News Portal

नेकाको विवादमा इक्यानलाई नजोड्न आग्रह गर्दछु : उपाध्यक्ष भट्टराई

मोटिभेटन्यूज संवाददाता
१२६ पटक

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २४ औं बार्षिकोत्सवमा केही व्यक्तिले दिएका अभिव्यक्तिलाई लिएर  कन्सल्टेन्सी क्षेत्रमा बहस भइरहेको छ । गत भदौं १२ गते इक्यानको भर्चुअल समारोहमा बोल्ने क्रममा इक्यानका पूर्वअध्यक्ष बुद्धिप्रसाद रेग्मीले दिएको अभिव्यक्तिको चर्को विरोध भएको छ ।

उनले इक्यानको समानान्तर संख्या राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का संस्थापकहरुलाई ‘चोर’ भनेर आरोप लगाएका थिए । यसको विरोधमा नेकाले आपत्ती जनाउँदै इक्यानसँग कारवाहीको माग गरिसकेको छ ।

यता इक्यानले नेकाको विवादमा इक्यानलाई नजोड्न आग्रह गरेको छ । बार्षिकोत्सवमा पूर्वअध्यक्षका हैसियतमा बोलाइएका रेग्मीले बोलेका कुरा उनको व्यक्तिगत विचार भएकाले यसलाई संस्थागत रुपमा हेर्न नहुने इक्यानको भनाई छ ।

मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै इक्यानका उपाध्यक्ष शेषराज भट्टराईले यो विषयमा बहस गर्न जरुरत नभएको बताए । बार्षिकोत्सव कार्यक्रमको समापन समारोहमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले ‘यहाँ प्रस्तुत विचारहरु व्यक्तिगत भएकाले त्यही अनुसार बुझ्न’ भनिसकेकाले यसबारेमा इक्यानलाई नजोड्न भट्टराईले सबैलाई आग्रह गरे ।

उनले भने, ‘बुद्धिप्रसार रेग्मीले बोलेका विषय उहाँका व्यक्तिगत विचारहरु हुन । त्यसको जिम्मेवारी उहाँ स्वयम हो । यसमा इक्यानलाई जोड्नु सान्दर्भिक हुँदैन ।’

नेकाले इक्यानसँग इक्यानको आधिकारिक फेसबुक पेज र व्यक्तिगत पेज तथा आइडीबाट रेग्मीले बोलेको भिडियो हटाउने माग गरेको छ ।

२०७७ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्