News Portal

ओली – प्रचण्डबीच बोलचाल बन्द, नयाँ एक्सनको तयारीमा प्रचण्ड

मोटिभेटन्यूज संवाददाता
१७१ पटक

काठमाडौं – नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बोलचाल बन्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रीमण्डर पुनर्गठन गरेपछि विवाद बढेर बोलचाल बन्द भएको हो ।

त्यही विवादका कारण समाधान गर्न कर्णाली प्रदेशबाट काठमाडौं बोलाइएका नेताहरूको भेटघाट अनिश्चित भएको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलभित्रै अविश्वासको प्रस्ताव आएपछि कस्सिएको विवादको गाँठो फुकाउन ओली र दाहालले दुवै पक्षलाई काठमाडौं झिकाएका थिए । बुधबार र बिहीबार आइपुगेका उनीहरूले कर्णालीको विवादका विषयमा अध्यक्षद्वयसँगै बसेर छलफल गर्न पाएका छैनन् ।

केन्द्रीय कार्यालयबाट गरिएको पत्राचारबमोजिम मुख्यमन्त्री शाही र नेकपा सहइन्चार्ज यामलाल कँडेलका छुट्टाछुट्टै टोली बिहीबार केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । उनीहरूले केहीबेर कुर्दा पनि अध्यक्षद्वय ओली र दाहाल धुम्बाराहीमा पुगेनन् । ‘उहाँहरूले २९ गतेभित्र आइपुग्नु भनेपछि हामी कार्यालयमा पुगेका हौं तर दुवै अध्यक्ष नआएपछि फर्कियौं,’ नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले भने, ‘छलफलका लागि कतैबाट कुनै सूचना आएको छैन, दुई अध्यक्ष पनि सँगै बसेको जस्तो लाग्दैन ।’

कर्णालीबाट बोलाइएका नेता काठमाडौं आइनसक्दै बुधबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसपछि अध्यक्षद्वयबीच संवाद टुटेको छ । त्यसअघि उनीहरूले दिनहुँजसो भेट गर्दै आएका थिए । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठनले केन्द्रीय अध्यक्षहरूमै चिसोपना बढेकाले आफूहरूसँग संयुक्त संवाद हुन नसकेको बताए ।

अब कसरी अगाडी बढ्ने भन्ने विषयमा प्रचण्डले नयाँ रणनीति बनाउन लागेको खुमलटार निटक श्रोतको भनाई । प्रचण्डले माधव नेपालसँग मिलेर बागमति प्रदेश र प्रदेश नम्बर १ मा अविश्वासको प्रस्ताव ल्याएर ओलीसँग बदला लिने तयारी गरिएको श्रोतको दावि छ । प्रचण्डले ओलीलाई भेट्न बारम्बार खबर पठाएको भएपनि ओलीले भेट्न नचाहेकाले नयाँ एक्सन लिन पर्ने बाध्यता भएको प्रचण्ड निकट श्रोतको भनाई छ ।

२०७७ कात्तिक १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्