News Portal

उपत्यकामा दुई दिन जोर नम्बर प्लेटका गाडी चल्न नपाउने

मोटिभेटन्यूज संवाददाता
२४ पटक

काठमाडौं – ट्राफिक प्रहरीले सवारीसाधनमा लागू हुँदै आएको जोरबिजोरको नियमलाई कडाइका साथ पालना गराउन चेकजाँचलाई तिव्रता दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले ट्याक्सीबाहेकको सवारीसाधनमा जोरबिजोर प्रणाली रहेको भन्दै सोको कार्यान्वयनका लागि चेकजाँचमा कडाइ गरिएको जानकारी दिए ।

उनकाअनुसार ट्राफिक प्रहरीले विभिन्न ४६ वटा ‘चेकिङ प्वाइन्ट’मार्फत निरन्तर चेकजाँचलाई निरन्तरता दिएका छ । बुधबार बिहानैमात्र ती चेकिङ प्वाइन्टमार्फत ७६३ वटा सवारीसाधन कारबाहीमा परेको ढकालले जानकारी दिए । जसमा ६४१ वटा मोटरसाइकल र १२२ वटा चारपांग्रे गाडी रहेका छन् ।

यसैगरी मंगलबार मोटरसाइकल र चारपांग्रे सवारीसाधन गरी जम्मा १४५७ वटा सवारीसाधान कारबाहीमा परेको पनि महाशाखाले जनाएको छ ।

यसैबीच बुधबार र बिहीबार दुबै दिन उपत्यकाका सडकमा बिजोर नम्बर प्लेटका सवारी चल्ने भएका छन् । बुधबार असार महिनाको ३१ गते र भोलि साउन महिनाको १ गते दुबै दिन बिजोर गते भएकाले बिजोर नम्बर प्लेटकै सवारी चल्ने ढकालले बताए ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै यातायातका साधनमा जोरबिजोर प्रणाली लागू भएको थियो । ट्याक्सीमा भने सरकारले जोरबिजोर नियम लागू गरेको छैन ।

२०७७ असार ३१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्