News Portal

पहिरोले बगाएका तीन जनाको सकुसल उद्धार, १७ जनाको सव भेटियो

मोटिभेटन्यूज संवाददाता
१२९ पटक

म्याग्दी – अविरल वर्षापछि गएको पहिरोमा परी वेपत्ता भएका तीन जनाको सकुसल उद्धार गरिएको छ । शुक्रबार विहान गएको पहिरोमा परि वेपत्ता भएका अरु १७ जनाको सव भेटिएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो भने तीन जनलाई जिवितै उद्धार गरेको हो । मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा सात जना रहेका छन् ।

पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र निजको तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।

त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका तीन जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । उनका अनुसार उद्धार गरिएका मध्ये मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा र धवलागिरि गाउँपालिका–६ का २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या) तथा सोही स्थानका सात वर्षीय बालक सफल श्रीपालीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

२०७७ असार २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्