News Portal

ओलीको रणनीति मापन गर्न नसक्नु प्रचण्डको कमजोरी

ओम आचार्य
२४२ पटक

काठमाडौं – स्थिर सरकार, विकास र सम्बृद्धिको चुनावी नारा दिएर बहुमत प्राप्त गरेको पार्टी नेकपाले सरकार वनाएदेखि नै आफ्नै पार्टी भित्रको कलह र पार्टीमा एक अर्कामा दोषारोपण गरेर सरकार र सरकारवादी पार्टीका शिर्षस्थ नेताहरुले आफ्नो उर्जा र शक्ति खर्च गरिरहेका छन । यिनिहरुले आफ्नो उर्जा र शक्ति मुलुकको विकास र सम्बृद्धिमा कहिल्यै प्रयोग गरेनन् । त्यही भएर मुलुकमा राजनीतिक अस्थिरता, विकास र सम्बृद्धिको सपना मात्र सपनामा सिमित बनाए ।

अहिले सरकारले स्थिरता त प्राप्त गरेको छ तर सरकारमा, सरकारको सोचमा, सरकारको विचारमा, सरकारको सरकार संचालन गर्ने शैलीमा अस्थिरताका कारणले नेकपा आफै विघटनको मोड़मा पुगेको छ । यसको उदाहरण हो प्रधानमन्त्री केपी शर्मा ओली आफै ‘म राजिनामा दिन्न बरु अविस्वासको प्रस्तावसमेत फेस गर्छु’ भनेर दिएको अभिव्यक्ति हो ।

उनको यो भनाईलाई मुलुकको राजनीति अन्योल तर्फ धकेल्ने संकेतको रुपमा बुज्नु पर्ने अवस्था देखिन्छ । यो अवस्था अझ कर्णाली प्रदेश सरकारको पुनर्गठन, ओली समर्थक मन्त्रीलाई विस्थापित गरि नेपाल, प्रचण्ड समर्थकलाई मन्त्रीमन्डलमा समाबेश गरे हदै सम्म जाने प्रधानमन्त्रीको उद्घोषले मुलुकको गणतन्त्रमाथि अनिष्टको बादल मडारिएको हो की भनेर बुझ्न पर्ने हुन्छ ।

डबल नेकपा भित्र माओवादी छन ?

एमाले र माओबादी मिलेर बनेको डबल नेकपा दुई पार्टीको योग हो भनिए पनि त्यो योगमा वर्तमान सरकारको नेतृत्व गरेका सरकार प्रमुख र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एकलौटी सरकार र पार्टी चलाई रहेका छन । उनको सरकार संचालन शैली र पार्टी संचालन रणनीति हेर्दा पार्टीमा दुई अध्यक्षात्मक प्रणाली रहेको भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाममात्रैका अध्यक्ष हुन पुगेका छन ।

स्थाइ समीतिको बैठक पटक पटक वस्ने भन्दै मिति सारिरहनु र बैठक नवस्नु, सचिवालयको बैठक पनि नवस्नुलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीबाट पार्टी संचालन एकल नेतृत्वमा गरिरहेको बुझिन्छ । यो रणनीतिबाट अर्का अध्यक्ष प्रचण्डलाई थकाउदै लैजाने केपीकै रणनीति रहेको देखिन्छ । उनी प्रचण्डलाई अलमलमा पार्दै , विवस तुल्याउदै निरीह बनाएर राजनीतिक क्षेत्रमा प्रचण्डको मानमर्दन र उनको शाख़ गिराउने चालबाज़ीको रुपमा लिन सकिन्छ।

एकिकृत नेकपा भित्र माओवादी पनि छ भन्ने बोधसमेत नगरी कर्णाली प्रदेशमा त्यहाँका मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्ताव, राजदुतहरुको नियुक्ति, मन्त्रिमण्डलको पुनर्गठन, भारतिय गुप्तचर ‘रअ’ प्रमुखसँगको भेटलगायतका सन्दर्भ र प्रसंगले नेकपाभित्र नेकपा (एमाले) मात्रै छ कि भनेर राजनीतिक बृतमा अनुमान गर्न थालिएको छ । यो अनुमान त राजनीतिक कर्मीको अनुमान भएपनि स्वयं प्रचण्डले पनि यस्तै अनुभव गर्न थालेका छन । प्रचण्डमा अब प्रधानमन्त्री केपी ओली प्रति यति बिरक्ती र वितृष्णा आउन थाल्यो कि अब वार्ताकै लागि बालुवाटार प्रवेश नगर्ने प्रचण्डको प्रक्रियाबाट सहजै अनुमान लगाउन सकिन्छ ।

