News Portal

असोज १ गतेदेखि चल्लान् लामो दूरीका सवारी साधन

मोटिभेटन्यूज संवाददाता
८५ पटक

काठमाडौं – कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छैनन् । एक जिल्ला तथा काठमाडौं उपत्यकाभित्र आंशिक रुपमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।

तर, नेपालीको महान चाड बडा दशैं नजिकिँदै जाँदा अब लामो दूरीको सार्वजनिक सवारी साधन चल्ने अपेक्षामा आममानिस र यातायात व्यवासायी बसेका छन् । तर, हालसम्म यसबारे सरकारीस्तरमा कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।

तर, यातायात व्यवसायी र मजदुरहरु आउँदो असोज १ गतेदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने तयारीमा छन् । यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।

गत चैत ११ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् । सरकारले गत चैत ११ गतेदेखि चार महिना लकडाउन र त्यसपछि निषेधाज्ञा लगाउँदै आएको छ ।

विभिन्न क्षेत्रलाई खुकुलो बनाउँदै जानेक्रममा एक जिल्ला र काठमाडौं उपत्यकाभित्र मात्रै १६ सिट क्षमताभन्दा माथि सिट क्षमताभन्दा आधा कम यात्रु चढाएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक यातायातका साधन चलाउन दिएको छ ।

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर व्यवसायी र मजदुर संगठनका अगुवाहरूले लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा सबै सिट क्षमताका सम्पूर्ण सार्वजनिक यातायात साधन सञ्चालनको निर्णय गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

तर, सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले गर्न सक्दैन । यसबारे कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० र मन्त्रिपरिषदले निर्णय गर्न सक्ने भन्दै मन्त्री नेम्वाङले सार्वजनिक यातायातका साधन सुचारु गर्ने विषयमा दुवै स्थानमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाएका छन् ।

तर, सरकारले निर्णय नगरे पनि १ असोजबाट सबै प्रकार र दरीका सवारी साधन चलाउने तयारीमा यातायात व्यवसायी र मजदुर संगठन जुटेका छन् । उनीहरुले सरकारलाई बुझाएको ज्ञापन पत्रमा पनि यसबारे उल्लेख गरेका छन् ।

२०७७ भदौ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्