News Portal

कलम चलाउने हातमा कैंची परेपछि…

रेनुका बुढाथोकी
१७५ पटक

काठमाडौं – एउटा नेपाली उखान छ, ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।’ यो नियम व्यवसायमा पनि लागु हुन्छ । त्यही उखानलाई पच्छ्याउँदै आफ्नो कर्ममा रमाइरहेका छन् राज कार्की ।

सँधै हँसिलो चेहरामा देखिने उनी प्राय आफ्नो पसलमा आउने जो कोही ग्राहकहरुलाई मन्द मुस्कानसहित स्वागत गरेर मख्ख पार्दछन । काठमाडौंको नरदेविमा रहेको श्री राज कलेक्सन (सटिङ, सुटिङ, टेलरिङका संचालक हुन कार्की) । ‘सुट पनि पाइने खुशी पनि मिल्ने’ श्री राज कलेक्सनको नारै हो ।

शिक्षा क्षेत्रबाट करिअरको सुरुवात

पढाइमा अब्बल सावित भएका कार्की दुई दशक अघि करिअरको खोजीमा भौतारिएर जागीर खोजिरहेका थिए । त्यही सिलसिलामा उनले आफ्नो करिअर बौद्धिक क्षेत्रबाट सुरुवात गर्ने सोच बनाए । शिक्षा नै समाज परिवर्तनको पहिलो आधार भएको थाहा पाएका उनले नीजी स्कुलमा पढाउने योजना बनाए । केही समय स्कूलमा पढाएपछि उनलाई आफूले काम गरिरहेको स्कूलमा लगानी गर्ने सोच आयो । र लगानी गर्ने निधो गरे ।

नयाँ बानेश्वरमा रहेको एउटा स्कूलमा उनले लगानी गरे । त्यहाँ विद्यार्थीको सर्वागिण विकासका लागि मरिमेटेर काम गरे उनले । केही समय संचालक प्रिन्सिपलसमेत भइसकेका उनले स्कूललाई एउटा हाइटमा पुर्याएर विविध कारणले विदा भए । आफ्नो बाटो आफै तय गर्नुपर्छ भनेर नयाँ व्यवसाय सुरु गर्ने सोचमा रहेका उनको एक जना सटिङ, सुटिङ व्यवसायीसँग भेट भयो र उनले नयाँ व्यवसायको सुरुवात गरे ।

त्यसपछि जन्मियो श्री राज कलेक्शन (सटिङ, सुटिङ एण्ड टेलरिङ) । डेढ दशक बोर्डिङ स्कूल सञ्चालन गर्ने अवसर पाएका उनले थुप्रै नीजी स्कूलका प्रिन्सिपललाई चिनेका थिए । त्यतिवेलाको चिनजानलाई उनले अहिले क्यासमा परिणत गरिरहेका छन । त्यही सम्बन्धलाई बैंकमा मुद्यती खातामा जम्मा गरेको रकमको रुपमा अर्थयाइरहेका छन् ।

अत्याधिक जोखिम मोल्न उनलाई मन पर्छ । त्यही भएर उनले आफूलाई ज्ञान नभएको व्यवसायमा हात हाले । त्यसको मुख्य आधार थियो विभिन्न स्कूलका शिक्षक, प्रिन्सिपल । टेलरिङ पेशा प्रवेश गरिसकेपछि राजले पछि फर्केर हेर्न परेको छैन् । उनको व्यवसायले देशभर चर्चा पाएको छ ।

कलम चलाउने हातमा कैंची परेपछि..

कलम चलाईरहेका हातलाई कैंची समाउन परेपछि उनलाई केही समय निकै ग्राहो भएको थियो । आफ्नो अगाडि आएको समस्याको पहाडसँग जुध्न सिपालु उनलाई त्यो समस्यालाई दुर गर्ने आफ्नै तरिका थियो उनीसँग । सबैसँग हसिलो बोलेर मख्ख पार्ने उनले नयाँ विकल्प सोचे, त्यो थियो सहयोगीलाई साथमा लिएर समस्याको पहाड बन्छाउने । उनले त्यही गरे । तर फेरी अस्थायी रुपमा हटेको समस्याको पहाड बल्झिएर आयो ।

सहयोगीहरुको साथमा काम चलाउने बातावरण बनाएपनि त्यो केही समयका लागि मात्र भयो । आफ्ना अगाडि आइपुगेको पहाडलाई पन्छाउन उनले निरन्तर आत्मवल र आत्मविश्वासको प्रयोग गर्दै काममा दृढ संकल्प लिएर अगाडि बढे ।

केही समय टेलरिङ व्यवसायका सम्भावना बारेको अध्ययन गरेका कार्कीले व्यवसायमा भएका समस्यको बारेमा बुझ्ने अवसर पाए । यो व्यवसायमा गुणस्तरिय लुगा उपलव्ध नहुनु, समयमा डेलिभरी गर्न नसक्नु र ग्राहकले महङ्गो लुगा लगाउन बाध्य हुन मुख्य समस्या हुन । उनले यही समस्यालाई अवसरको रुपमा प्रयोग गरे र अन्यत्र भन्दा सस्तो, छिटो र गुणस्तरका लुगा सिलाउन थाले । त्यही भएर होला स्थापना भएको छोटो समयमा नै श्रीराज कलेक्सन देशका टप टेलरिङ मध्येमा पर्न थालेको छ ।

भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्रीराज कलेक्सनमा एक पटक सेवा लिएका ग्राहक फर्कि–फर्कि आउने गरेको कार्कीको भनाई छ । उनको व्यवसाय फस्टाउने अर्को मुख्य कारण भनेको उनी पसललमा आउने हरेक ग्राहकहरुलाई परिवारकै सदस्यका रुपमा लिन्छन् । र उनले सामान मात्रै होईन ग्राहकलाई खुसी पनि बेच्छन् ।

‘कुनै पनि पेशा सानो वा ठूलो हुँदैन । मानिसको सोंचले पेशालाई परिभाषित गर्छ । प्रतिष्ठित भनिने पेशा पनि घरमा सुतेर गरिँदैन ।’ उनी भन्छन, ‘छोटो समयमा मैले राम्रो व्यवसायीक सुरुवात गरेको छु । कोरोनाले रोकेर मात्र, काठमाडौंका बिभिन्न स्थानमा ब्राञ्चहरु खोलेर अझै व्यवसाय विस्तार गर्ने सोच बनाएको छु ।’

उनले यो व्यवसायसँग राजनीतिमा पनि सानोतिनो ठाउँ बनाएका छन । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सचिवसमेत हुन् ।

‘सोच्ने हो भने त सबै पेशा गर्ने व्यक्ति आफैमा खुसी छैनन् ।’ राज भन्छन्, ‘खुशीमा भौतारिएकाले आफ्नो पेशामा दुःखी भएकाहरुको भीड पनि समाजमा कमी छैन ।’उनलाई लाग्छ, लगानी भन्दा ठूलो मानिसको शाहस, विश्वास, लगनसिलता र मिहिनेत नै हो ।

‘म आफूलाई रुवाएर अरुलाई खुसी बनाउन चाहने मानिस हो ।’ उस्तै हँसिलो चेहरामा उनले सुनाए ‘मेरा दुस्मनहरु छैनन् । किनकी म सबैलाई हसाउँछु । सबैलाई खुसी बनाउँछु ।’ उनलाई लाग्छ, जो मानिसमा डाह, इष्र्या, लोभ हुँदैन, त्यो व्यक्ति नै संसारको खुसी व्यक्ति हो ।

२०७७ कात्तिक २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्