News Portal

संक्रमण दर बढेसँगै कोरोना बीमा गराउने ह्वात्तै बढे, बीमा गर्नेमध्ये ११० जना संक्रमित

मोटिभेटन्यूज संवाददाता
७२ पटक

काठमाडौं – कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेहरु ह्वात्तै बढेका छन् । हालसम्म ६ लाख भन्दा बढीले कोरोना बीमा गरेको बीमा समितिले जनाएका छ । कोरोना बीमा गर्ने १ सय १० जनामा कोरोना संक्रमण देखिएपछि दाबी भुक्तानी माग भएको बीमा समितिले जनाएको छ ।

सोमबारसम्म दाबी गर्नेहरु मध्ये ३८ जनालाई दाबी भुक्तानी दिइएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । अन्य बाँकी रहेकाहरुको भने दाबी भुक्तानी गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । अधिकारीका अनुसार संक्रमित भएकाहरुमा १ जनाले ५० हजार र अन्यले एक लाख रुपैयाँको बीमा गराएका छन् ।

पीसीआर परीक्षण र कोरोना बीमा गर्दाको कागजात लिएर गए सम्बन्धित बीमा कम्पनीले सातदिन भित्र भुक्तानी दिनेछन् । भुक्तानीमा कुनै समस्या नभएको अधिकारीले बताए । कोरोना संक्रमणको दर बढ्दै गएपछि कोरोना बीमा गराउनेहरु पनि बढ्दै गएको अधिकारीले बताए । कोरोना बीमाबाट हालसम्म ३५ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ ।

वैशाख सात गतेबाट शुरु भएको कोरोना बीमामा सोचे भन्दा बढी बीमा गर्नेहरु बढेपछि र कोरोना संक्रमण पनि बढ्दै गएपछि नियामक बीमा समितिले कोरोना बीमा बन्द गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । जेठ २३ गते बन्द गरिएको बीमा पोलिसी पुन अर्थमन्त्रालयको दबाबमा भोलिपल्टबाटै खुला गरियो । सरकारले बजेटमा समेत कोरोना बीमाको व्यवस्था गरेको अवस्थामा समितिले कोरोना बीमा पोलीसी बन्द गराएर बजेट फेल गराउन खोजेको आरोप अर्थले लगायो । अन्ततः सरकारले समेत अनुदान दिने भएपछि बीमा कम्पनीहरु कोरोना बीमा गर्न राजी भएका हुन् ।

अहिले सरकारले पनि कोरोना बीमा गराउन सुरु गरेको छ । सरकारी कर्मचारीको कोरोना बीमा गराउँदा पूरै बीमा शुल्क र नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने छ । बजेटमा १ लाख रुपैयाँसम्मको बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशतसम्म सरकारले व्यहोर्ने उल्लेख छ । यस्तै स्वास्थ्यकर्मी महिला स्वयमसेविकाको दायित्व भने सरकारले नै व्यहोर्नेछ । बजेटको बुँदा नम्बर ५५ र २८५ मा कोरोना बीमा सम्बन्धित व्यवस्था गरिएको छ । हाल देशभरका २० वटा निर्जिवन बीमा कम्पनी मार्फत कोराोना बीमा भइरहेको समितिले जनाएको छ ।

२०७७ साउन २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्