरीमा बल भएको युवाहरुलाई स्वदेशमै राख्नुपर्छ, विदेशिन दिनु हुँदैन । उनीहरुका लागि नयाँ नयाँ काम गराउनुपर्छ । हामीले स्टार्टअप नेपालमार्फत् हाम्रा लाखौँ युवाहरुलाई भेन्टिलेटर, रोबर्ट, कम्प्युटर नेपालमै बनाउन लगाइरहेका छौँ । त्यसका लागि निर्यात्को ठूलो अर्डर पनि आइरहेको छ । यहाँका हस्पिटलमा भेन्टिलेटर सप्लाइ गर्ने काम पनि सुरु भइसकेको छ ।

नेपाली युवाहरु धेरै ट्यालेन्टेड र शिक्षित छन् । यिनीहरुले आफ्नो देशमा अवसर पाएनन् । उनीहरुका लागि स्वदेशमै अवसर दिन सकियो भने यहाँ देखिएका बेरोजगारी समस्या समाधान हुन्छन् । युवा भनेका देशको कर्णधार हुन् । उनीहरुलाई हरतरहले सपोर्ट गर्नुपर्छ, काम दिनुपर्छ, अवसर दिनुपर्छ, उनीहरुको प्रोडक्ट, सेवालाई हामीले महत्व दिनुपर्छ । उनीहरुको प्रोडक्टलाई मार्केट दिनुपर्छ । त्यसो गर्दा उनीहरुमा उत्साह बढ्छ । यसले गर्दा उनीहरु काममा जान्छन्, रोजगारी पाउँछन् ।

हाम्रो देशमा सानो सियो पनि बन्दैन । हामी हरेक चीज भारतलगायत अन्य मुलुकमा निर्भर छौँ । ती चीजहरु हामी यहीँ किन बनाउन सक्दैनौँ ? यतातिर हामीले ध्यानै दिएनौँ । अहिले हाम्रो मन्त्रालयले पनि जुन बस्तु नेपालमा बन्दैन, त्यसमा ठूलो लगानी पनि गर्नु पर्दैन त्यस्ता उद्योग र वस्तुहरुको हामीले लिष्ट बनाएका छौँ । जसले पहिलो उद्योग नेपालमा खोल्ने लक्ष्य लिन्छ, उसलाई धेरै सहयोग गर्ने नीति सरकारको छ । त्यस्ता उद्योगहरुलाई धेरै सुविधा दिएर सरकारले सहयोग गर्छ । हामी त्यस्ता उद्योगमा जान सबैलाई अपिल पनि गरिरहेका छौँ । तपाईंहरु आउनुहोस्, तपाईंको लाइसेन्स सिस्टमदेखि लिएर बजारको व्यवस्थापन, कच्चा पदार्थदेखि आइडिएम, सेज, ग्राम उद्योगहरु छन्, तिनलाई समेत हामी स्थान दिन्छौँ । तपाईंहरुलाई बिजुलीदेखि करसम्मका विषयमा हामी सुविधा दिन्छौँ । स्वदेशमै बसेर जो जसले नयाँ उद्योग खोल्छन् उनीहरुलाई अधिकतम् स्वतन्त्रता दिने सरकारको नीति छ ।

अब हामी अधिकतम् मात्रामा आत्मनिर्धर हुनैपर्दछ । हामी हरेक चीजमा अरुसँग निर्भर छौँ । ठूल्ठूला सिमेन्ट फ्याक्ट्री, जुटमिल, स्टिलमिल र तेल उद्योगले मात्रै चल्दैन । यहाँ त सानोदेखि सानो बस्तु पनि उत्पादन गर्नुपर्दछ । हामी औद्योगिकीकरणमा जाने कुरा गरिरहेका छौँ । औद्योगिकीकरणमा जान त उद्योगले उत्पादन गर्ने हरेक वस्तु यहाँ उत्पादित हुनुपर्छ गर्नुपर्छ ।

