News Portal

नेकपा सांसद रावलका ५ काण्ड : कर छलीदेखि सरकारी जग्गा कब्जासम्म

मोटिभेटन्यूज संवाददाता
८३७ पटक

काठमाडौं – सत्तारुढ नेकपाका सांसद झपटबहादुर रावलका कर्तुतहरु छताछुल्ल भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद रावलका ५ काण्डहरु मोटिभेट न्यूज डटकमले प्राप्त गरेको छ । अछामबाट खालिखुट्टा काठमाडौं छिरेका रावल विभिन्न कालखण्डामा विभिन्न नेताहरुको स्वकिय सचिव भएर काम गरेका थिए । उनी काठमाडौंमा बसेर विद्यार्थी राजनीति गर्दा उनको आर्थिक हैसियत कमजोर भएकै कारण कैलाली बहुमुखी क्याम्पसका तत्कालिन स्ववियू सभापति यज्ञराज ढुङ्गानाले कैलालीबाटै रासनपानी पठाउने गरेका थिए ।

बिबाह पछि श्रीमतीको सर्टिफिकेटहरु जागिरको लागि प्राय सबै जसो नेताको टेबुलमा पुर्याएका रावलले अन्तिममा काठमाडौं मलमा सटर भाडामा सानो व्यवसाय सुरु गरेका थिए । यसरी विद्यार्थी राजनीति हुँदै, युवा संघमा राजनीति गरेका रावल अहिले पचासौं करोडका मालिक भएका छन् ।

राजनीतिलाई मात्रै पेशा बनाएका उनी कसरी यत्रो सम्पत्तिको मालिक भए यसबारेमा डरलाग्दो तथ्य फेला परेको छ । उनी विभिन्न समयमा विभिन्न नेताको स्वकिय सचिव भएको बेलामा करोडौं सम्पत्ति थुपारेको तथ्य फेला परेको छ । राजनीतिलाई पेशा बनाएर कमाउधन्दामा लागेपछि उनको स्थानीय स्तरमा चर्को विरोध भइरहेको छ ।

उनी मोहनसिंह राठौर राज्यमन्त्री हुँदा उनको पिए भए पछि आर्थिक रुपमा चम्केका देखिन्छन् । सोझा मन्त्री राठौरलाई चुनावताका सहयोगीले दिएको रकम समेत हजम गरेको घटना त्यतिखेरै चर्चामा थियो। त्यसपछि विभिन्न कालखण्डमा तत्कालिन नेकपा एमाले स्थायी समिति सदस्य भीम रावल मन्त्री भएको बेलामा स्वकिय सचिव भएका थिए । त्यही बेला उनले करोडौं कमाएको स्रोतले बताएको छ । । स्रोतले भन्यो, ‘भीम रावल तथा अर्का नेता मोहनसिंह राठोर शिक्षा राज्यमन्त्री भएको वेलामा नै उनले द्रब्यलाभ गरेका हुन् ।’

सांसद रावल कैलाली जिल्ला क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा एमालेको कोटाबाट टिकट पाएर विजयी भई संसदमा प्रवेश गरेका हुन् । सुकुम्बासी, मुक्तकमैया र बादी समुदायको अत्यधिक बसोबास भएको क्षेत्रबाट निर्वाचित भएका रावलको धन कमाउने धन्धाको फेहरिस्त भने लामो छ । मुक्त कमैयालाई पुनस्र्थापना गर्ने वाचा गरेर निर्वाचनमा विजयी भएका रावल निर्वाचित भएपछि भने उल्टो मुक्त कमैयाहरुको नै जग्गा कब्जा गरेर निजी घर बनाउन लागेका छन् ।