‘अबसँगै जान सकिन्दैन् तपाई अब आफ्नो बाटो हिड्दा हुन्छ’ सम्मको अभिव्यक्ति प्रति प्रचण्डले गम्भीर रुप नलिनु पनि उनको राजनीतिक सुझवुझले प्रधानमन्त्री ओलीको राजनीतिक अभिष्ट मापन गर्न नसक्नु प्रचण्डको कमजोरीको रुपमा लिनु पर्छ । हुनत यो कमजोरी प्रचण्डमा भोली पार्टी नै फुट्यो भने पूर्वमाओवादीबाट सरकारमा सहभागी रहेका माओवादी पार्टीमा फर्कन्छन त ? यसमा सन्देश स्वयं प्रचण्डमा पनि हुन सक्छ । त्यही आंकलनले प्रचण्ड प्रधानमन्त्रीको रणनीतिमा रुमलिएको, अलमलिएको हुन सक्छन ।

प्रचण्डको कमज़ोरी अहिले आफ्नै सहकर्मी सहयात्री हुन थालेका छन् । उनको यही कमजोरीलाई प्रधानमन्त्रीले बुझेर प्रचण्डलाई पार्टी फुटाउन, नेकपाबाट अलग्याउन चाहिरहेका छन र प्रचण्ड बाध्यताबस नेकपामा खुम्चिएर वस्न बाध्य छन ।

कम्युनिस्ट सरकारको शाशन शैली र वर्तमान देशको राजनीति अवस्था

राजा विरेन्द्रको बंश समाप्तीपछि ज्ञानेन्द्र शाहबाट केही बर्ष देश चल्यो । जनआन्दोलनपछि मुलुकमा तत्कालिन अवस्थामा रहेको राजशाही व्यवस्थाको अवसानपछि गणतन्त्र स्थापना भयो र मुलुक संघियशाशन प्रणालीमा गयो । मुलुकले पूर्णत लोकतान्त्रिक व्यवस्था अपनाएर निर्वाचित बहुमत प्राप्त गरेको पार्टीको सरकार वन्ने विधमान अवस्थामा पार्टी र सरकारको समन्वयले मुलुक अग्रगामी भुमिका निर्वाह गर्छ ।

मुलुकमा स्थाइ सरकार आएपछि सम्बृद्धि र विकास आउछ भन्ने जनतामा थियो तर त्यस्तो भएन । अहिल्ये पनि सरकारको वर्तमान शासन शैली ज्ञानेन्द्र शाहकै जस्ता छ । उनकै झझल्को दिनेगरी राजनीतिक घटनाक्रम अगाडि बढ्नु देशलाई बर्वादी ती धकेल्ने संकेत हो । नेकपाबाट प्रतिनिधित्व गर्दै सरकारको नेतृत्व लिएको सरकार प्रमुखको विचार र उनको अभिव्यक्ति र आफ्ना समकक्षी अध्यक्ष प्रचण्डसँगको व्यवहार र आफ्नै पार्टी, स्थायी समिती, सचिवालय र राजनितिक अंगहरु विभागहरु समेतलाई एकल नेतृत्वमा हिडाउने अभ्यासले राम्रो संकेत देखाउँदैन ।

यस्तो अभ्यासले न त पार्टीमा लोकतन्त्र अर्थात प्रजातन्त्रलाई सुदृढ गर्छ न त देशमै लोकतन्त्रात्मक व्यवस्था सवल र सक्षम हुदै जान्छ । यस्तो अवस्थामा सरकारले शुशासन दिन सक्दैन।

वर्तमान सरकार : अधिनायकवाद र स्वेच्छाचारी

यो आरोप वर्तमान सरकारलाई सरकार निर्माण हुनु पूर्वनै काँग्रेसले नेकपाले जितें अधिनायकवाद लाद्छ भनेर चुनावि भाषण गर्दै हिडेका काँग्रेसको दुरदर्शीता देखिएको छ । नेकपाले शाशन शैलीमा मात्रै अधिनायकवाद देखाएको छैन् स्वयं सत्ताधारी पार्टी नेकपा भित्रनै प्रधानमन्त्रीको एकोहोरो अधिनायकवाद झनै खतरनाक छ ।

पार्टी बिधि, विधान, नीति, नियमसमेत ‘म जे गर्छु, म जे भन्छु त्यही नीति हो, त्यही विधान हो, त्यही विधी हो’ को शैलीमा हुर्किरहेको झाँगिरहेको वर्तमान सत्ताधारी पार्टीको सरकार प्रमुखको विचार र संस्कारले पंचायतको स्मरण मात्रै गर्दैन तत्कालिन समयमा सरकारमा हालिमुली गरेको भुमिगत गिरोहको स्मरणसमेत अहिले सरकारमा विचौलियाको पहुँचले गराउछ ।

जब जब सरकारको छायाँमा पार्टी पर्छ तब तब सरकार स्वेच्छाचारी र अधिनायकवाद चलाउन थाल्छ । त्यस्तो सरकारले आफ्नो अभिष्टको लागि जे पनि गर्न सक्छ, जुन ‘कर्णाली प्रदेशको सरकार पुनर्गठनमा मन्त्री हटाएको अवस्थामा मेरो कदम…’ जस्तो अभिव्यक्तिले राष्ट्र र ख़ुद सत्ताधारी पार्टीका लागि हानिकारक र अनुत्पादक हुन्छ । र अहिले यस्तै भइरहेको छ ।

२०७७ कात्तिक २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्