News Portal

स्कुलको हेडमास्टर बनेका गौतम जब कलेजको चौकिदार बने

मोटिभेटन्यूज संवाददाता
३०९ पटक

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतम प्राय चर्चाको केन्द्रमा रहिरन्छन् । उनको चर्चा कहिले समर्थनमा हुन्छ भने कहिले विरोधमा । कोही कोहीले त बामदेवलाई ‘चौतारामा राखिएको मादल’ भनेर पनि विश्लेषण गरे, जुन जसले भेटायो त्यसैले बजाउँछ ।

पछिल्लो समय उनलाई पार्टीको अध्यक्षद्वय केपी सर्मा ओली र पुष्पकमल दाहाल पचण्डले आफू अनुकुल प्रयोग गर्दै आएको बारेमा धेरैले उनको आलोचना गरेका थिए । आफ्नो अडानमा बस्न नसकेर सबैको गोटी बनेको उनीमाथि आरोप लाग्ने गरेको छ । उनको एउटा सिद्धान्त छ, ‘नाम होस या बदनाम होस् तर गुमनाम नहोस् ।’ उनी संधैभरी चर्चाको केन्द्रमा रहन चाहान्छन् । कसैले राम्रो भनेर छापोस् या नराम्रो भनेर छापोस् तर पत्रिकामा उनको फोटो छापिन पर्छ ।

उनी जिन्दगीमा कहिल्यौं निरास नहुने नेता हुन । उनी आफूलाई जे मन लाग्यो त्यही वा जे गर्दा राम्रो हुन्छ भन्ने लाग्यो त्यो कदम चाल्न कहिल्यौं हिच्किदाउँदैनन् । एउटा सरकारी स्कुलको प्राचार्य भइसकेका उनी राजनीतिमा सक्रिय हुनका लागि कलेजको चौकिदार हुनसमेत तयार भएका थिए ।

हामी भएको भए सुख्खा खालको राजनीतिका लागि हुँदा खाँदाको जारी खाएर दुख गर्न तयार हुने थिएनौं । उनको यही संघर्षका कारण उनी पटक पटक उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्न सफल भएका छन । लामो त्याग र बलिदान पछि उनको यो कदको राजनीतिक उचाँई बनेको हो । के बामदेवको राजनीतिक इतिहास छैन त ? के उनी टुपाबाट पलाएका नेता हुन ? उनको आफ्नो अडान छैन ? यो लेखमा यी र यस्ता धेरै प्रश्नहरुको जवाफ दिने प्रयास गरेका छौं ।

बामदेव गौतम जन्म प्युठानको दाखाक्वाडीमा वि.स.२००५ साल असार २६ गते भएको हो । गौतमका हजुरबा सामन्त थिए, पिता धनी किसानमा झरे । उनीचाहिँ आफूलाई मध्यम वर्गको भन्न रुचाउँछन् ।

वामदेवको विगत निकै नै संघर्षपूर्ण आवेगहरुमा बितेको थियो । पाँच वर्षदेखि विद्यालय जान थालेका गौतमको ७ वर्षमै ब्रतबन्ध भयो । ९ वर्षको हुँदा ज्योतिष अध्ययन गर्न गुल्मीको गुरुकुलमा भर्ना भए । तर, उनको स्कुले जीवन निकै अस्थिर बन्यो ।

संस्कृत पढ्न छाडेर उनी प्युठानकमै आधार पाठशालामा ५ कक्षामा भर्ना भए । मोहन विक्रम सिंहको संगतमा पर्नै लागेका थिए, यहीवीचमा लाहुरे बन्छु भन्दै घरबाट सुन लिएर भागे । तर, ठगले सुन लगेर विचल्लीमा पारिदिएपछि उनी घर र्फकन बाध्य भए ।

त्यसपछि घर परिवार, स्कुल सबै ठाउँमा उनीमाथि अपमानजनक व्यवहार हुन थाल्यो । उनी मुक्ति हाईस्कुलमा ६ कक्षामा भर्ना भए । त्यहाँबाट ८ कक्षा पास भएपछि साहुका छोराहरुसँग लागेर बनारस गए । त्यहाँ घरेलु कामदारका रुपमा १५ दिन काम गरे ।

प्युठानमा गौतमको परिवार कांग्रेस थियो । उनका मामा प्युठान कांग्रेसका संस्थापक एवं २०१५ सालका निर्वाचित सांसद थिए । बनारसमा निर्वासित जीवनमा रहेका मामाको साथ लागेर गौतम गोरखपुर पुगे । र, एउटा साथीको सहयोगमा नेपाल फर्किए । बेखर्ची अवस्थामा रहेका वामदेवलाई टिकुरीका घमानसिंह केसीले बाग्लुङ लगे ।