काण्ड नम्बर १ : सरकारी जग्गा कब्जा

माननीय सांसद झपट रावलले कैलाली जिल्लाको साविकको प्रतापपुर गाविस वडा नम्बर ६ खमरियाका छोटेबाबु भनिने मेघराज सिंहले पुस्तौंदेखि भोकचलन गर्दै आएको जग्गा कब्जा गरेका छन् । यो जग्गा ७ नम्बरी पर्ती हो । छोटेबाबुले भोकचलन गर्दै आएको सरकारी जग्गामा उनले शक्तिको दुरुपयोग गर्दै जग्गा कब्जा गरेर आफ्नो निजी घर निर्माण गरेहेका छन् । भ्रष्टाचार गरेर अबैध तरिकाले कमाएको पैसाले नम्बरी जग्गा किनेको भएपनि सरकारी जग्ग हडप्नकै लागि उनले त्यहाँ घर नबनाएर सरकारी जग्गामा बसोबास गरिरहेका छन् भने उनका मतदाता मुक्त कमैया र बादी समुदाय सडक किनारमा ओत लागेका छन्। ्

मुक्त कमैया वादीसमुदाय र सुकुम्बासीको समस्या अहिले पनि जहाँको त्यहीँ छ, भुमिहीन अर्काको जोतेर जिविकोपार्जन गर्न बाध्य छन तर सांसद रावल भने आफ्ना लागि महल ठड्याइ बिराजमान छन् । जनताको समस्या समाधान गर्छु भन्दै पहिलो पटक निर्वाचन लडेका उनले जनताको लागि त केही गर्न सकेनन् उल्टै भुमिहीनले पाउने जग्गा पनि कब्जा गरि बसि रहेका छन् । उनको निर्वाचन क्षेत्रमा अहिले पनि २२ ओटा मुक्त कमैया शिविर छन् । उनीहरु पूर्वपश्चिम राजमार्गको सडक किनारमा टहरा हालेर ब्यबस्थित बसोबासका आशामै छन् । मुक्त कमैया र बादी समुदायका हजारौं जनताको अहिले पनि कन्तबिजोग छ ।

काण्ड नम्बर २ : राजश्व छली

उनले भर्खरै कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ५ भल्कामा एक करोड ५० लाख भन्दा बढी पर्ने जग्गा किनेका छन् । उनले जग्गा किन्दा सरकारलाई तिर्नुपर्ने राजस्व छलिसमेत गरेका छन् । राजश्व छल्नका लागि उनले ठूलै पापड पेलेका थिए । बाटो भएको जग्गा खरिद गरेका उनले बडाध्यक्षसँग बाटो नभएको कागज मिलाएर सिफारिस गरिदिन भनेका थिए तर उनले आफू पछि फस्ने डरले मानेनन् । उनले काम नगरेपछि छक्कापन्जा गर्नमा खप्पिस रावलले वडाध्यक्षलाई विदामा बस्न लगाएर वडासदस्यको प्रयोग गरेर सिफारिस गर्न लगाएका थिए । बाटो नभएको वडाको सिफारिसका कारण उनको जग्गाको सरकारी मुल्याङ्कन थोरै भयो र लाखौंको राजस्व छली भयो ।

काण्ड नम्बर ३ : स्वकिय सचिव हुँदा कलेजमा लगानी

मोहनसिंह राठौर शिक्षा राज्यमन्त्री हुँदा सांसद रावलले अबैधानिक रुपमा कैलालीको एक नर्सिङ कलेजलाई अनुमित दिन लगाएका थिए । उक्त कलेजको नाम हो – शैलेश्वरी नर्सिङ कलेज । उनले उक्त कलेजलाई अनुमति दिँदा आफूलाई पनि शेयर सदस्य राखी काम गरिदिएबापत कलेजमा केही प्रतिशत शेयर हुनुपर्ने अडान लिएपछि कलेज संचालकहरुले बाध्य भएर उनलाई शेयर दिएका थिए । पछि उक्त कलेजले विभिन्न समयमा विभिन्न विषयको सम्बन्धन पनि पाएको थियो ।

