News Portal

मध्यरात राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली, ओलीको प्रस्ताव ठाडै अस्वीकार

मोटिभेटन्यूज संवाददाता
२९१३ पटक

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली मध्यराती राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन । ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका हुन ।

पार्टीभित्रको बहुमत आफूविरुद्ध प्रयोग भए संसदीय दलमा मात्र संख्या पुर्‍याएर नयाँ दल बनाउने प्रस्ताव लिएर शीतलनिवास पुगेका ओली लामो छलफल पछि रित्तोहात फर्किएका छन् । पार्टी फुटाउन विद्यमान कानुन बाधक भएपछि राष्ट्रपतिलाई गुहार मागेर पार्टी फुटाउने अध्यादेश ल्याउने तयारीमा रहेका ओली भण्डारीले तत्काल त्यो काम नगर्न भनेपछि रित्तोहात फर्किएका हुन ।

अहिलेको कानुनअनुसार संसदीय दल र पार्टी केन्द्रीय कमिटी दुवैतर्फ ४० प्रतिशत आवश्यक पर्छ । त्यसैले ओलीले संसदीय दलमा मात्र न्यूनतम ४० प्रतिशत पुर्‍याएर पार्टी विभाजन हुन सक्ने कानुन ल्याउन खोजेका छन् । त्यसका लागि मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिबाट अध्यादेश जारी हुन सक्छ । यो विकल्पमा ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गरेका छन् । तर, राष्ट्रपतिले सकेसम्म पार्टी विवाद मिलाउन र आवश्यक परे संसदीय दलमा बहुमत साबित गरेर बस्न प्रधानमन्त्रीलाई सुझाब दिएकी छिन् । यसबाहेक संसद् विघटनको विकल्पलाई लिएर पनि प्रधानमन्त्रीले राष्ट्रपति र कानुन व्यवसायीसँग संवाद गरेका छन् ।

त्यसो त नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव प्रस्तुत भएपछि उत्कर्षमा पुगेको विवाद व्यवस्थापन गर्न राष्ट्रपति विद्या भण्डारीले अघि सरेकी छिन् । उनले मंगलबार साँझ शीतलनिवासमा नेकपा अध्यक्ष प्रचण्डसँग दुई घन्टाभन्दा लामो छलफल गरिन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेटेका थिए । फर्किएपछि पनि उनले भेटको विषयवस्तुबारे नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

सचिवालयका एक नेताका अनुसार प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न राष्ट्रपतिले प्रचण्डलाई आग्रह गरेकी थिइन् । ‘प्रचण्डले भने आफूले प्रस्तुत गरेको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुने र पार्टी कमिटीले गर्ने निर्णय सबैले स्वीकार गर्नुपर्ने मत राख्नुभएको बताउनुभएको छ,’ ती नेताले भने ।

उनका अनुसार एकताका साथ अघि बढ्न प्रचण्डलाई सुझाब दिए पनि गहिरिएको संकट समाधान गर्न राष्ट्रपतिबाट पनि कुनै ठोस प्रस्ताव आएको थिएन । सचिवालयका नेताले भने, ‘दुईजना मिलेर पार्टी एकता गर्नुभो, त्यसैले अहिलेको अवस्थामा पार्टीको विवाद समाधान गरेर एकताका साथ अगाडि बढाउने जिम्मेवारी पनि तपाईंहरूको काँधमै छ भनेर उहाँले मिलाउने प्रयास गर्नुभएको जानकारी प्राप्त भएको छ ।’

 

२०७७ मंसीर ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्