उदाहरणको रुपमा हामीभन्दा भौगोलिक क्षेत्रफल र जनसंख्या आदि हिसाबले पनि धेरै सानो मुलुक हो ताइवान । तर यसको उत्पादन विश्वमा देखिन्छ । किनभने उनीहरुले गुणस्तरीय सामान बनाउँछन् । सरकारले उद्योमीहरुलाई प्रोत्साहित गर्नुपर्छ । अब हामी पनि गर्छौं । हामी ताइवानभन्दा कम छैनौँ । हामी पनि गुणस्तरीय सामान उत्पादन गरेर नेपाली ब्राण्डलाई लोकप्रीय बनाउन सक्छौँ । यतातिर हामीले सोच बनाउनुपर्छ । अब हामीले मानसिकता बदल्ने बेला आइसकेको छ । अब गरिब मानसिकता तथा पुरानो मानसिकताले हुँदैन । अब आधुनिक मानसिकताले काम गर्नुपर्छ । हाम्रो इच्छाशक्ति, आत्मविश्वास बढाउने बेला आइसक्यो । यदि यी कुराहरु हामीले आत्मसाथ गर्यौँ भने पक्क पनि हामी हामी धेरै अगाडि बढ्न सक्छौँ । त्यसो हुँदा विकसित देशहरुको श्रेणीमा आउन हामीलाई समय लाग्दैन । हामीसँग भएका जति पनि सम्भावना छन् तिनलाई इमान्दारितापूर्वक उपयोगमा ल्यायौँ भने काम गर्न समय लाग्ने छैेन ।

अहिले हाम्रा सरकारी संस्थानहरु अधिकांश बन्द छन् । केही चालु छन् भने ती पनि घाटामा छन् । निजी क्षेत्रका धेरै उद्योगहरु पनि रुग्ण बनेर बन्द भइसकेको अवस्था छ । त्यस्ता उद्योगहरुलाई पुनर्जीवन दिनका लागि हामीले एउटा कन्सेप्ट बनाएका छौँ । एउटा प्लानिङ गर्दैछौं । त्यो हिसाबले हामी सबै उद्योगलाई पुनः चलाउने छौँ ।

तपाईंले यी यावत् कुराहरु भनिरहँदा कोरोना भाइरस र सरकारले घोषणा गरेको लकडाउनकै कारण मुलुक थला परिसकेको छ । मानिसहरुमा सकारात्मक सोच कम छ भने हठासको मानसिकता बढिरहेको वर्तमान समयमा अब सरकारले राहतका के कस्ता प्याकेजहरु ल्याउँदैछ त ?

— म त त्यसो भन्न पनि रुचाउँदिन । किनकि हरेक समस्या समाधानका लागि हहुन्छ । आवश्यक आविष्कारको जननी हो । कोरोना कहरले हामीमाझ एउटा नयाँ अवसर सिर्जना गर्दैछ । हामीमाझ नयाँ विचार पैदा हुँदैछ । यो सिल्भर लाइन हो । यो हाम्रो लागि ठूलो अवसर पनि हो । कोरोना आएर हामीलाई धेरै कुरा सिकाएर जाँदैछ । हामी हाम्रा युवालाई फेरि भित्र्याउँदैछौँ । म उनीहरु सबैलाई स्वदेशमा स्वागत गर्न चाहान्छु । अब उनीहरुलाई हामी काम दिन्छौँ । नेपालमा कामको कमी छैन । मेरो कुरालाई एउटा भाषण वा डायलगको रुपमा नलिनोस् ।

मैले त उद्योग, व्यवसायका क्षेत्रमा धेरै अध्ययन गरेको छु । मैले राज्यमन्त्रीको भूमिका निभाएको पनि ६/७ महिना भइसक्यो । हामीकहाँ अथाह काम छ तर काम गर्ने मान्छे छैनन् हामीसँग । मैले अघि भनेँ, हाम्रो देशमा कुनै वस्तु बन्दैन । तालाचाबी नै बन्दैन । हामी काम गर्दैनौँ अनि गरीब भयौँ मात्रै भन्छौँ । हामी किन उत्पादन गर्न सक्दैनौँ ? उत्पादन गरौँ के । म तपाईंको मिडियामार्फत् म सम्पूर्ण देशवासीलाई खास गरेर युवाशक्तिलाई तपाईंहरु आउनुहोस्, नयाँ नयाँ चिज बनाउनुहोस्, तपाईंलाई सम्पूर्ण सहयोग सरकारले गर्छ भनेर आव्हान समेत गर्दछु । त्यसका लागि तपाईं हाम्रो मन्त्रालयमा आउनुहोस्, मसँग भेट्नुहोस्, हामी तपाईंलाई पूर्ण सहयोग गर्छौं । तपाईं नयाँ उत्पादन लन्च गर्नुहोस् । तपाईंलाई एक्सपोर्ट गर्ने, मार्केट बनाउन सहयोग गर्नेदेखि लिएर तपाईंको उद्योगलाई घाटामा जान नदिने सम्मका सहयोग हामी गर्दछौँ ।