काण्ड नम्बर ४ : सामुदायिक वनमा ४ करोड लगानी

सरकारले कैलाली जिल्लामा वैज्ञानिक वन व्यवस्थापन परियोजना लागु गरेको छ । वन विनास नहुने र काठ दाउरामा नेपाल आत्मनिर्भर हुने उदेश्य लिएर यस्तो परियोजना लागु गरिए पनि यसको परिणाम भने उल्टो देखिएको छ । सांसद रावलले काठका ठेकेदारमार्फत ४ करोड लगानी गरेको स्रोतले उल्लेख गरेको छ । कांग्रेसका प्रभावशाली नेता मोहनसिंह राठौरले काठ तस्करहरुसँग नेताहरु संलग्न भएको सुनिएको बताउछन् । वैज्ञानिक वन ब्यवस्थापनको नाममा वन विनास भइरहेकोले यसलाई तुरुन्तै बन्द गर्नुपर्ने उनले बताए । यहि विषयलाई लिएर विभिन्न समयमा विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति निकालेर सचेत गराइसकेको छ । तर पनि उनीहरुले अबैज्ञानिक रुपमा रुखहरु काटेर बन सखाप बनाएका छन ।

काण्ड नम्बर ५ : रानी जमरा सिंचाईँ कुलोमा अनियममितता

कैलाली जिल्लाको सिंचाई आयोजना रानी जमर सिंचाई कुलोमा आर्थिक अनियममिततामा पनि उनी मुछिएका छन् । यसमा पनि उनले अप्रत्यक्ष रुपमा लगानी गरेका छन् । त्यो कुलोमा उनले लगानी गरेको ठेकेदार कम्पनीले काम गरेको बुझिएको छ । उक्त कम्पनीले मुनाफा रावललको भागमा पर्ने गरेको छ । उनले कैलाली क्षेत्र नम्बर २ मा यस्तो खालका थुपै्र काण्डहरु मच्चाएका छन ।

ओरोप प्रमाणित भए राजिनामा दिन्छु

सांसद रावलले आफूमाथि लागेका आरोपहरु प्रमाणित गर्न चुनौति दिएका छन । मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै उनले आरोप प्रमाणित भए प्रतिनिधि सभाबाट राजिनामा दिने बताएका छन । उनले भने, ‘तपाईँले भने जतीका आरोपहरु प्रमाणित गर्न चुनौति दिन्छु । यदी कसैले प्रमाणित गरेर देखायो भने प्रतिनिधिसभाबाट तत्काल राजिनामा दिन्छु र प्रमाणित गर्नेको नाममा मेरो सबै सम्पती नामसारी गरिदिन्छु ।’

उनले आफूले किनेको जग्गामा अहिले पनि बाटो नभएको दावि गरेका छन । ३ कठ्ठा जग्गा २०७४ सालमा किनेको बताउँने उनी अहिलेसम्म पनि उक्त जग्गामा बाटा नबनेको बताउँछन । छोटेबाबु भनिने मेघराज सिंहले भोकचलन गर्दै आएको ऐलानी जग्गा आफ्ना दाईको भएको स्वीकार गर्दै उक्त जग्गा २० बर्षदेखि आफ्ना परिवारले भोकचलन गर्दै आएको दावि गरेका छन ।

उनले भने, ‘मैले जग्गा पास गरेको समयमा कसैले मैले तिरेको भन्दा एक रुपैयाँ पनि बढी वा कम तिरेको पाइए सार्वजनिक जीवनबाट सन्यास लिन्छु ।’ अगाडी भने ‘मोहनसिंह राठोर राज्यमन्त्री भएको वेलामा मैले शक्तिको दुरुपयोग गरेर नर्सिङ कलेजको सम्बन्धन लिएको भेटाए भेटाउने मान्छेको नाममा कलेज नामसारी गरिदिन्छु ।’

२०७७ साउन १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्