News Portal

टेम्पो चलाएर पेन्सन पकाएकी कमलाको संघर्षको कथा

रमेश लामिछाने
१३७ पटक

काठमाडौं – एउटा मानिसले आफ्नो जीवनमा आइपर्ने समस्या र चुनौतीहरुलाई कतिसम्म सामना गर्नसक्छ होला ? अझ जीवनको त्यस्तो परिस्थितिमा आफूसँगै उभिनु पर्ने हरुले समेत साथ छोड्दा उसले कस्तो बाटो रोज्छ होला ? हामीले हिजोआज दिनानुदिन आत्महत्याका समाचार सुन्दै आएका छौं । कतिसम्म बिवस मान्छेले त्यो भयानक कदम उठाउँछ होला ?

आजभोली हाम्रो बदलिएको दैनिकी, बढ्दै गएको मानसिक तनाब र अस्तब्यस्तताले मानिसलाई डिप्रेसन जस्तो गम्भीर रोगको सिकार बनाएको छ । आज हामी त्यस्तो एउटा संघर्षको कथा यहाँहरु माझ बाँड्दैछौ जसले तपाईंलाई जीवनमा कतिपनी बिचलित नभइ आफ्नो कर्ममा लागिरहन प्रेरणा दिनेछ।

महान दार्शनिक चार्ल्स डार्बिनले आफ्नो पुस्तक ‘द ओरिजीन अफ स्पेसीस्’ मा भनेका छन्, ‘यो पृथ्वी संघर्ष गर्नेहरुका लागि हो, जसले पारिस्थितिक पद्धतिसँग आफूलाई समायोजन गर्दै अघि बढ्न सक्छ उ यहाँ रहन्छ, जो त्यो प्रक्रिया भन्दा बाहिर जान्छ त्यसको अस्तित्व मेटिन्छ।’ यो पुस्तक नपढेपनि व्यवहारिक रुपमा यो सिद्धान्त बुझेकी प्युठान कि कमला श्रेष्ठले काठमाडौंमा टेम्पो चलाउन थालेको १९ बर्ष भयो।

बानेश्वरबाट चाबहिल जाने क्रममा भेटिएकी उनले आफूले यो काममा पेन्सन पकाएको बताइन् । ‘कुनै सरकारी जागिरमा थिएँ भने अब आनन्दले सरकारले दिएको सुबिधा खाएर जीवन चल्थ्यो भाइ’ उनले भनिन्, ‘के गर्ने आफू निजी क्षेत्रको मजदुर परियो ।’

त्यसो त सानैदेखि आफै केहि गर्नुपर्छ र छोरीमान्छेले काम गर्नुहुदैन भन्ने मान्यता चिर्नुपर्छ भन्ने सोच राखेकी कमलाको यो पहिलो काम भने होइन। उनले होटल व्यवसय र सिलाइमासमेत आफ्नो क्षमता प्रर्दशन गरिसकेकी छिन् । मध्ययम बर्गिय परिबारको सात सन्तानको बीचमा जन्मिएकी कमलालाई पढाईमा बहुत रुची थियो। अहिले जस्तो विद्यालय शिक्षा सहज थिएन। परिवारको आर्थिक हैसियत पनि छोराछोरी पढाउने खालको थिएन । तैपनी उनि भागेर कहिलेकाही स्थानीय सरकारी स्कुलमा जान्थिन् । यसो गर्दा कसरी पढाउदा रहेछन् भन्ने थाहा पाउनु बाहेक अरु उपलब्धि भएन।

‌जागिर खान भनेर आफ्ना ठूलोबुबाका छोरा (दाइ)सँग काठमाडौं आएकी कमलालाई त्यतिबेला पढ्न नपाएको मा दुःख लाग्यो, जतिबेला उनले एप्लाइ गरेको हरेक ठाउँमा सर्टिफिकेट मागियो। जागिर खानलाई योग्यता चाहिनेरहेछ भन्ने बुझेपछि यो बिरानो सहरमा उनीसँग कुनै विकल्प बाँकी रहेन। त्यसैले तिनै दाइले संचालन गरिरहेको होटलमा सहयोग गरेर बस्न थालिन् । पछि अन्तै घर बनाउने भनेर ती दाइले होटल कमलालाई जिम्मा लगाएर गए ।

त्यहि होटल चलाउदै गर्दा कमलाको प्युठानका एकजना मानिससँग बिबाह भयो। कमलाले दुई छोरा जन्माइन् । त्यसपछि उनको बैबाहिक जीवन सुखद रहन सकेन। काम गरेर खानुलाई नराम्रो मान्ने, अरुका कुरा सुन्ने आदि भएका कारण श्रीमानसँग उनको सम्बन्ध छोडपत्रसम्म पुगेर टुङ्गियो ।

