News Portal

प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा प्रचण्ड, यसरी हुँदैछ तयारी

मोटिभेटन्यूज संवाददाता
१२० पटक

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा अर्का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गर्ने भएका छन । पार्टी संसदिय दलको कार्यलयमा अविश्वासको प्रस्ताव दर्ता गरेर प्रधानमन्त्री ओलीलाई गलाउन संयुक्त रुपमा प्रचण्ड र नेपाल लागेका हुन ।

स्थायी समिति बैठकका निर्णय कार्यान्वयनमा बेवास्ता गरेको, मन्त्रीपरिषद पुनःगठनमा एकलौटी गरेको, राजदुत नियुक्त गर्दा पार्टीलाई वेवास्ता गरेको भन्दै संसदिय दलमा अविस्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो । अविश्वासको प्रस्तावका विषयमा अहिले पार्टीभित्र ठूलो बहस भइरहेको छ । ओली र प्रचण्डबीच मनमुटाव देखिनुका साथै उनीहरुबीचको दुरी बढेपछि पार्टी भित्र विभिन्न शंका उपसंका गर्दै आरोप प्रत्यारोप चलेको छ ।

नेताहरुबीच दुरी घटाउने प्रयास जारी रहेपनि दुरी घट्न नदिने स्वार्थ समूहको प्रयासका कारण ओली प्रचण्डको बोलचाल बन्द भएको छ । दुई अध्यक्षबीच दुरी बढेको बेला स्वार्थसिद्ध गर्न पल्केका केही सीमित तत्वहरु नेताहरुबीचको दुरी घट्न नदिन विभिन्न स्टन्टबाजी गर्न लागिपरेको सो पार्टीकै शीर्ष नेताहरु बताउँछन् ।

अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलेपछि नेपाल प्यानलका नेताहरु आक्रोषित भएका छन । उनीहरुले नेताहरुलाई भिडाउने गरिएको प्रचारवाजीका रुपमा विश्लेषण गरेका छन । ‘अयोग्यता छोप्न यस्ता आधारहीन हल्ला गरेरै भए पनि केही समय टिक्न सकिन्छ भनेर फेरि थालिएछ अर्को हल्ला,’ नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले ट्वीट गर्दै लेखेकी छन्, ‘अनि आफ्नो जिम्मेवारी छाडेर मोर्चा कस्न राजधानी छिरेछन् क्षेत्रपालहरु ।’

नेकपामा सहमति गर्ने तर कार्यान्वयन नगर्ने रोग नयाँ होइन, जसले पटक–पटक पार्टीलाई संकटको दलदलमा पु¥याएको छ । तर यतिन्जेलसम्म ‘सहमति पालना गर्ने सहमति’मा पुग्दै सम्भावित दुर्घटना टर्दै आएको भए पनि सहमतिकै औचित्यमा प्रश्न उठ्ने अवस्था आउन थालेपछि सिंगो पार्टीको भविष्य के होला भन्ने चिन्ता एकता पक्षधर नेता–कार्यकर्तामा व्याप्त हुनु स्वाभाविक नै हो ।

विगतका सहमति र प्रतिबद्धता कार्यान्वयनमा ओलीले पटकपटक बेवास्ता गरेको भन्दै प्रचण्डले ओलीसँगको छुट्टै भेटघाटमा चासो देखाउन छाड्दा ‘स्टन्टबाजी’ गर्नेहरुले सुनौलो मौका भेटेको नेकपाका एक शीर्ष नेता बताउँछन् ।

कसले गर्यो अविश्वासको प्रस्तावको प्रचार ?

नेकपाका केही नेता समस्या समाधानमा लागिरहेका बेला ओली निकटकै केही सल्लाहकार र केही नेताहरु भने स्थितिलाई थप बिगार्न राजनीतिक प्रचारबाजीमा उत्रिएका छन् । त्यसका लागि उनीहरुले ओलीविरुद्ध प्रचण्ड–नेपाल मिलेर अविश्वास प्रस्ताव ल्याउने तयारीमा लागेको प्रचार गर्न थालेका हुन् ।

‘अविश्वास प्रस्ताव ल्याउने भन्ने कुरा कल्पना समेत गरिएको छैन । त्यो भ्रम कसले र किन गराएको छ, बुझ्न सकिएको छैन,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘स्वार्थ पुरा गर्न खोज्नेहरुले चलाएको हल्लामा कुनै सत्यता छैन ।’ माधव नेपाल निकट मानिने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि अविश्वास प्रस्ताबारे चलाइएको हल्लामा कुनै सत्यता नरहेकोे बताए । ‘लुकिछिपी गर्नुपर्ने, केपी ओलीले थाहा पाइहाल्छन् कि भन्नुपर्ने कुरा होइन,’ उनले भने । भेट हुँदा ‘के गरेको यस्तो’ भन्लान् कि भनेर अविश्वास प्रस्ताव जस्तो कुरा अघि बढाउन नमिल्ने उनको भनाइ छ । बरु राजनीतिक कुरा भएकाले ‘तपाईंले सक्नुभएन, हटाइन्छ, नत्र पार्टी ध्वस्त हुन्छ, देश उधोगतिमा जान्छ’ भनेर हटाउने कुरा हुनसक्ने उनको भनाइ छ ।

ओली र प्रचण्ड मिल्नेबित्तिकै समस्या समाधान हुन्छ भन्ने बुझाइ पनि असफल भइसकेको रिजालको टिप्पणी छ । ‘ओली र प्रचण्ड मिल्दा सबै कुरा मिल्छ भन्ने कुरा पटक पटक परीक्षण भएर असफल भएको मोडल हो’, रिजालको बुझाइ छ ।

यसरी विग्रियो सम्बन्ध

दुई नेताबीच तिक्तता र असमझदारी बढिरहेका बेला प्रायः दोस्रो तहका नेताहरुले मध्यस्थकर्ताको भुमिका निभाउने गरेका छन् । त्यसक्रममा बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिंहदरवारस्थित कार्यालयमा ओलीका सहयोगी समूहसँग छलफल गरे । मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङ, प्रधानमन्त्रीका सल्लाहकारहरुबीचको छलफलमा ‘समस्याको जड के हो ?’ भन्नेबारेमा विचार विमर्श भएको बताइएको छ ।

त्यसक्रममा उनीहरुबीच प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्थायी समिति निर्णयको स्प्रिटविपरीत चल्न खोज्दा समस्या भएको निष्कर्ष निकालेका छन् । छलफलमा सहभागी श्रोतका अनुसार ओलीले राजदुत नियुक्तिको सिफारिस, मन्त्रीहरुको नियुक्ति र हेरफेर, रअ प्रमुख गोयलसँगको संवाद तथा कर्णाली विवादमा सहमतिमै निर्णय गर्न सकिने भए पनि त्यसो नगर्दा समस्या बल्झिएको निष्कर्ष निकालिएको छ ।

‘केही विषयमा कमजोरी भएका छन्, ती केही घटीबढी पनि होलान् । तर सहमतिबाट अघि बढ्नुको विकल्प छैन । पार्टी एकताको भावना र सहमतिको स्प्रिट समात्नैपर्छ’, स्रोतले भन्यो, ‘सच्याउन सक्ने विषय पहिचान गरेर अघि बढ्नुपर्छ भन्नेमा दुईमत छैन ।’

२०७७ कात्तिक १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्