News Portal

कार्यालय प्रवेश गर्नासाथ कर्मचारीलाई भ्रष्टाचार विरोधी शपथ गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९९ पटक
काठमाडौं

असोज १९, काठमाडौं – सबै निजामती कर्मचारीले बिहीबार देखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ । उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थ अनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्नेछ । यससँगै ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सबै मन्त्रालय, केन्द्रीय निकाय, आयोग, नियोग लगायतमा पत्राचार गर्दै देशभर रहेका मातहतका कर्मचारीलाई भ्रष्टाचारविरोधी शपथ गराउन निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार सबै कार्यालयले बिहीबार देखि शपथ लिन लगाउने छन् । प्रधानमन्त्री कार्यालयले शपथका साथै भ्रष्टाचार नगर्ने बेहोराको साइनबोर्ड देशभर सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा टाँस्न पनि सर्कुलर गरेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सरकारी नीति व्यवहारमा उतार्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयले शपथको बेहोरा र ढाँचा तयार पारेको छ । कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ भनेर दैनिक शपथ लिनु पर्नेछ । प्रवक्ता कुँवरले शपथ लिएर पनि कर्मचारीले प्रभावकारी काम गरे नगरेको माथिल्लो तहबाट अनुगमन हुने बताए ।
अन्नपूर्णबाट

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्