News Portal

भारतको कब्जामा जानबाट यसरी बचेको थियो नेपाल

मोटिभेटन्यूज संवाददाता
९१ पटक

काठमाडौं – पृथ्वीनारायण शाहले किर्तिपुरमाथि विजय प्राप्त गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ललाई छटपटी भयो । उनले भारतमा राज गरिरहेको अग्रेज सरकार इस्टइण्डीया कम्पनी सरकारसँग पृथ्वीनारायण शाहसँग युद्ध लड्न सैनिक सहयोग मागे । काठमाडौंमा रहेका केही इसाई पादरीहरुले सैनिक सहयोग माग्न उस्काएका थिए ।

भारतमा अंग्रेज शक्ति बढ्दै गइरहेको थियो । त्यस्तो अवस्थामा नेपालप्रति उनीहरुको रुची बढ्नु स्वभाविकै थियो । जयप्रकाश मल्लको आग्रहलाई उनीहरुले सुनौलो अवसर भएको महसुस गरे । नेपालभित्र बढ्दो गोर्खा शक्तिलाई वेलैमा तहसनहस पार्न सकेमा नेपालमा पनि अंग्रेजहरु प्रभुत्व विस्तार हुनसक्ने कुरालाई दृष्टिगत गरी उनीहरुले जयप्रकाश मल्ललाई सैनिक सहयोग दिने निर्णय गरे ।

अग्रेजहरुले पहिलो चरणमा पृथ्वीनारायण शाहलाई पत्र लेख्दै उपत्यमा लगाएको घेराबन्दी हटाउन चेतावनी दिएको थियो । तर पृथ्वीनारायण शाहले उक्त पत्रको उत्तर फर्काएनन् । पत्रको जवाफ नआएपछि विं.स १९२४ को भाद्र महिनामा कप्तान किनलकको नेतृत्वमा २४ सय हतियारयुक्त भारतीय ब्रिटिस सेना नेपाल प्रवेश गरे ।

गोर्खाका राजा पृथ्वीनारायण शाह पनि अंग्रेज गतिविधिलाई बुझ्न आफ्ना दुतहरुलाई सक्रिए पारेका थिए । पटनाबाट अंग्रेज सैनिक प्रस्तान गरेको थाहा पाउनासाथ बशुं गुरुङ र विरभद्र उपाध्यायको नेतृत्वमा ५०० गोर्खाली सैनिक सिन्धुली तर्फ पठाए ।

भाद्र महिना पटनाबाट हिडेको अंग्रेजी सैनिक दरभंगा, जनकपुर हुँदै असोज महिनामा सिन्धुलीगढी आइपुग्न सफल भयो । पहाडी भौगोलिक धरातलबार पूर्ण अनविज्ञ अंग्रेज सेना बर्षादको समयमा मुस्किलले उकालो चढ्न सुरु गर्ने वित्तिकै गोर्खाली सैनिकहरुले एक्कासी गोली र ढुङ्गामुडा बर्साउन थाले । सिन्धुलीको जङ्गलमा रहेको बच्छ्युँका गोलाहरु नेपाली शैनिकले फोरिदिदा त्यसले टोकेर कैयौं सैनिकहरु हताहत भए । गोर्खाली सैनिकहरुको आक्रमणले आत्तिएर भाग्दा भिरबाट लडेरसमेत अग्रेज सैनिकहरुको तत्काल ज्यान गयो ।

यो आक्रमणबाट एक हजार भारतीय ब्रिटिस सैनिकहरुको ज्यान गयो । त्यसपछि क्याप्टेन किनलक बाँकी रहेका सैनिक लिएर त्यहाँबाट भागी पर्सा क्षेत्रमा गएर बसे । रसदपानीको अभाव र औलो प्रकोपले गर्दा थप ६ सय भारतीय सेनाको मृत्यु भयो । बाँकी रहेका ८ सय सैनिक लिएर किनलकले बारा, पर्सा र रौतहटका भु–भागमाथि कब्जा गरी केही समय त्यही बसे ।

पूर्वी तराईमा मुकाम कायम गरी बसेका अंग्रेज सेनापती किनलकले कम्पनी सरकारसँग थप सैनिक मागे तर त्यतिवेला कम्पनी सरकार दक्षिण भारतमा हैदरा अलीसँगको युद्धमा व्यस्त रहनु परेकाले नेपाल तर्फ थप सैनिक पठाउन असमर्थ भयो ।

यता अंग्रेज सेनालाई पराजित गर्न सफल गोर्खाली सेनाको अझै हौसला बढ्न गयो । उपत्यकाका मल्ल राजाहरु गोर्खालीसँग थप त्रसित भए । यसरी अ्रग्रेजले गोर्खा विरुद्ध चलाएको सैनिक अभियान पूर्ण रुपले असफल भएको थियो ।

२०७७ असार २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्