
काठमाडौं – आजबाट युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला भएको छ । कम्पनीको ८ लाख ७३ हजार ९ सय १० कित्ता आईपिओ निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेको छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जोडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
२०७७ मंसीर ३ गते प्रकाशित
