News Portal

२८ बर्षिय युवाको लोभलाग्दो सफलताको कथा

रमेश लामिछाने
९८८ पटक

काठमाडौं – एउटा भनाइ छ, ‘सफल हुनका लागि उमेरको कुनै हदबन्दी हुँदैन ।’ यहाँ व्यक्तिहरु कोही जीवनभर संघर्ष गरेर अन्त्यमा सफल हुन्छन् त कोही सुरुवातदेखि नै सफल भएको पाइन्छ । बरु मानिसले कुनै पद प्राप्त गर्नका लागि कति त्याग र परिश्रम गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । निरन्तर कुनै कुरामा लागिरहने स्वभाव भएको मानिसले एकदिन सफलताको त्यो शिखर अबस्य चुम्छ। प्रसिद्ध चाइनिज व्यवसायी तथा अलिबाबा डट कम का संस्थापक ज्याक माँ आफूमा भएको त्यही अथक प्रयास गर्ने बानी र नवीन काम गर्ने सोचका कारण आज बिश्वका धनी मानिसहरुको सूचीमा परेको बताउँछन् । यस्ता त्याग र प्रयासका कथाहरु हाम्रै वरिपरी पनि प्रशस्त भेटिन्छन् ।

त्यस्तै एउटा उदाहारण हुन् काठमाडौंको बत्तिसपुतलीमा रहेको बिग फुड्ल्याण्डका संचालक प्रदिप बस्नेत । बिग फुड्ल्याण्ड पुग्ने जो कोहिलाई पनि अचम्म लाग्न सक्छ किनकी बस्नेत उमेरले जम्मा २८ बर्षका भए । उनको यो नेतृत्व र कुशल व्यवस्थापन सबैलाई लोभलाग्ने खालको छ । आफ्ना उमेरका कति साथीहरु काम छैन भनेर क्यारम्बोर्डका गोटी र चिया पसलमा गफिरहँदा मेलम्ची नगरपालिका १३, फटकशिलाका बस्नेत भने आफै अबसरको खोजी गर्दै यती ठूलो लगानी भएको होटलको प्रमुख ब्यबस्थापक भएका छन् । आफ्नो पैत्रिक सम्पतिको लगानी त्यहाँ भएर नभई आफ्नै पौरखले यो स्थानमा आइपुगेका बस्नेतको संघर्षको कथापनि उतिकै रोचक छ।

ग्रामीण भेगमा मध्ययम बर्गिय किसान परिवारमा जन्मिएका बस्नेत एसएलसी सम्मको अध्ययन गर्दा गाउँमै बुबाआमालाई खेतीपातीको काममा सघाएर बस्थे । गुजारामुखी खेती अबलम्बन गरेको परिवारले सिमित जमिनमा गर्ने खेतीले २ छाक टार्नुबाहेक अरु केही गर्न सम्भब थिएन । त्यही कारण एसएलसी को परिक्षा सकाएर उनी अबसरको खोजिमा काठमाडौं छिरे। काठमाडौंमा न चिनेजानेको कोहि थियो, न आफू भिजेको ठाउँ । यो सहरमा उनले गर्नसक्ने केही भएन। खोजीगर्दै जाँदा गाउँका अन्य ७ दाजुभाइहरु यसैगरी आफ्नो आफ्नो गुजारा चल्ने काम गरेर एउटै कोठामा बसेको थाहा पाए। केही समय उनी पनि तिनै साथिहरु सँग बसे ।

कामको खोजिमा काठमाडौं छिरेका उनलाई एकजना चिनजानको साथीले चाबहिलको एक नेवारी खाजा घरमा जागीर लगाइदिए । होटल लाइनमा केही नजानेका उनले भाँडा माझ्नु बाहेकको विकल्प थिएन । मासिक १ हजार २ सयमा उनले भाँडा माँझेर आफ्नो करियरको सुरुवात गरे । कडा मिहिनेत र अनुशासित भएर काम गरेका उनलाई होटल मालिकले केही महिनामा नै बढुवा गरिदिए । त्यसपछि उनले किचेन र वेटरको कामपनि गर्न पर्ने भयो ।

चैत महिनामा काम सुरु गरेका उनको असारमा एसएलसीको रिजल्ट आयो । एसएलसीमा राम्रो नतिजा ल्याएपछि हुँदा खादाको जागीर छोडेर पढ्न भनेर फेरी गाउँ फर्किए । गाउँमा पढ्दैगर्दा उनलाई घरको आर्थिक स्थितिले बढी पिरोल्न थाल्यो। सँगैका धेरै साथीहरु कोही विदेश जाने, कोही सहरतिरै काम गर्ने त कोहिले गाउँमै पढाउने काम पाएपछि उनलाई पनि आफू पढ्ने भनेर मात्र बसिरहन मन लागेन। अझ साथीहरू सुकिला मुकिला भएर हिड्ने र राम्रा मोबाईल बोक्ने गर्न थालेपछि पुनः एकचोटी कमाउनतिर लाग्ने सोच उनको मनमा पलायो।