कोरोना संक्रमण र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनका कारण धेरै स्वदेशी उद्योगहरु बन्द हुँदा यही बेरोजगारी समस्या उत्पन्न भएको छ । त्यसमाथि भारतलगायत विश्वका अन्य मुलुकहरुबाट आएका युवाहरुका कारण बेरोजगारी समस्या त विकराल नै हुनेभयो । त्यसतर्फ के सोचिरहनुभएको छ ?

— यस विषयमा हाी बडो गम्भीर ढंगले लागेका सोचिरहेका छौँ । हामीले २० देखि ३० लाख अतिरिक्त रोजगारी सिर्जनाका खातिर योजनाहरु बनाइरहेका छौँ । त्यसका लागि केही बस्तुहरुमा अब हामी आत्मनिर्भर हुनैपर्छ । नेपाल कृषिप्रधान देश हो । हाम्रो भूमि मलिलो छ । हामी पहिले कृषिमा आत्मनिर्भर नबनी हुँदै हुँदैन । तर दुर्भाग्य नै भन्नुपर्छ कि कृषिप्रधान देश हुँदाहुँदै हामी ६० प्रतिशत अनाज, तरकारीहरु विदेशबाटै निर्यात गरिरहेका छौँ । हामीसँग राम्रो डेरी पनि छैन भनिन्छ । आखिर किन ? यसको कारण के हो ? हामी दूधमा मात्र पनि किन आत्मनिर्भर हुन सक्दैनौँ ?

हाम्रो सोच गलत छ वा सहयोगको कमी वा आधुनिक प्रविधितर्फ जान सकेनौँ अथवा पुरानो शैलीमै काम गरिरहेका छौँ भन्ने यावत विषयमा अब हामीले धेरै पटक सोचेर काम गर्ने बेला आयो । अर्को कुरो म तपाईंलाई के पनि भन्न चाहान्छु भने हामी किन नयाँ नयाँ उद्योगहरु ल्याउन सक्दैनौँ ? फेरि पनि जोड दिएर भन्छु, हामी नयाँ नयाँ उद्योग ल्याउन सक्छौँ । यहाँको मुद्रा बाहिर जान्छ, बाहिरबाट सामान आउँछ, फेरि युवाहरु पनि बेरोजगार छन् भन्छौँ । हामी हाम्रा युवाहरुलाई स्वदेशमै अवसर नदिइ विदेश पठाउँछौँ, अनि बेरोजगार छन् भन्छौँ । युवाहरुलाई आवश्यक मात्रामा अवसर दिन नसक्दा यो सबै भइरहेको हो ।

सरकारले सेना, प्रहरी, सरकारी कार्यालयहरुले स्वदेशी वस्तु उपभोग गर्छन्, बाहिरको वस्तु प्रयोग गर्ने छैननन् भनेर नीति बनाउनुपर्छ ।

नेपालमा एक समय सरकारी संस्थान, उद्योगहरु नै सबल थिए । तर अब ती कति बन्द छन् भने केही रुग्ण अवस्थामै गुज्रिरहेका छन् । तिनलाई पुनसञ्चालन गर्नेतर्फ के सोच छ ?

