News Portal

कर्णालीमा पाँच किलो चामल किन्न सिडिओको सिफारिस चाहिने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९५ पटक
काठमाडौं

असोज १९, काठमाडौं – दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्ला लगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन्  । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) बाट सिफारिस लिनु परिरहेको छ ।

नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबार देखि चामल बिक्री गर्न थालेको हो । माग अनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए । ‘जिल्ला खाद्य सुरक्षा समितिले पाँच किलो भन्दा बढी नदिने निर्णय गरेको छ, सोही अनुसार बिक्री गरिरहेका छौँ,’ विष्टले भने ।

सिडिओको नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष सिडिओ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमीकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमीकोट बजारका बासिन्दा र कर्मचारीलाई पाँच किलोग्राम चामल बिक्री गर्ने तय गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालयबाट पाँच किलोग्राम चालम खरिदका लागि सिफारिस लिन सर्वसाधारणलाई सकस भएको छ । सदरमुकाम सिमीकोटका बासिन्दा र कर्मचारीलाई रासन कार्डका आधारमा जिल्ला प्रशासनले सिफारिस दिने गरेको छ ।

समयमै चामल ढुवानी नभएपछि हुम्लामा समस्या भएको हो । खाद्य संस्थानका अनुसार सिमीकोट डिपोमा पाँच सय २९ क्विन्टल चामल छ  । त्यो पनि बुधबारदेखि बिक्री गर्न थालेकाले घटिसकेको संस्थानका प्रमुख रामबहादुर विष्टले बताए ।
नयाँ पत्रिकाबाट

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्