News Portal

प्रहरीले देश र नागरिकको सुरक्षार्थ हरहमेसा कटिबद्ध भई निस्वार्थ सेवा दिनुपर्ने महानिरीक्षक खनालको भनाइ 

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४८६ पटक
काठमाडौं

असोज १६,सोलुखुम्बु – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भई निस्वार्थ सेवा दिनुपर्ने बताएका छन्  ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्  ।

नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यसको लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने बताए  । विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने : ‘प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु हुँदैन ।’

उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकाङ्क्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता पर्ने बताउनुभयो । सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य रहेको उनले उल्लेख गरे  ।

कार्यक्रममा सोलुखुम्बुका जिल्ला न्यायाधीस नारायणप्रसाद सुबेदी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जनप्रतिनिधिहरुले समेत मन्तव्य व्यक्त गरेका थिए  ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।
उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

२०७५ असोज १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्