News Portal

आज दशैंको मुख्य दिन, कता फर्केर टिका लगाउने ?

मोटिभेटन्यूज संवाददाता
१२६ पटक

काठमाडौं – आज नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । तर राज्य सन्चालकले पनि साइतै टीका लगाउनु पर्ने धर्मशास्त्रविद प्रा. डा. गौतम बताउँछन् । ‘राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद गौतमले भने ।

कता फर्केर टिका लगाउन ?

काठमाडौं – आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।

भनिन्छ, टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

२०७७ कात्तिक १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्