— तपाईंले रुग्ण उद्योगको कुरा गर्नुभयो, रुग्ण उद्योगहरु सुचारु गर्न सक्यौँ भने हामी लाखौँ जनालाई रोजगारी दिन सक्छौँ । आधुनिकतातिर गर्यौ भने कृषिमा ५ देखि १० लाखलाई अतिरिक्त रोजगारी दिन सक्छौँ । यसको लागि रुग्ण उद्योग चलाउने सरकारले एउटा मोडेल बनाउँदै छ । यसलाई लिजमा वा भाडामा दिने पनि होइन, सरकारले आफैँ पनि चलाउन सक्दैन । त्यो सोचको साथमा त्यसैले निजी क्षेत्रसँग पीपीपी मोडेलमा गएर सञ्चालन गर्ने तयारी सरकारको छ । त्यो मोडेलमा गएर प्रोफिट सेयरिङका आधारमा काम गर्न सकिन्छ ।

यसो गर्दा ती उद्योगहरु चल्छन् र नाफामा जान्छन् भन्ने हाम्रो सोच छ । निजी क्षेत्रले आफ्ना उद्योगलाई घाटामा जान दिँदैन । सरकारका धेरै उद्योगहरु छन्, तर तिनको हालत कमजोर छ । हुन त निजी क्षेत्रमा पनि अहिले उद्योग व्यवसायको अवस्था कमजोर नै छ । यी यावत् विषयमा हामी मनग्गे अध्ययन, अनुसन्धान गरिरहेका छौँ । म आफैँ पनि उद्यमी व्यवसायका क्षेत्रका मान्छे हुँ । त्यसर्थ तपाईं निशिन्त हुनुहोस्, अब विगतको अवस्था दोहोरिँदैन । पक्कै पनि अब नयाँ विहानीको शुरुवात हुने छ । मुलुकले उत्पादनशीलतालाई जोडबलका साथ अगाडि बढाउने छ ।

कोरोनाको हौवा यसरी फैलाइयो कि मानिसहरु घरबाटै निस्कन डराए । सरकारले पनि फ्रान्सबाट आएकी एकजना युवतीलाई कोरोना संक्रमण देखियो भन्दै चैत्र ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गर्यो । तपाईंलाई के लाग्छ, यो हौवा मात्रै वा वास्तविकता के थियो ? सरकारकै कमजोरीका कारण यो सबै भयो पनि भनिन्छ नि ?

— यो कुनै भ्रम पनि होइन, न त यो हौवा नै । समयमै लकडाउन गर्नु आवश्यकता थियो । यथार्थमा कोरोना भाइरस अर्थात् कोभिड १९ एक महामारी नै हो । पहिले पहिले एपेडेमिक वा एन्डेमिक एउटा सीमित क्षेत्रमा मात्रै हुन्थ्यो । स्मलपक्स, चिकेनपक्स, हंैजा, ट्युबरक्लोसिस्, सार्सजस्ता अरु पनि धेरै एपेडेमिक रोगहरु हामीले देखेका छौँ, जानेका छौँ । कोरोना भाइरस जस्तो महामारीका बारेमा अब दुनियाँमा कोही पनि बेखबर छैन । यो एउटा गम्भीर विषय हो । यसले जब चाइनाबाट युरोप, अमेरिकाजस्ता देशहरुमा भयाबह रुप लिँदै गयो र भारतसहित दक्षिण एसियाली मुलुकहरुमा पनि यो देखिन थालेपछि हामीले समयमै लकडाउन गर्नु पर्दथ्यो र सरकारले त्यही गर्यो ।

समयमै लकडाउन गरेकोले अहिले पनि हामीले यसलाई धेरै भन्दा धेरैमा संक्रमण हुनबाट बचाएका छौँ । यसमा हामी समयमै सचेत हुन जरुरी थियो हामी सचेत भयौं । जनता पनि सचेत भए र आफ्नो बचाउ गर्ने, सुरुक्षाका लागि सावधानी अपनाउने सक्ने भए । हामीले पनि यसबीचमा धेरै कुराहरु सिक्यौँ । हामीले हाम्रो जीवनशैली, फुड ह्याबिट, शिक्षा, परम्परा र संस्कृति, चाडवाड मनाउने तरिका आदिमा परिवर्तन गर्यौँ । हामीले हात मिलाउने, अंकमाल गर्ने संस्कारलाई छोडेर हाम्रै नमस्कार गर्ने परम्परालाई अंगाल्यौँ । साबुनपानीले हात धुने बानीको विकास भयो । खाने प्रणालीमा पनि हाम्रो आफ्नै विशेषतालाई अंगाल्यौँ । किनकि हाम्रो खाने प्रणाली प्राकृतिक छ । हामी मनग्गे मरमसला, जडिबुटी खान्छौँ । हाम्रो खानामा शुद्धता छ । जसले गर्दा हामीलाई धेरै फाइदा पुगिरहेको हुन्छ ।