सहरतिरै पढ्छु बरु भनेर उनी पुनः काठमाडौं आए। तिनै साथीहरूसँग बस्ने व्यवस्था गरे। यतिबेला उनले वेटरको काम अलि सजिलो गरि पाए। धुमबाराहीमा रहेको स्टार फुड्ल्याण्डमा मासिक १ हजार ८ सय पाउने गरि वेटरको काम सुरु गरे । उनका ती दिनहरु सार्है दुःखका थिए । ‘सर्भ गर्न नजानेर कतिचोटि बियरका बोटल फुटाएको छु र महिनाभरी काम गरेको तलबबाट ति बोतलको पैसा तिर्दा एकान्तमा गएर कति चोरी रोएको छु त्यो मलाई मात्र थाहा छ ।’ उनी भन्छन्, ‘ती दिन सम्झिदा अहिले पनि आँशु आउँछ ।’

स्टार फुड्ल्याण्डमा काम गर्दागदै पशुपति क्याम्पसमा भर्ना भए । करिब ८ महिना काम गरेर सामान्य सिप सिकेका उनले घर व्यवहार चलाउन समस्या भएपछि अर्को जागीर खोज्न थाले । काम खोज्दै गर्दा उनले महाराजगन्ज स्थित युनिभर्सल क्याफेमा वेटरकै काम पाए ।

उनको मेहनती बानी र कामप्रतिको लगाबले उनलाई २ बर्षमै त्यहाँको क्यासियर बनाइदियो । काम राम्रो पाएपनि उनको बास्तविक संघर्ष यहाँबाट सुरु भयो । चाबहिलमा बस्ने उनी आफ्नो ड्युटी सकाएर राति ११ बजे महाराजगन्जबाट हिड्दै चाबहिलसम्म पुग्न पथ्र्यो । यसरी हिड्दा कति दिन कुकुरबाट लखेटिएका थिए भने कति दिन बाटोमा हिड्दा कुटाई खानपनि परेको थियो । एक दिनको कुुरा हो उनी काम सकेर फर्किदै थिए बाटोमा केही लुटेराहरुले कुटपिट गरेर उनीसँग भएको मोबाइल, पैसा आदी लुटेर लगे । ‘मलाई त्यो दिन लुटिएको वा कुटिएको चिन्ता भन्दा पनि ज्यान जोगिएकोमा ज्यादै खुसी लागेको थियो ।’ उनी त्यो दिन सम्झिदै भन्छन्, ‘त्यो दिनदेखि म धेरै सजग भएँ । त्यसपछि त्यस्तो दिन कहिल्यौ दोहारिएन ।’ यसरी मध्यरातमा हिडेर गएरपनि भुइँमा सुत्नपर्ने बाध्यतामा थिए उनी ।

उनले आफ्नो करियरका लागि धेरै कुरा गुमाएका छन । त्यो मध्य एक हो स्नातक तह अध्ययन गर्ने उनको चाहना । होटलमा जागीर गर्दागर्दै उनले पढ्न पाएनन् । त्यो नै करियरका लागि गरेको उनको सबैभन्दा ठूलो त्याग हो ।

यस्ता चुनौतीहरुले दृढ इच्छाशक्ति भएका बस्नेतलाई सफलताको बाटोमा हिड्न रोक्ने कुरा भएन । कुनै पनि हालतमा यो क्षेत्रमा पूर्णदक्षता हासिल गरी एकदिन आफैं होटल संचालन गर्ने महत्वकाङ्क्षा पालेका बस्नेतको बिस्तारै अनुभव बढ्दै गयो र काममा निपूणता आउन थाल्यो। यसबिचमा उनले राजनीतिले मात्रै समाज परिवर्तन गर्न सक्छ भन्ने सुने र एउटा राजनीतिक पार्टीको सदस्यतासमेत लिए। पैसा नहुने मान्छेले राजनीतिमा समेत केही गर्न सक्दैन भन्ने बुझेपछि त्यो छोडेर फेरी आफ्नै कर्ममा फर्किए ।

