News Portal

मनसुन सकिएसँगै काठमाडाैंमा चिसो बढ्यो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३७ पटक
काठमाडौं

 असोज २२, काठमाडाैं-  बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट गत शुक्रबार देखि बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम सुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्नेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानांगले जानकारी दिए । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ ।

आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ७ र अधिकतम २७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी र मध्यका पहाडी भेगमा सोमबार अपराह्नपछि मेघ गर्जन सहित एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति मुलुकको पूर्वी र पश्चिम भू–भागमा आंशिक बदली रहने सम्भावना देखिन्छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै हुने महाशाखाले जनाएको छ ।

पछिल्ला तीन दिनमा काठमाडौंको न्यूनतम तापक्रमको दर घट्दै गएको विभागको तथ्यांक छ । बिहीबार न्यूनतम तापक्रम १५ दशमलव ५ रहेकोमा शुक्रबार र शनिबार १४ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । दसैं अघि नै मनसुन बाहिरिसकेकाले दसैंमा पानी पर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । बंगालको खाडी वा अरब सागरमा सामुद्रिक आँधी निर्माण भएमा त्यसको प्रभावमा नेपालमा पानी पर्ने सम्भावना हुन्छ । मौसमविद प्रधानांगका अनुसार सामुद्रिक आँधी निर्माण हुने सम्भावना अहिलेको अवस्थामा छैन ।
राजधानीबाट

२०७५ असोज २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्