News Portal

क्रसरमा आगजनी गरेको आरोपमा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३६८ पटक
काठमाडौं

भदौ ३, काठमाडौं – सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। उनीमाथि आगजनी मुद्दा जिल्ला अदालतमा छ।

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो। काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वाेच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो। लगत्तै अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए। उनी पाठकको गाडीमा सर्वाेच्च अदालतबाट निस्किएका थिए। पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको हो।

कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए। आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको िथयो। आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ। प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ। बिश्वकर्मा पूर्व मन्त्री समेत हुन्।

सोही मुद्दामा उनलाई अदालत पेश गर्न लागिएको हो। अदालतले उनको बयान लिएर थुन्ने वा छाड्ने आदेश दिनेछ।

पक्राउ परेका प्रकाण्डलाई अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले बताए।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्