भारतबाट फर्केपछि गौतमको बसाइ बागलुङको भीमगिठ्ठेमा भयो । बाग्लुङमै हुँदा कम्युनिस्ट पार्टीको सदस्य बने । असारे प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्द केकेले उनलाई पार्टी सदस्यता दिएका हुन् ।

उनी फेरि प्युठान आए । मुक्ति हाइस्कुलमै ९ महिना पढेर एसएलसी दिए र उत्तीर्ण गरे ।

प्युठानमा कम्युनिष्ट पार्टीसँग सम्पर्क नभएपछि खर्चको जोहो गरेर भारतको मुम्बईमा पुगे । त्यहाँ जवलपुरमा १० दिनसम्म एउटा पसलमा काम गरे । त्यसपछि नेपालगञ्ज हुँदै सुर्खेत पुगे । त्यहाँस्थित रजेना प्राविको प्रअ (हेडमास्टर) बने । त्यहाँ पनि धेरै समय टिकेनन् र विद्रोह गरेर बर्दियातिर लागे ।

अन्ततः बर्दिया नै नेता गौतमको राजनीतिक कर्मथलो बन्यो । त्यहाँ उनले केही समय जिल्ला पञ्चायत कार्यालयमा मुखियाको जागिर खाए । सब इन्स्पेक्टर बनेर ‘वनजाँचे’ को जागिर गरे । कम्युनिष्ट अध्ययन केन्द्र सञ्चालन गरे ।

तर, गौतमको बसाई बर्दियामै स्थिर रहेन । सञ्चा कम्युनिस्ट बन्नका लागि भन्दै भारतको कानपुरमा फलामखानीमा काम गरे । त्यहाँबाट फर्केर केही समय रुपन्देहीमा बसे । राजमार्गतिर मजदुरी गर्न पाइन्छ कि भनेर काम खोजे । तर, नपाएपछि निराश बनेर फेरि भारततिरै फर्किए ।

भारतको असाम जान भनेर हिँडेका उनी वीरगञ्जमा निस्किए । भैंसालोटनमा एक रात बिताएर फेरि भैरहवा फर्केर रक्सी कारखानामा एक हप्तासम्म काम गरे । लुम्बिनी पुगेर बुद्धशिला र अशोक स्तम्भको पहिलोचोटि दर्शन गरे ।

फेरि भारत पुगेर एउटा कलेजमा तीन महिनाजति चौकीदारी गरे । अनि फेरि मजदुर बनेर कम्युनिस्ट पार्टीमा काम गर्छु भन्ने सोचेर नेपाल फर्किए । र, भैरहवाको ठुटेपिपलस्थित माछा फार्मको मुखिया बने । पक्लिहवा क्याम्पसमा भर्ना भए ।

यही क्रममा जीवराज आश्रति मार्फत कम्युनिष्ट पार्टीको सम्पर्कमा आए । विद्यार्थी आन्दोलन भयो, गौतम पक्राउ परे । दोस्रोपट पार्टी सदस्यता लिए । मोदनाथ प्रश्रतिले गौतमलाई पार्टी सेलमा संगठित गरे ।

गौतमले कम्युनिष्ट साहित्य अध्ययन गर्न थाले । सुरुमा कृषि फार्ममै काम गरे । त्यहीँ उनले सेल कमिटी गठन गरेपछि मोदनाथले उनलाई एरिया कमिटीमा बढुवा गरे । मोदनाथ पक्राउ परेपछि एरिया कमिटीका सचिव सीताराम किसान पलायन भए । र, गौतम एरिया कमिटीको सचिव बने । त्यसपछि उनले पूर्णकालीन कार्यकर्ता भएर भूमिगत बन्न पाउँ भन्दै पार्टीमा निवेदन हाले ।

गौतमको भूमिगत राजनीतिको औपचारिक यात्रा पाल्पाबाट सुरु भयो । तर, एक महिनापछि नै उनी रुपन्देही फिर्ता भए र सालझण्डी क्षेत्रमा खटिए । जिल्ला कमिटीमा उक्लिए ।

पञ्चालतकालमा गौतमले रुपन्देही, नवलपरासी र कपिलवस्तुको इञ्चार्ज भएर काम गरे । २०२७ सालतिर किसान आन्दोलन चर्किँदा उनी सोही क्षेत्रमा कार्यरत थिए । ०२९ सालपछि कार्यकर्ताहरुको भागाभाग, पलायन र विभाजन सुरु भयो । पुष्पलालको पार्टीभित्र विद्रोह भयो । ०३० सालपछि मुक्ति मोर्चा बन्यो ।