वास्तवमा लकडाउन भएपछि वातावरण पनि स्वच्छ भएको छ । विगतमा काठमाडौँबाट हिमाल प्रत्यक्ष देखिदैन थियो, अहिले देखिन थालेको छ । हस्पिटलहरुमा पनि अन्य विरामीहरु घटेका छन् । घरमा बसेर शुद्ध खाना खाने, परिवारसँग बस्ने, शान्त बस्ने कारणले विरामी हुने क्रम पनि घटेको हुन सक्छ । यसले गर्दा डाक्टरहरु बेरोजगार हुने अवस्था आएको छ ।

त्यसर्थ यो सबै कोरोना भाइरस र लकडाउनकै कारण भएको हो । नेपालमा कोरोना भाइरस देखिनुभन्दा अघि हामीकहाँ सेनिटाइजर, पीपीइ, भेन्टिलेटर, मास्क, टेस्टिङ किट पनि बन्दैन थियो तर यो संकटले हामीलाई यस्ता आवश्यक वस्तु बनाउन सिकायो ।

सरकारले कर उठाउनका लागि लकडाउन खुकुलो गरेको हो, तर पछि फेरि लकडाउन यथावत रहन्छ भन्ने हल्ला पनि छ नि ?

— त्यस्तो हुँदैन र होइन पनि । हो, अहिले सरकारसँग रेभिन्यू छैन । सरकारले विभिन्न शीर्षकहरुमा खर्चहरु गर्नुपर्छ । रेभिन्यूको लागि कर उठाउने प्रयास त गर्नैपर्छ । तर यतिखेर निजी क्षेत्रसँग पनि पैसा छैन । तीन महिनादेखि शिथिल भएर घरमा बसेर कर्मचारीहरुलाई तबल खुवाउने पैसा छैन । अहिले त उद्यमी तथा व्यवसायीहरुसँग विजुलीको विल तिर्ने पैसा छेन । बैंकको ऋणले ढाड सेकेको अवस्था छ । यी यावत समस्याहरुलाई सरकारले पनि बुझेकै छ ।

सरकारले पनि कर तिर्नैपर्ने वा कडीकडाउ गरेको छैन । कर उठाउनकै लागि सरकारले लकडाउन खुकुलो बनाएको र त्यसपछि पुनः लकडाउन कडा हुन्छ भन्नु भ्रम फैलाउनु हो । अब त्यस्तो काम सरकारले गर्दैन र गर्नु हुँदैन पनि । कतिपय मिडियाहरुले पनि यस्तो हौवा फैलाइएको हुनसक्छ । सरकारले अब आफूलाई सुरक्षित राख्दै कामधन्धा सुरु गर्नुपर्छ भनेको हो । अब कुनै अनिश्चित घटना भइदिएन भने लकडाउन फेरि हुँदैन ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले निजी व्यवसायीहरुमा पनि आफ्नो अधिकार क्षेत्र बढाउने भन्ने कुरा आइरहेको छ । तपाईं आफू पनि व्यवसायी भएकोले यस विषयमा के प्रतिक्रिया दिनुहुन्छ ? के यो ठीक हो ?

