News Portal

बाढी पीडितका लागि जब भगवान बनेर आयो हिमालयन हेल्पिङ ह्याण्डस्

मोटिभेटन्यूज संवाददाता
१२३ पटक

काठमाडौं – बर्खा लागेसँगै बाढी र पहिरोका कारण हजारौं घरबार विहिन भएका छन भने सयौंको ज्यान गइसकेको छ । बाढी पहिरोबाट प्रभावित वेसहाराहरुको लागि हिमालयन हेल्पिङ् ह्याण्डस् सहयोगी हातहरुको साथमा पिडितको घरदैलोमा पुगेको छ ।

हिमालयले पिडितहरुलाई अत्यावश्यक सामाग्री वितरण गर्दै उनीहरुको पिडामा मल्हमपट्टी लगाइरहेको छ । लस एन्जलस् क्यालिफोर्नियाको हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्ले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिकामा गएको पहिरो पीडित, सिन्धुपाल्चोककै जुगल गाँउपलिकाको लिदि बस्तीका नागरिक, अछाम रामारोशन गाउँपालिकाका बाढीपीडित र बाजुरा बडीमालिकाका बाढी पहिरोपीडितहरुलाई अत्यावश्यक सामाग्रीहरुहरु वितरण गर्दै आइरहेको छ ।

उनीहरुले अहिलेसम्म अत्यावश्यक सामाग्री र नगदसहित गरी १३ लाखभन्दा बढीको सहयोग हस्तान्तरण गरिसकेको छ । हिमालयन हेल्पिङ्ग ह्यान्ड्सका संयोजक कपिल अधिकारीसहितको टोली राहत वितरण गरिरहेको छ । उनीहरको टीममा मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, उत्तम जङ थापा लगायत छन् । यही टीमले जम्मा गरेको सहयोग अर्जुन बिष्ट, विरेन्द्र धामी, रिच मनोज श्रेष्ठ लगायतको टीमले वितरण गरेको पत्रकार अर्जुन विष्टले जानकारी दिए ।

उक्त टीमले बाह्रविसे नगरपालिकामा गएको पहिरोमा आफ्ना पूरै छ जनाको परिवार गुमाएकी छिरिङ्ग गोलेलाई आर्थिक सहयोग गरेको छ । सोही पहिरोमा परी घरबार गुमाएर विद्यालयको छानामुनी ओत लागेर बसेका र अन्य पीडित गाउँलेहरुका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यसैगरी, सिन्धुपाल्चोककै जुगल गाँउपलिका २ लिदिमा ३९ जनाको ज्यान जाने गरी गएको पहिरोमा परी घरपरिवारलाई पाँच लाख नगद सहयोग गरेको छ ।

यस्तै, हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले सिन्धुपाल्चोकका बाढी–पहिरोपीडितहरुका लागि सुरक्षित र स्थायी बसोबासका लागि चालिस वटा पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन् । जसका लागि शुरु गरिएको ‘गो–फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।

यता, हिमालयन हेल्पिङ्ग ह्यान्ड्स्कै सहयोगमा अछामको रामारोशन गाउँपालिका–५ मा पहिरोले १०० भन्दा बढी घरहरु बगाएर उजाड बगरमा परिणत भएको गाउँपालिकाको ७ वटै वडा लगाएत बान्नीगढी गाँउपालिका र मंगलसैन नगरपालिकाका खोला आसपास क्षेत्रका केहि भुभागका घरबारबिहीनलाई समेत राहत वितरण गरेको छ ।

खोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको उक्त स्थानमा केही व्यक्तिहरुको घर, खेत, पसल, गाईबस्तु र अन्य सर–सामान पनि बाढीले बगाएको छ । दैनिक जीवनयापनका लागि चाहिने सामाग्रीहरुको समेत अभावमा रहेका उक्त स्थानका पीडित परिवार र अन्य उच्च जोखिममा रहेका परिवारलाई सरकारले वितरण गर्ने राहत पीडितसम्म नपुगेको अवस्थामा हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले राहत वितरण गरेको हो ।

रामारोशनका बाढीपीडित परिवारलाई हेल्पिङ्ग ह्यान्ड्सले तीन लाख बढीको त्रिपाल, सिरक, डसना, तन्ना, म्याट, दाल, तेल, साबुन, चिउरा, चाउचाउ लगायतका अत्याश्यक सामग्रीका साथै मृतकका प्रत्येक परिवारलाई सात हजार र विस्थापित भएका प्रत्येक परिवारलाई चार हजारका दरले नगद रकम सहित हस्तान्तरण गरेको छ ।

यति मात्रै होइन, यस संस्थाले बाजुरा जिल्लाको बुडिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बुडिनन्दा नगरपालिका र बडिमालिका नगरपालिका अन्तर्गतका बस्तीमा पसेको बाढीका कारण विस्थापित भएका सयौंँ बाढीपीडित परिवारहरुलाई हिमालयन अत्यावश्यक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।

विभिन्न समयमा आएको बाढी–पहिरो बुढीगंगा नदी किनारका बस्तीमा पसेपछी त्यहाँका सयौं घर, तिन सय भन्दा बढी खेत, ४० भन्दा बढी घट्ट, पावरहाउस, लगाएत सयौँ चौपाया बगाउँदा करौंडौको क्षति भएको छ। भने अन्य धेरै भौतिक संरचनाहरु पनि तहसनहस बनाएको छ । त्यस्तै बाढी पहिरोको कारण सयौँ रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ ।

बाजुराका बाढी पिडित परिवालाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले दुई लाख बराबरको अति आवस्यक सामग्री, ५० के।जी। को चामल ५० बोरा, दाल, तेल, चिउरा, साबुन लगाएतका सामग्रीका साथै पचास हजार नगद रकम पनि हस्तान्तरण गरेको छ ।

२०७७ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्