News Portal

स्कूलको जागीर छोडेर चप्पल उद्योग संचालन गर्दै रामशरण

मोटिभेटन्यूज संवाददाता
११८ पटक

डडेल्धुरा – डडेल्धुरामा चप्पल उद्योग संचालनमा आएको छ । डडेल्धुरा जिल्लाको अमरगढी—५ का रामशरण रोकाले चप्पल उद्योग संचालनमा ल्याएका हुन ।

रोकाले डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका थिए । करिव १० बर्ष देखी शिक्षण पेशामा कार्यरत रहेका उनी शिक्षक पेशा त्याग गरेर उद्योग सुरु गरेका हुन ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विद्यालय बन्द भएपछि उनले जिविका चलाउन उद्योग संचालन गरेका हुन ।

कसरी सुरु भयो उद्योग ?

डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका उनलाई लकडाउन भएपछि भने दैनिकी चलाउन समस्या हुन थाल्यो । अहिले उनि ३७ वर्षका भए । लकडाउनले विद्यालय बन्द भएपछि उनले के गर्ने भनि विकल्प खोज्न थाले । कोरोनाका कारण बेरोजगार भएको समयमा साथीहरूसँग कुराकानी भयो । साथीहरूको सुझाव र इन्टरनेटको सहायता पछि आफ्नै ठाउँ डडेल्धुरामा चप्पल उद्योग खोल्न तयार भएको बताए ।

करिव ८ लाख लगानी गरेर विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर रामशरणले उद्योग सञ्चालन सुरु गरेको बताए । अहिले उनले डडेल्धुरा सदरमुकामको विद्युत् रोड छेउमै चप्पल उद्योग खोलेका छन् । ‘सफल चप्पल उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका हुन । घरमै बसेर के गर्नु भनेर साथी सँग सुझाव लिए ।

‘सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा पनि देखिएन्,’ उनले भने, ‘केहि फरक ब्यापार गर्ने सोच बनाई बजारको अध्ययन गरेपछि चप्पल उद्योग सञ्चालन गरेको हुँ ।’ सुदूरपश्चिमको पहाडी जिल्लामा अहिले कतै पनि चप्पल उद्योग छैन् । सोही अनुसार चप्पल उद्योग खोल्ने सोचका साथ अगाडी बढेको उनको भनाई छ ।

अब ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल माग अनुसार आपूर्ति गर्ने योजना रहेको उनले बताए । उद्योग सञ्चालन गर्नमा परिवारका सदस्यको राम्रो साथ मिलेको छ । अहिलेलाई घरकै सदस्यबाट सहयोग पाइरहेका छन् । घरका सदस्यहरु मिलेर काम गरीरहेको उनी बताउँछन् ।

‘शुरुमा उद्योग सञ्चालनमा आउँदा घरकै परिवारका सदस्य मिलेर काम गछौँ । अनि उद्योग विस्तार गरेर बेरोजगार युवालाई रोजगारी दिने सोचमा छु’ उनले भने । अहिले रोजगारी नपाएर धेरै जसो युवाहरु बेरोजगार भएका छन् । उद्योग पूर्णरूपमा सञ्चालनमा आउने बितिकै कम्तिमा ५ जनालाई रोजगारी दिन सकिने उनको भनाइ छ ।

दिनमा पाँच सय जोर चप्पल बेच्न सके दैनिक ५ हजारसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । सस्तो, सुलभ मूल्य हुने हुँदा तराईबाट समेत माग आउँछ कि भन्ने लागेको छ । सबै ठाउँबाट माग आए अर्को मेसिन पनि ल्याउने विचार गरेको उनको भनाई छ ।

स्थानीय तहबाटसमेत उद्योग सञ्चालनका लागि हौसला पाइरहेको बताए । उद्योग सञ्चालनका लागि अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अनुगमन गरेर गएका छन । ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिन आफूले पनि सक्दो सहयोग गर्ने बताउनु भएको छ’ उनले भने, ‘उहाँको यही बोलीले मलाई हौसला मिलेको छ ।’

मेयर ओझाले उत्पादनको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको उनको भनाई छ । साथै नगरप्रमुखले सहयोगको प्रतिबद्धता गरे पछि थप हौसला मिलेको उनको भनाई छ ।

२०७७ असोज २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्