— उद्योगी व्यवसायीहरुलाई धेरै तिरबाट कस्नु आवश्यक छैन र हुँदैन पनि । उद्योगी व्यवसायीले नै देशलाई समृद्ध बनाउने हुन् । निजी क्षेत्रले ठूलो खतरा मोलेर, आफूसँग भएभरको पूँजी लगाएर, बैंकबाट ऋण लिएर, उद्योग र व्यवसायको सिर्जना गरिरहेका हुन्छन् । यसो गरिरहँदा धेरै उद्योगी व्यवसायीहरु असफल भएर पनि यो क्षेत्र छोडिरहेका हुन्छन् । उद्योगी, व्यवसायीलाई स्मुथ तरिकाले काम गर्न दिनुपर्छ भन्ने मेरो धारणा छ ।

सही वा गलत के भएको छ भन्ने विषयमा नियमन गर्नुपर्छ, गलत पाएमा कारबाही वा दण्डित गर्न सरकार पछि हट्नु हुँदैन । नियन्त्रणका लागि हामीसँग धेरै निकायहरु छन् र तिनले आफ्नो ठाउँबाट काम पनि गरिहेका छन् । उद्योगी व्यवसायीहरुमाझ धेरै भय र त्रास फैलाउनु पर्ने अवस्था मैले त देखेको छैन । यदि त्यस्ता प्रस्तावहरु आएका छन् भने संशोधन पनि होला । यो अवस्था सधैंभरि रहिरहन्छ भन्ने पनि हुँदैन । यस क्षेत्रमा एउटा राम्रो कुरा के छ भने जति पनि उनीहरुले मुनाफा कमाउँछन्, त्यसको केही प्रतिशत समाज सेवामा लगाउँछन् ।

नागरिक, समाज, देशको सेवामा उनीहरुको ठूलो योगदान हुन्छ । उद्योगी, व्यवसायीहरुलाई जहिले पनि शंकाको दृष्टिले हेर्नु हुँदैन । यो मन्त्रालयमा आएपछि मैले धेरै कुरा सिकेँ, धेरै अनुभव लिएँ । उनीहरुलाई खुलेर काम गर्न दिनुपर्छ भन्ने मेरो धारणा हो । उद्योग खोल्नुस्, व्यवसाय गर्नुहोस्, तपाईंहरुले काम गर्नुभयो भने मात्रै देश समृद्ध हुन्छ । तपाईंहरुलाई भएका समस्याहरु हामी सामू आएर भन्नुहोस् । हामीले राष्ट्रियतालाई सर्वोपरी ठानेर काम गर्नुपर्छ । हामीले कहिले पनि देश र देशबासीसँग गद्दारी र राष्ट्रघात गर्नु हुँदैन । त्यसबाहेक हामीले जे गरे पनि राम्रो काम गर्नुपर्छ ।

बहुदलीय व्यवस्थाको आगमनसँगै आर्थिक उदारीकरणका निहुँमा सरकारले निजीकरणको नीति अवलम्बन गर्यो । तर समय वित्दै जाँदा त्यसको मारमा निजी क्षेत्र नै बढी प्रतिडित भइरहेको छ, जुन कुरा अहिलेको लकडाउनमा पनि प्रष्ट हुन्छ । एकातिर निजीकरण भन्ने अर्कोतिर उद्योगी व्यवसायीहरुको घाँटी निमोठ्ने सरकारी रबैया ठीक भएन नि, होइन र ?

— देश चलाउनको लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नैपर्छ । र सरकारले राजश्व उठाउनको लागि कर पनि लिनै पर्छ । हाम्रो देशमा करको स्लेप धेरै ठूलो छैन । उत्पादनमूलक उद्योगहरुमा २० प्रतिशत र व्यवसायीमा २५ प्रतिशत भनेको हाइयेष्ट हो । त्यो धेरै ठूलो पनि होइन । भ्याट १३ प्रतिशत छ । त्यो बाहेक नकारात्मक सूचिमा पर्ने केही वस्तुहरुमा एक्सरसाइज छ । खासै ठूलो ट्याक्स स्टक्चर हाम्रो देशमा छैन । सरकारले राजश्व पनि त उठाउनै पर्ने हुन्छ । तर निचोर्ने कुरा जुन छ, त्यस्तो नेपाल सरकारको कानून र व्यवहारमा छैन । निजीकरणको व्याख्या गर्दा सरकारले आफ्ना केही उद्योग र संस्थानहरुलाई निजीकरण गर्ने भन्ने रहेछ । प्रायः ती उद्योगहरु चल्न सकेनन् । यो अनफर्चुनेट हो ।