त्यपछि खप्तडी बस्नेतहरुको बंशावली तयार पारिरहेको एक समूहसँग उनको भेट भयो । उक्त समूहले देशभरबाटै आफ्ना बंशावली तयार पारिरहेको थियो। सामाजिक काम गर्नेगरि मोरङमा दर्ता भएको यो समूहले आर्थिक गतिविधि पनि गर्ने तयारी गर्यो। यो समूहमार्फत जोडिएका केही दाजुभाइहरु मिलेर एउटा सहकारी चलाए । तर उनीहरुको सोच यो भन्दा केही ठूलो गर्ने थियो। यसरी करिब १ महिनामै डेढ करोड माथिको लगानी तयार गरी काठमाडौंको बत्तिसपुतलीमा बस्नेत इन्भेस्टमेन्ट ग्रुप (बिग) नाम राखेर एउटा फुड्ल्याण्ड जन्मियो। पुँजी हुनेले इन्भेस्ट गर्ने र अनुभव हुनेले त्यो पुँजीलाई काममा लगाउने मापदण्ड बनेपछि अनुभवका आधारमा आफूपनि लगानीकर्ता रहनेगरी बस्नेत त्यसको प्रबन्ध निर्देशक बने । ८ बर्ष काम गरेको अनुभव भएका उनले युनिभर्सल क्याफेबाट विदा लिएर आफ्नै लगानीमा संचालित फुड्ल्याण्डको मालिक बने ।

उनको नेतृत्वमा रहेको बिग फुड्ल्याण्डलाई उत्कृष्ट बनाउन निरन्तर प्रयास गरिरहेका छन् । सरसफाइ, खानाको गुणस्तर, उचित शूल्क र सर्भिसमा विशेष ध्यान दिने उनी हरेक दिन बिहान आफ्ना सहकर्मीहरुलाई के र कसरी काम गर्ने भनेर सम्झाउँछन् । साथै किचेनको नियमित अनुगमन गर्छन् । आफ्ना ग्राहकको सन्तुष्टि नै आफ्नो सफलता ठान्ने बस्नेत आफूहरुले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने बताउँछन् ।

आफूले एउटा कामदार भएर काम गर्नुभन्दा गार्हो व्ययवस्थापन गर्न हुने रहेछ भन्ने कुरा अहिले आएर बुझेको बस्नेतको भनाई छ । उनी यो ब्यबसायमा अबसर र चुनौती दुबै देख्छन् । ‘उसले कमायो, अब म पनि यहि काम गर्छु भनेर यो क्षेत्रमा आउनेको भिड ठूलो छ ।’ उनी भन्छन्, ‘त्यसरी केही नबुझी लगानी गर्न आएकाहरु समयक्रममा लगानी डुबाएर विस्थापित भएका थुप्रै उदाहरण छन् । त्यही भएर राम्रो अध्ययन गरेर मात्र लगानी गर्दा त्यसले राम्रो प्रतिफल दिनसक्छ ।’ टीमवर्कलाई होटल सफल हुनुको प्रमुख कारणका रुपमा उनी लिन्छन् ।

हाल चरण–चरणमा भएको लकडाउन र कोरोनाको त्रासका कारण व्यवसाय संचालनमा केही कठिनाई भएको उनको भनाई छ । स्टाफ खर्च, घरभाडाको व्यवस्थापन मात्रै समस्या नभई व्याङक्वेटहलहरु नचल्दा आम्दानीको ठूलो स्रोत रोकिएको छ । भुकम्पले थलिएको नेपाली अर्थतन्त्र उठ्न नपाउदै कोरोना महामारी आएको कारण पर्यटन र होटल व्यवसायमा नराम्रो प्रभाब परेको छ । उनले १५ जनाको स्टाफ कटाएर अहिले ८ जनामा सिमित गरेका छन ।

सरकारले यो विषम परिस्थितिमा आफूजस्ता युबा व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न केही सहुलियत दिए हुन्थ्यो भन्ने उनको चाहना छ। ब्याज अनुदानसहित केहि समयका लागि ऋण दिएमा आफूहरु अहिले टिक्ने वातावरण बनाउने र स्थिति सहज हुने उनको बुझाई छ ।

जसरी एउटा हाते लेन्सले निरन्तर घाममा राखिरहदा केही मिनेटमा कागज जलाउछ, त्यसरि नै युबाहरु एउटै बाटोमा निरन्तर लागिरहदा सफल हुने बस्नेतको भनाइ छ। आफूले जे गरिन्छ, त्यसमै रमाइलो मानेर पूर्ण सन्तुष्टि र लगनका साथ काम गर्ने हो भने सफलतालाई आफ्नो दास बनाउन सकिने तर्क उनको छ । ‘खोलाको एउटा ढुङ्गापनि राम्रो आकार लिनका लागि हजारौं ठक्कर खाएको हुन्छ’ त्यस्तै मानव जिबन सार्थक बनाउनलाई हामी पनि कयौं चुनैतिहरुसँग जुध्नुपर्छ । जागिर खाने भन्दा पनि आफै उद्यमी बनेर अरुलाई समेत रोजगारी दिने तर्फ बेलैमा सोचौँ भन्ने सन्देश उनी आम युबाहरुलाई दिन चाहन्छन् ।

२०७७ मंसीर ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्