News Portal

कोरोना संक्रमणबाट काँग्रेस नेता प्रसाईंको निधन

मोटिभेटन्यूज संवाददाता
१८९ पटक

काठमाडौं – नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ । खनुपरुदे उपनामले परिचित ९९ वर्ष प्रसाईको आज मध्यान्ह १२ बजे चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् । प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो ।

उनी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहास्कार गर्ने बताइएको छ ।

को हुन प्रसाई ?

२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए । कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो । अध्ययन र राजनीतिक जीवन बिताउने क्रममा नेपाल–भारत गरिरहने प्रसाई काँग्रेसका संस्थापक सदस्य समेत हुन् ।

२००३ सालमा नेपाली काँग्रेस स्थापना भएदेखि प्रसाई ०६२ सम्म काँग्रेसमा सक्रिय थिए । योबीचमा पार्टीका हरेक क्रियाकलामा उनको भूमिका अग्रमोर्चामा रह्यो । मुलुकमा प्रजातन्त्र स्थापनाको यात्रामा हिँडेका प्रसाईले बीपी, गणेशमानहरूसँगै यातना र जेलनेलको यात्रा पनि सँगै गरेका थिए ।

२०१८ सालमा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलोपटक लामो समय जेल जीवन बिताएका थिए । जेलबाट छुटे पनि इलामबाहिर जान नपाउने गरी नौ महिना उनलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताएका थिए ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर उनी २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किएका थिए ।

राजद्रोहसहितका दुईवटा मुद्दामा प्रसाईले २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल जीवन बिताएका थिए । २०३० को चर्चित नेपालको विमान अपहरण (बिराटनगर विमान अपहरण समेत भनिन्छ) मा समेत उनी पक्राउ परेका थिए ।

त्यतिबेला भारतको सिलिगुडीदेखि पुर्नियासम्मका सीमा बजारदेखि बनारससम्म झिसमिसेमै एकैसाथ छापा हान्दा सिलिगुडीमा रहेका प्रसाईको विस्तरामुनिबाट प्रहरीले दुई सय २० थान गोली बरामद गरेको थियो । त्यसपछि उनी १५ दिन थुनामा र दुई वर्ष एरियाबन्दीमा परेका थिए ।

२०६२ साल भदौ १६ गते सम्पन्न काँग्रेस महाधिवेशनले राजतन्त्र निरपेक्ष भन्ने सिद्धान्त अपनाएपछि उनले भदौ १८ गते नै साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका थिए ।

नेपाली काँग्रेसले लिएको लाइन र छोडेको सिद्धान्तले मर्माहत भएको भन्दै उनले बीपीपुत्र प्रकाश कोइरालाहरूसँग मिलेर त्यही साल दुर्गा पोखरेलको सभापत्विमा नेपाली काँग्रेस राष्ट्रवादी पार्टी स्थापना गरेका थिए ।

२०७७ असोज २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्