बजारको दूरगामी प्रभाव परेकोले होला । ओभरल हेर्दा निजी क्षेत्र सन्तुष्ट छन् । म बारम्बार भन्छु, निजी क्षेत्रलाई सन्तुष्ट बनाउनै पर्दछ । निजी क्षेत्रलाई खुलेर काम गर्न दिनुपर्छ । यसलाई डर, त्रासको ठूलो परिधिभित्र राख्नु हुँदैन । गलत काम गर्नेको लागि त ऐन, कानून, नियम धेरै छन् । उपभोक्ता ऐन लगायतका धेरै ऐन, नियम छन् । ट्याक्स छली गर्ने, श्रमिकलाई पारिश्रमिक नदिने, कालोबजारी गर्नेलाई त कारबाही हुन्छ नै । नियम र ऐनको खिलाफमा काम ग¥यो भने उसलाई उम्किने आधार छैन । तर सबैलाई चोर हो, कालाबजारी हो भनेर निजी क्षेत्रलाई ब्लेम गर्नु हुँदैन । निरुत्साहित गर्नु हुँदैन, प्रशंसा गर्नुपर्छ, हतोत्साहित गर्नु हुँदैन ।

नयाँ नक्सा सार्वजनिक भएसँगै भारत नेपालप्रति रुष्ट बनेको देखिन्छ । यो बेलामा भारतले फेरि नाकाबन्दी लगाउँछ कि भन्ने पनि व्यवसायी र नागरिकमा त्रास छ । यदि भारतले नाकाबन्दी लगाइहाल्यो भने त्यसको तयारी सरकारसँग के छ ?

— हामी धेरै निराशाबादी पनि हुनु हुँदैन र शंका, भ्रमको स्थितिमा पनि बस्नु हुँदैन । सानो तिनो विषयहरुमा यस्ता कुराहरु आइरहन्छन् । नक्साको विषय हाम्रो राष्ट्रियताको कुरा हो । लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो, त्यसलाई नक्सामा समावेश ग¥यौँ । हाम्रो एक इन्च जग्गा पनि अरुलाई दिँदैनौ र अरुको पनि हामीलाई चाहिँदैन । यो जग्गा हाम्रै हो । सुगौली सन्धिको समयमा नै यो स्पष्ट भइसकेको छ । यो अन्तिम दस्तावेज हो । त्यो दस्तावेज अहिले हामीसँग पनि छ र भारतसँग पनि छ । त्यो दस्तावेजले स्पष्ट गरेको छ कि त्यो नेपालको जग्गा हो ।

ब्रिटिस शासन कालमा र यहाँका त्यतिबेलाका राणा राजा महाराजाको समयमा यो सन्धि भएको थियो । त्यो सन्धिलाई मान्नु छैन भने हाम्रो धेरै भूभाग भारतबाट आउँछ । पूर्वको टिष्टादेखि उत्तराखण्डको क्षेत्र, दार्जिलिङ, सिक्किम सबै हाम्रै हुनुपर्ने हो, यदि सुगौली सन्धि मान्दैनौँ भने । मान्छौँ भने यो त स्पष्ट नै छ । तर हाम्रो क्षेत्र अरुले अनावश्यक प्रयोग गर्यो भने त, हामी चुप लागेर बस्दैनौँ । हामीले नक्सा पनि बनाइसकेका छौँ । यसबीचमा संविधान पनि संशोधन भइसकेको छ । भारतसँगको सम्बन्धमा यसले कुनै असर पार्दैन । भारत पनि एउटा ठूलो देश हो, उसले यसलाई ठूलो छाती पारेर स्वीकार गर्छ । भारतीय नेताहरु छन् उनीहरुले पनि यो विवादित विषय त हो तर संवाद गरेर समाधान गर्छौ भन्ने सोच्नु पर्छ । हामी पनि वार्ताबाट समाधान गर्ने पक्षमै छौँ ।

