News Portal

समाजसेवी कुँवरको नेतृत्वमा ७१ जनाले गरे रक्तदान

मोटिभेटन्यूज संवाददाता
९३ पटक

काठमाडौं – समाजसेवी ताराबहादुर कुँवरको नेतृत्वमा ७१ जनाले रक्तदान गरेका छन् । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता कुँवरको अगुवाइमा रक्तदान गरिएको हो ।

योसहित उनले पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेका छन । आजसम्म १ सय ६३ जनाले रक्तदान गरिसकेको कुँवरको भनाई छ । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको उनको भनाई छ ।

आजको अभियानमा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहयोग गरेका थिए । पछिल्लो समयमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनले यस्तो अभियान चलाएको बताएका छन् । ‘मैले अरु अभियानसँगै रक्तदान कार्यक्रम पनि गरेको हुँ, रगतको अभावले धेरै मानिसको ज्यान गएको समाचार सुनेपछि यतातिर पनि लागें’ उनले भने ‘ रगतको अभावले कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रमुख उद्येश्य हो ।’ उनी रक्तदान अभियानलाई पनि निरन्तरता दिने बताउँछन् ।

बाफलमा व्यापार गर्दै आएका उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् । उनले चैत्र ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउनदेखि अहिलेसम्म १२ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेललगायतका सामग्री वितरण गरेका छन् । उनले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिएका छन् । उनको अभियानलाई केही व्यक्ति तथा संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।

केही दिनअघि उनले कोरोना भाइरसको रोकथामका लागि भनेर गुर्जो पनि वितरण गरेका थिए । उनले गुर्जोका अभियन्ता कमलबहादुर राजलवटले दुई चरणसम्म गुर्जो उपलब्ध गराएको बताए । कुँवरले आफ्नो व्यवसायसँगै सामाजिक अभियानलाई पनि सँगसँगै अघि बढाएका छन् । अरुलाई पनि प्रेरणा होस् भनेर आफूले दिनहुँजसो यस्तो कार्य गरिरहेको उनको भनाई छ ।

२०७७ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्