News Portal

हर्कहरुका सपना पुरा गर्न युवाको नेतृत्वमा अबको क्रान्ति

प्रवेश न्यौपाने
१२४ पटक

काठमाडौं – भोक, प्यास, अल्छि, निन्दालाई थाती राखेर हलोको अलोमा सुक्खा रोटीलाई अड्याएर दिनभर साहुको खेत जोत्न हिडेका हर्केका एक हल गोरु र हत्केलामा फोका उठेका निर्मम हातहरुलाई लिएर सधैं झै आजपनि हिडिरहेका छन् । साहुको घर भन्दा अलि पर दुई चार हर्केहरु, घरमा सानो तीन बर्षको छोराले बाबा संगै जान्छु भन्दै जिद्दी गर्दा उनकी श्रीमती गोरिकलाले आजत बुबा चाँडै आउनुहुन्छ र तिमीलाई पोल्लो घरको अनुको जस्तै साईकल ल्याईदिनुहुन्छ भन्दै फर्काएकी थिईन गोरिकलाले ।

हर्के रातो गोरुलाई चट्ट हान्दै सम्झिन्छ त्यो साईकल र खल्ती छाम्छ जम्मा भेट्छ पन्ध रुपैया मात्र र आफैलाई धिक्कार्छ । ‘थुक्क म मजदुर को जिन्दगी’ भन्दै पुनः आफ्नो मनोबललाई उच्च पार्छ।

आज हर्के साहुको हलो जोतेर घर फर्किदैछ र सँगै खुशीले गदगद् पनि छ । उ भित्र भित्रै आखिर खुशी किन भयो त ? उ हलो जोतेर फर्किदै गर्दा बाटोमा केही ठूला बडा मान्छेलाई भेटेको छ । आज उनीहरुले भनेका छन्, ‘अब त हर्के जस्ता मजदुरको दिन आउनेछ र यसरी साहुको हलो जोतेर बस्नु पर्ने छैन ।’

साँच्चै धेरै हर्केहरु खुशीले गदगद् थिए । त्यो अपत्यारिलो खबरले विस्तारै ठूलावडाहरुलाई कुरी रहेका हर्केहरु पनि उनीहरुलाई त्यो देखाईएको दिवा सपनाको आश्वासन साच्चिकै बडो गजबको थियो । तेतिवेला हजारौं हर्केहरुलाई आफ्नो सपना बाँडियो र भनियो, ‘हामी वर्तमान शासन प्रणालीको बिरुद्धमा केही आवाज उठाउन पर्छ ।’

अबको बाटो बन्दुक र बमको हो भनेर चिनाईए । अबको बाटो क्रान्ति र सर्वहारा वर्गको उन्मुक्ति को हो भनेर बाँडिए केही थान सपनाहरु, विस्तारै देशभरबाट हजारौं हर्केहरुले आन्दोलन चर्काउदै गए तर क्रान्ति किन ? कसरी, कसले, के स्वार्थमा गरिरहेको छ ? भन्ने उनिहरुले अत्तोपत्तो पाउन सकेनन् ।

कसैले भनेको हाउभाउमा नाचेका हजारौं हर्केहरुले आफ्नो ज्यानको बाजी लगाएर अझै पनि व्यवस्था परिवर्तन गर्ने भनिएको खेलमा पछि नहटेका बहादुर हर्केहरुलाई तानेर ल्याइयो । कतिले आफ्नो घर, परिवार र छोराछोरीसँग सँधैका लागि विदा भए । कति शारीरिक अशत्तताको जिन्दगी बाच्न बिवस छन । कहिले भोकै लडे त कहिले शुख्खा रोटी र पानीको भरमा काधमा बन्दुक बोकेर सत्ता र शासनको बिकल्पको लागि लडि रहे ।

आज फेरि उतै हराएका हर्केहरुको पर्खाइमा बसेका गोरिकलाहरु पनि अब माया मार्दै फेरि साहुको घरमा एक छाक खानको लागि काम गर्न बिवस छन । बस फरक यत्ति भयो पहिले हर्केले गर्ने काम अहिले गोरिकलाहरुले गर्नु परेको छ र लालाबालालाई पेटभरी खाना खुवाउन परेको छ।

आखिर हर्के हरु किन लडे त ? यो पश्न अझै ओझेलमा परेको छ । हर्केले लडेर ल्यएको सत्ता कस्तो निस्कियो ? पुँजीवादी या साम्यवादी । विपन्न शोसित पिडित वर्गका लागि गर्नुपर्ने कार्य करिब निरासदेखिको वर्तमान शासन सत्ता र गरिब, मजदुर , सर्वहारा वर्गको मुक्तिका लागि उठाउनपर्ने आवाजको कहिलै कतैपनि ठाउँ नपाउदा दलाल, नोकरशाही र पुँजिवादले ठाउँ पाईरहेको छ ।

सार्वजनिक हितलाई कुन्ठित गरि निजी स्वार्थका लागि राजनीतिको आवरण ओडेका केही नेतृत्व गर्ने भक्षकहरुले गर्दा आज हजारौं हर्केहरुको पिर मर्का जहाको त्याहि र जस्ताको त्यस्तै छ । सर्वहाराको आवाजलाई समेटेर कुनै प्रकारको परिधि र परियोजनाको विकास नभई धेरै हर्केहरुका आवाज दविए र दवाइए ।

बिलासिताको बोक्रो ओडेर हिडेका शासकको चुरीफुरी झन बढ्न थाल्यो । एक छाक खान गोरिकलाहरु साहुकै ज्याला मजदुरीमा व्यस्त देखिदै गर्दा, साच्चिकै भाव विहोल बन्छ र भक्कानिन्छन हजारौं हर्केका मृत आत्माहरु ।

अबको युवा बर्गले रोज्नु पर्ने बाटो भनेको हर्केको बाटो हो, जुन बाटो अधुरै हुदापनि उनीहरुलाई रोक्न बाध्य तुल्याईयको थियो ।अबको क्रान्ति हामी युवा वर्गले भौतिक मात्रै होइन बौद्धिक रुपले पनि अगाडी बढाउनु पर्छ । अझैपनि सक्षम कुशल र बौद्धिक युवाहरुले हजारौं हर्केका सपनाहरुलाई मुर्त रुप दिन पर्छ ।

कुनै व्यवस्था बदल्नका लागि एक युग नेतृत्वको खाचो हुन्छ । हरेक वेसाहारा र विपन्नको आवाज बनेर निक्लिन सक्नु र मजदुरको हक, हित र अधिकारलाई क्रान्तिको बाटोबाट अघि बढाउन सक्नुपर्छ ।

जस्तो सुकै प्रतिकुल अवस्था होस् या प्रतिक्रातिकारिको निर्मम प्रहार किन नहोस् खुट्टा नकमाउनु र नडगमगाउनु अहिलेको अपरिहार्यता हो । हरेक युवा वर्गले बुझ्न पर्ने कुरा र सिक्न पर्ने पाठ आखिर यहि हो र लाखौं हर्केहरु अझै आ–आफ्नो ठाउँबाट जागरुप हुन अत्यन्त जरुरी देखिन्छ ।

२०७७ भदौ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्