तर नाकाबन्दी लगाइदिने, नेपाललाई दुःख दिने, बन्द गरिदिने त्यो इण्डिकेशन आएको पनि छैन र आउँदैन पनि । भारतजस्तो ठूलो र प्रजातान्त्रिक मुलुकले एउटा छिमेकी त्यसमा पनि विशेष सम्बन्ध भएको नेपाललाई हस्तक्षेप गर्छ, दुःख दिन्छ भन्ने मलाई लाग्दैन । विगतमा केही अव्यवहारिक कदम भारतले उठाएको थियो तर पछि ऊ अन्तर्राष्ट्रिय स्तरमै भत्र्सना र आलोचनाको विषय बन्यो । भारत र नेपालबीच अभिन्न र मजबुद सम्बन्ध छ । रोटी, बेटीको सम्बन्ध छ, भारतीय नेताहरुले नेपाललाई धेरै माया गर्छन्, भारतीय जनताले पनि नेपाली जनतालाई माया गर्छन् र हामी पनि भारतलाई माया गछौँ । यस्तोमा सानोतिनो कुराले सम्बन्ध बिग्रिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । कुनै डर र त्रासमा बस्नु पर्ने अवस्था पनि छैन ।

नेपालले मोतीलाल दुगड जस्तो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएको छ । यसको प्रभाव लकडाउनमा पनि देखियो । खाद्यान्न, ग्याँस, तेलको आपूर्ति व्यवस्थापनमा पनि समस्या आएनन्, यो सबै तपाईंमा भएको विज्ञताकै प्रभाव हो । । अबका दिनमा यस क्षेत्रलाई अझ बढी प्रभावकारी बनाउन के के गर्दै हुनुहहुन्छ ?

— आफ्नो मुखले आफ्नो महिमा मण्डन गर्नु हुँदैन । त्यो तपाईंहरुले र जनताले मूल्याङ्कन गर्ने हो । यो मन्त्रालयको काम कस्तो रह्यो त्यो मूल्याङ्कन हुनुपर्छ । अहिलेसम्मको फिडब्याकले यो मन्त्रालय अब्बल रह्यो । यसअघिका समस्या र अहिलेको अवस्थामा आपूर्तिको व्यवस्थामा फरक ल्याउन सकेका छौँ ।

कहीबाट पनि गुनासो सुन्नु परेको छैन । एउटा नेपाली पनि भोको बस्नु हुँदैन भन्ने सोचेर हामीले काम ग¥यौं । गाउँगाउँमा राहत वितरण ग¥र्यौँ, यो प्रयासमा हाम्रो कमी रहेन । हामी र हाम्रो टिमले पूरा जागरुक भएर यो समयमा काम गरेका छौँ । मन्त्रालयको टिमले पूर्ण साथ दिएको छ । लकडाउनको बेला पनि हामी एक दिन नबसी पूर्ण इमान्दारिताका साथ काम ग¥यौं ।

आगामी दिनमा पनि संकटका समयहरु आउन सक्छन् । अब रेभिन्यु पनि बढाउनु छ, रोजगारी पनि दिनु छ । आर्थिक क्रियाकलापलाई मुभमेन्टम दिनु पनि अहिलेको आवश्यकता हो । त्यसका लागि हामी ठूलो सोचका साथ अघि बढ्दैछौँ । अहिले हामीले हाम्रो उत्पादनहरु निर्यात गर्ने विषयमा विशेष ध्यान दिएका छौँ । यो समयले हामीलाई ठूलो शिक्षा दिएको छ । अब नयाँ सोचका साथ काम गर्न पाइन्छ भनेर म खुशी पो छु । अब हामी युवा शक्तिलाई साथमा लिएर अघि बढ्छौँ । नेपाललाई विश्वको विकसित देशमा चिनाउने अवसर हामीले प्राप्त गर्नेछौँ गछौं ।

नेपालीहरु अदम्य साहसका धनी जाति हुन् । हाम्रो शीर उँचो छ । हामीसँग सगरमाथा छ र त्यतिकै ठूलो मन पनि हामीसँग छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्युले लिनुभएको ‘समृद्ध नेपाल शुखी नेपाली‘को महान सपना साकार बनाउन हामी दिलोज्यानले लागि पर्नेछौँ ।

२०७७ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्