News Portal

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र नै हुन् : कानूनमन्त्री ढकाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७० पटक
काठमाडौं

भदौ ३, काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको बताएका हुन् । उनले भने, ‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो । प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन् । हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै कामु मान्ने हो ।’

उनले अब सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने कुरा संवैधानिक परिषदको बैठकबाट टुँगो लाग्ने स्पष्ट पारे । उनले भने, ‘संवैधानिक परिषदको बैठक छिट्टै बस्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि छलफलबाट हामी परिषदको बैठक टुँगो लगाउँछौं ।

परिषदको बैठकले प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्छ । अनि संसदीय सुनुवाई विशेष समितिबाट नाम अनुमोदन भयो भने प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला हुन्छ ।’ तपाईं भन्दा अघिका मन्त्रीले त न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेर पटक–पटक बोल्नु भएको थियो, अब तपाई के गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘न्यायालयलाई विश्वासिलो, सक्षम र अधिकारसम्पन्न बनाउनुपर्छ । म कानून सम्मत निर्णय गर्छु ।’

मन्त्री ढकालले अघिल्ला मन्त्री शेरबहादुर तामाङले कानून र संविधानसम्म्त ढंगले गरेका निर्णय र कामहरुलाई आफूले निरन्तरता दिने समेत बताए । उनले भने, ‘सबैको आ–आफ्नै कार्यशैली हुन्छ । मैले सार्वजनिक प्रतिबद्धता समेत गरिसकेको छु कि म भ्रष्टाचार गर्दिन । पदीय अवसरलाई म कुनैपनि हालतमा दुरुपयोग गर्दिन । म निष्ठावान भएर काम गर्छु ।’
नागरिकबाट

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्