News Portal

दोलखाका विधालयहरु खुल्ने तयारीमा

मोटिभेटन्यूज संवाददाता
५१ पटक

दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको छ। कोरोना महामारी सतर्कताका लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनदेखि बन्द रहेका दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु हुने भएको हो

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए। दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभ्रत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ।

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत्र महिनादेखि देशमा लकडाउन लागू भएयता दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द भएका थिए। आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेबाट कसरी विद्यालय संचालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको भीमेश्वर नगरपालिकाका प्रधानाध्यापकहरुको भनाई छ।

निजी तथा सामुदायिक गरी जिल्लाका करिब ५० हजार विद्यार्थीहरुको विद्यालयमा गएर गरिने पठनपाठन बन्द भएको थियो। केही स्थानीय तहहरुमा लकडाउनका विचमा पनि बैकल्पिक सिकाईका लागि विद्यार्थीहरुलाई वर्कसिट बाँड्ने कार्य गरिएको भए पनि त्यसको प्रभावकारिता नदेखिएको स्थानीय अभिभावकहरुले गुनासो गरेका थिए। केहीदिन अघि सदरमुकाम कै एक विद्यालयमा अध्ययनरत २ विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले तत्काल पढाई सुरु गर्दा विद्यार्थीमा संक्रमणको खतरा बढ्न सक्ने केही अभिभावकहरुको आशंका छ।

२०७७ भदौ ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्