पुष्पलाल र तुल्सीलालवीच अन्तरविरोध चर्कियो । उनी को–अर्डिनेशन केन्द्रसँग नजिकिन थाले । सोहीबेला उनी पक्राउ परे र दुई वर्षजति जेल बसे । जेलभित्रैबाट उनले कोअर्डिनेसन केन्द्र तीनचोटि सदस्यता नवीकरण गरे । यो समूहलाई झापा विद्रोहवाला समूहका रुपमा चिनिन्थ्यो । २०३५ सालमा यो माले भयो र पछि एमाले भयो ।

जेलबाट निस्केपछि वामदेव गौतम नेकपा (माले) को सम्पर्कमा पुगे । सुरुमा गण्डकी–धौलागिरीको इञ्चार्ज बने । एक समय सुदुरपश्चिमको पनि इञ्चार्ज बने ।

वामदेव ०४६ साल भदौको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बने । ०४६ सालको जनआन्दोलनका बेला मध्यपश्चिमबाट नेतृत्व गरे । र, ०४७ बैशाख ९ गतेदेखि खुल्ला राजनीतिमा आए ।

माले र मार्क्सवादीवीच एकता भएर एमाले बन्दा संस्थापक केन्द्रीय सदस्य बनेका गौतम ०४९ को पाँचौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बने । ०५१ सालमा एमाले सरकारमा गएका बेला उपमहासचिव बनेर सिंगो पार्टी हाँक्ने काम गरे ।

तर, एमाले ९ महिने सरकारबाट बाहिरिएपछि ओली समूहको दबावमा गौतमको उपमहासचिव पद खारेज भयो । त्यसबेला पार्टीभित्र वामदेवको लोकप्रियता बढेकाले ओली पक्षले अपमानित ढंगबाट गलहत्याएको गुनासो गौतमले निटस्थहरुसँग गर्दै आएका छन् । ओली समूहले उपमहासचिव पद अबैधानिक भएको बताएको थियो ।

२०५४ सालसम्म आइपुग्दा पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षवीच दुरी बढ्दै गयो । पार्टीभित्र संस्थापन पक्ष र सीपी मैनाली पक्षवीच अन्तरसंघर्ष चर्किइरहेकै थियो । जबज पक्षमै भए पनि ओली समूहको लखेटाइमा परेका वामदेवले आफू जबजको पक्षधर हुँदाहुँदै पनि नौलो जनवादी धारका सीपी मैनालीलाई साथमा लिएर नेकपा माले बनाए । ०५६ को चुनावमा मालेले शून्य सीट हात पार्‍यो । ०५८ सालमा वामदेव पुनः एमालेमै फर्किए ।

सूत्रहरुका अनुसार त्यसबेला वामदेवलाई एमालेमा भित्र्याउन केपी ओली तयार थिएनन् । तर, तत्कालीन महासचिव माधव नेपालको अगुवाईमा गौतम समूह मातृपार्टीमा फर्कियो ।

एमालेमा आएपछि गौतमले माओवादीलाई शन्ति प्रक्रियामा ल्याउन भूमिका खेले । त्यसो गर्दा ओली पक्षले उनलाई माओवादी परस्त भन्दै कडा आलोचना गर्‍यो ।

आफूले ०५४ सालमा ओलीबाट धोका पाए पनि अन्ततः नवौं महाधिवेशनमा वामदेव गौतमले केपी ओलीलाई सघाएर अध्यक्षमा जिताए । संसदीय दलमा पनि झलनाथ खनाललाई हराएर ओलीलाई जिताउन वामदेवले निर्णायक भूमिका खेले ।

यसको साटो ओलीले संसदीय दलको नेता बनाउन वामदेवलाई दिएको वचन पूरा नगरेकोमा गौतमले चित्त दुःखाउँदै आएका छन् । त्यतिमात्रै होइन, बर्दियामा आफूले चुनाव हार्नुमा पनि अन्तरघातले काम गरेको गौतमको दाबी रहँदै आएको छ ।

आखिर, जति नै विरोधाभासापूर्ण सम्बन्ध रहेता पनि अहिले फेरि गौतम र ओलीवीच डिनर मिटिङहरु चल्न थालेका छन् । अनलाइनखवरको सहयोगमा ।

२०७७ साउन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्