News Portal

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सानदार जित, को हुन बाइडेन ?

मोटिभेटन्यूज संवाददाता
१५६ पटक

काठमाडौं – अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन । मंगलबार सम्पन्न निर्वाचनले आगमी चार बर्षका लागि बाइडेनलाई निर्वाचित गरेको हो ।

दुई राज्यको मतगणना हुन बाँकी हुँदै बाइडेनले चुनाव जितेका हुन । विजयीका लागि चाहिने २७० इलेक्टोरल कलेज भोटको आवश्यकता पर्नेमा बाइडेनले २९० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन । मतपरिणाम आउन बाँकी २ राज्यमध्ये एक राज्यमा बाइडेन अगाडि छन ।

को हुन बाइडेन ?

७८ वर्षमा राष्ट्रपतिमा चुनिएका बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा उनलाई मतदान दिएर जिताउने कयौं मतदाता जन्मिएका थिएनन् । उनलाई मतदान गरेर राष्ट्रपति निर्वाचित गर्ने उनको पुस्ता कमैमात्र होलान् ।

पहिलो पटक सिनेटको सदस्यको रुपमा उनी १९७३ मा वाशिङ्टन पुगेका थिए । आजभन्दा ४७ वर्षअघि वासिङ्टनसँग जोडिएको नाता आज अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा विकास भएको छ ।

सन् २००९ देखि २०१७ को बीच बाइडन बराक ओबामाका उपराष्ट्रपति थिए । उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । बाइडेन योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा एक वास्तविक मानिसजस्तो देखिन्छन् ।​ बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् ।​

बाइडेनले अमेरिकी सिनेटको चुनाव सात पटक जितेका छन् । उनी सधैभरी कामदार तथा मजदुर वर्गलाई आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् । ​बाइडेनसँग वाशिङ्टनको धेरै लामो अनुभव छ। सिनेटमा तीन दशकभन्दा धेरै उनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष रहे। करिब ५० वर्षदेखि उनी अमेरिकाको उच्चस्तरको राजनीतिमा संलग्न छन् ।

२०२० मा मात्र होइन बाइडेन सन् १९८७ मा पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् । सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्‍याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडेन उभिएका थिए ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए ।

अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । अब उनको खास परीक्षा अमेरिकी राष्ट्रपतिको रुपमा हुँदैछ ।

२०७७ कात्तिक २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्