News Portal

अंग्रेजीमा एमफिल गरेका धमला कृषिमा रमाउँदै

रमेश लामिछाने
२७१ पटक

काठमाडौं – मोलुङ १ ओखलढुंगाका ‘भोजकुमार धमला’ शैक्षिक क्षेत्रमा चलेको नाम हो । उनी शिक्षा र कृषिलाई संगसँगै अगाडि बढाइरहेका छन । जोरपाटी काठमाडौमा रहेको ‘जोन एकेडेमी’ लाई प्रिन्सिपलको रुपमा नेतृत्वदायी भुमिका दिइरहेका धमला किबी खेति गरेर कृषि क्षेत्रलाई पनि आफ्नो योगदान दिइरहेका छन ।

बाल्यकालमा कुनै महत्वपूर्ण सपना नसजाएका धमला बाटोमा हिड्दा हिड्दै शिक्षण पेशामा होमिएका हुन । २०५६ सालतिरको कुरा हो, उनी साथीसँग बाटोमा हिड्दै थिए उनको मनमा लाग्यो ‘अब जागिर खानपर्छ ।’ सँगै भएका साथीलाई यो कुरा सुनाएका उनले स्कूलमा पढाउने विषयमा छलफल भयो । र त्यही नै बेला बाटोमै रहेको स्कूलमा जागिरका लागि प्रबेश गरे ।

त्यही स्कूलको प्रबेश ढोका उनको जिन्दगीको नै प्रबेश ढोका बन्न पुग्यो । एक निजी स्कूललाई शिक्षक चाहिएको थियो र उनीहरुलाई जागिर । अंग्रेजीमा अब्बल भएका उनी र गणितमा अब्बल भएका उनका साथीले त्यही दिनदेखि आफ्नो जागिरे जिन्दगीको सुरुवात गरे । विराटनगरमा रहेर स्कूलमा पढाउँदै उनले अंग्रेजीमा स्नातकसम्मको अध्ययन सकेर काठमाडौं प्रबेश गरे । घर सल्लाह विना अंग्रेजीमा मास्टर्स गर्न भनेर काठमाडौं होमिएका थिए उनी। पछि उनले मास्टर्स सकाएर अंग्रेजीमै एमफिलसम्मको अध्ययन गरे ।

काठमाडौं आएर उनले अध्ययपन पेशालाई नै निरन्तरता दिए । अहिले उनी स्कूलको नेतृत्वदायी भुमिकामा रहेर आफू जस्ता दर्जनौंलाई रोजगारी दिइरहेका छन । काठमाडौंको जोरपाटीमा रहेको जोन एकेडेमीका प्रिन्सिपलको कुर्सीमा विराजमान रहदै  कृषि कर्मलाई पनि उनले अगाडि बढाएर बेरोजगार युवालाई नेपालमै सम्भव छ भन्ने सन्देश दिइरहेका छन ।

कोरोना महामारीका विचमा पनि उनले स्कूल संचालन गरिरहेका छन । उनले भर्चुअल माध्ययमबाट कक्षा संचालन गरेर विद्यार्थीहरुलाई शिक्षा दिइरहेका छन । तर भौतिक उपस्थितिमा गरिने शिक्षणसिकाइ जत्तिको प्रभावकारी भर्चुअल माध्यम नभएको उनको भनाई छ ।

कृषिकर्म

मुल पेशा शिक्षणले जीवन बाच्ने आधार, सम्मान र आत्मसन्तुष्टि दिदादिदै पनि कसरी कृषि तिर पनि सम्लग्न हुन पुग्नुभयो ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हामी  कृषिप्रधान देशमा बसेपनि त्यो नामको मात्र कृषिप्रधान भएको छ । आम युबाहरुमा पढेलेखेका मान्छेले कुटोकोदालो गर्नुहुदैन भन्ने मानशिकता विकास भएको छ ।’ नेपाली समाज पढेलेखेकाले  कृषि गर्न हुन्न भन्ने मानिकताले ग्रसित भएका कारण आफूलाई  कृषिमै केही उदाहरणिय काम गर्नुपर्छ भन्ने सोच आएको उनको भनाई छ ।

करिब ८ बर्ष अघि १५ जना युबाहरुको एउटा समूह बनाइ सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा नेपालकै सबैभन्दा ठूलो किविखेतीको सुरुवात भएको हो । लामो समय युरोप बसेर फर्किएका दिनेश सिग्देल (जो अहिले यो किवि खेती समूहको अध्यक्ष छन्) को अनुभवलाई प्रयोग गरि उनले किवि खेतीको सुरुवात गरेका हुन ।

यो समुहले किबि खेती सुरु गर्दा इलाममा केही कृषकहरुले र दोलखामा डा. सुरेन्द्र पाण्डेको किविफार्म बाहेक अरु खेती थिएन। हाल नेपालका ४२/४३ जिल्लामा यसको बिस्तार भएको छ भने युबाहरु उनीहरुसँग सर–सल्लाह लिन र अध्ययन अबलोकन गर्न देशका विभिन्न ठाउँबाट आउने गरेका छन् । अध्यापनमा रुची भएका उनी कृषिमा पनि लगाब भएका कारण किवि खेतीमा आकर्षित भएका हुन । आफूले युबाहरु माझ प्रेरणादायी भुमिका खेल्न प्रयास गर्दै नेपालमै नवीन कामको सुरुवात गरेको भोजकुमारको भनाई छ ।

आम युबाहरुमा कृषिमा सम्भावना छैन र उत्पादन भएपनी त्यसको बजारिकरणका लागि नेपालमा समस्या छ भन्ने धारणासँग धमला सहमत छैनन् । किबिको हालको उत्पादनले नेपाली बजारको मागसमेत धान्न सकेको छैन भन्दै उनले यसको बजार राम्रो रहेको बताए । गुणस्तरीय उत्पादन दिदा बजारको राम्रो सम्भावना रहेको उनको बुझाइ छ। ‘नेपालमा बिदेश पलायन हुने र नेपालमा अबसरको कमि छ भन्ने बुझाइको कारणले यो समस्या आएको हो।’ धमला भन्छन्, ‘अबसर आफैले खोजी गर्ने हो। हामी पछाडि पर्नुको कारण अवसरलाई चिन्न नसक्नु हो । यसलाई तोड्न नवीन काम गर्नुपर्छ ।’

कुनै पनि काम गर्नका लागि परिपक्वताको आबस्यकता रहेको उनको भनाई छ । परिपक्वतासहित केही काम गर्ने हो र बिगतका अनुभवहरुलाई संगाल्दै हिजो भन्दा आज केही फरक गर्ने हो भने नेपालमै सम्भव रहेको धमला बताउँछन ।

‘पैसा छैन् भनेर नसुत, किनकि उठेकाहरुले तिमीलाई कुल्चेर हिड्नेछन्’ भन्ने भनाईलाई स्मरण गर्दै धमला भन्छन, ‘देश गरिब छ, म गरिब छु, मैले केही गर्न सकिन भन्ने सोच हटाएर नवीन कामको सुरुवात गर्नुपर्दछ ।  नेपालमा हरेक क्षेत्रमा राम्रो अवसर र सम्भवनाहरु छन । त्यसको समयमै पहिचान गरि सकारात्मक सोच राखि काम सुरु गर्नुहोस् । सफलता तपाईको वरिपरी घुमिरहेको हुनेछ ।’

 

२०७७ कात्तिक २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्