अब उनका अगाडि चुनौतीको एउटा सिङ्गो पहाडनै उभियो। साना दुई छोराहरुको बाबु आमा दुबै आफै भएर जिम्मेवारी निभाउनु पर्ने भयो। काठमाडौ आएर सिलाइ सिकि त्यसलाई आफ्नो जिबिकोपार्जनको आधार बनाएकी उनलाइ दुई छोराहरु सम्हालेर सिलाइ गर्न कठिन लाग्यो । त्यो व्यबसाय छोडेर होटल नै चलाउन सजिलो होला भन्ने लागेर महाराजगन्जमा फेरी होटल चलाउन पुगेकी उनलाई त्यो पनि बच्चाकै कारण चलाउन सकिने भएन भन्ने लाग्यो।

यसैबिचमा उनले आफूजस्तै एक महिलाले अटो चलाइरहेको देखिन् । यिनले सक्छिन भने म पनि सक्छु होला भन्ने लागेर आफ्नो नातामा ज्वाइँ पर्ने एकजनालाई तेल आफूले हालिदिने सर्तमा सिकाइदिन अनुरोध गरिन् । १ दिनभर उनले राउन्ड लगाउन सिकाइदिए, ३ दिन चौरमा गएर आफैँ सिकिन् र लाइसेन्सको प्रक्रिया चालिन । लाइसेन्स आएको ३५ दिन नचलाउँदा राम्रो हुन्छ भन्ने नियम थाहा पाएपछि पुनः सिलाइ गरेर त्यो ३५ दिन कटाइन ।

उनलाई संयोगबस् एकजना साहुले अटो दिनेभए (त्यतिबेला अहिले जस्तो सफा टेम्पो थिएन) । आफ्ना दुई छोराहरुलाई उनले पढाउनको निम्ति एउटा होस्टेलमा भर्ना गरिदिइन् । त्यहि समयदेखि विभिन्न आरोहअबरोह पार गर्दै आजसम्म निरन्तर टेम्पो चलाइरहेकी छिन् । उमेर हुँदा १÷२ ओटा टेम्पो आफू किन्न पाए हुन्थ्यो भन्ने सोच आएपनि अहिले भने त्यो सोच नरहेको बताउँछिन् । आफ्नो दैनिक गुजारा र छोराहरुको पढाईमा खर्च गर्दागर्दै त्यो मौकानै नपाएको उनको भनाइ छ।

टेम्पो चलाएरै आफ्ना छोराबुहारीलाई मास्टर्ससम्म पढाएकी कमला आफ्ना छोराहरुले आफूले जस्तो दुःख भोग्न नपरोस् भन्ने चाहन्छिन् । उमेर हुन्थ्यो र अहिले जस्तो शिक्षाको सहज पहुँच हुन्थ्यो भने आफूले आर्मी, पुलिस वा लोकसेवा तयारी गर्थें र सरकारी जागिर खान्थेँ भन्ने उनको अधुरो चाहना छ। आजकलका युवायुवतीले सानासाना समस्यामा आफ्नो जीवन बर्बाद भो भन्ने सोच राखेको देख्दा कमला ती सबैलाई आफ्नो दुःख को कथा बाँड्न चाहन्छिन। आफूले त्यसरी हार मानेको भए आज आफू र आफ्ना छोराहरु यो स्थानमा हुदैनथे भन्ने उनको बुझाइ छ।

आफ्नो देशमा केही गर्न सकिन्न भनेर विदेश पलायन हुने युवायुवतीहरुको सोच कमलालाई मनपर्दैन। अझ आजकल छोरीहरुले समेत राम्रो शिक्षा पाउने हुँदा उनिहरुलाई समेत अरुमा निर्भर नहुने वा आत्मनिर्भर बन्ने अबसर प्राप्त भएको उनी बताउछिन् । काम केही नपाए यहाँ नै बरु तरकारी खेती गरेर खान सकिने उनको भनाइ छ। यसको मतलब बिदेश जानु हुदैन भन्ने होइन। हामी कुवाको भ्यागुता बन्नु पर्छ भन्ने होइन। तर डलर कमाइन्छ भन्दै विदेशमा जुनसुकै काम गर्न तयार हुने तर यहाँ भएका अबसरलाई लत्याउने गर्नुहुदैन भन्ने हो। काम सानोठूलो हुँदैन र श्रमलाई सम्मान गर्नुपर्छ भन्ने हाम्रो युवापिँडीले बुझ्न जरुरी छ।

सरकारले पनि आफ्ना नागरिकलाई परेको समस्याको हेरविचार गर्दियोस् भन्ने कमलाको चाहना छ। यती लामो लक्डाउन हुँदा १ महिनाको भाडा पनि छुट नपाएको गुनासो गर्दै आम्दानी नहुँदा त्यो समयमा बाँच्न सार्है कठिन भएको र पहिलेजति कमाइ नहुँदा कति साथीहरू त यो पेशाबाट नै बिस्थापित भएको गुनासो उनले गरिन् । सरकारले यस्तो जटिल अबस्थाको लागि उपयुक्त योजना ल्याएर ब्यबस्थापन गर्न सके जनहितको काम हुने उनी ठान्छिन्।

अन्त्यमा, आफुले पाएको शिक्षाको अबसरलाई सदुपयोग गर्दै ब्यबहारिक भएर ठोस योजनाका साथ आफै केही गर्ने प्रयास गर्न आम युबाहरुलाई कमला आग्रह गर्छिन् ।

२०७७ कात्तिक २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्