News Portal

साझाकी सुन्दरी ‘रेजीना’

रेनुका बुढाथोकी
४१४ पटक

काठमाडौं – कोरोनाकालमा लाखौंले रोजगारी गुमाएका छन् भने हजारौंको व्यवसाय चौपट भएको छ । रोजागारी गुमाएकाहरुको त कुरै छोडौ रोजगार नपाएर भौतारिएकाहरुको पिडा पनि सामान्य छैन् । कयौं युवाहरु नेपालमा जागीर छैन् भन्दै विदेश पलाएन भइरहेका छन् भने धेरै युवा वेरोजगार छन् ।

मास्टरको सर्टिफिकेट सिरानीमा राखेर जागीर पाइएन भन्दै देशलाई सराप्नेहरुको जमात पनि ठूलै छ । सानो काममा आँखा नलगाउने र उनीहरुले सोचेको काम नपाउने हुन्दा रोजगार दाताहरुले कामदार नपाउने र युवाले जागीर नपाउने समस्या नेपालको पुरानो रोग हो । तर संखुवासभाकी रेजीना बस्नेतलाई भने यो समस्या छैन् । उनी कामलाई सम्मान गर्दै नेपाल सरकारको समेत स्वामित्व रहेको साझा यातायातमा सह–चालकको रुपमा काम गर्दै बेरोजगार युवाहरुलाई काम सानो÷ठूलो हुँदैन भनेर सन्देश दिइरहेकी छिन । सार्वजनिक यातायातमा महिला भएर पनि सह–चालकको रुपमा काम गर्दै समाजमा उदाहारणीय पात्र बनेकी छिन् रेजीना ।

विहान ७ बजेदेखि सुरु हुन्छ उनको ड्युटी । प्राय नयाँ बसपार्कको रुटमा भेटिने उनी राती ८ बजेसम्म काम गर्छिन् । आजभन्दा तीन बर्षअघि साझा यातायातमा एक मात्र महिला सह–चालकको रुपमा प्रवेश गरेकी उनलाई पहिला पहिला काममा असहज हुने गरेको बताउँछिन् । ‘सुरुमा लाज लाग्थ्यो, धेरैले जिस्काउथे तर पनि काम गर्नपर्ने बाध्यता भएकाले यी सव कुरालाई पचाउँदै गए,’ मोटिभेट न्यूजसँगको कुराकानीमा उनी भन्छिन्, ‘अहिले यी सब कुरा सामान्य भइसकेका छन् । मेरा सहकर्मी साथीहरु, अफिसका कर्मचारी सर–म्यामहरुको सहयोग र प्यासेन्जरहरुको हौसलाले आजभोली काम गर्न रमाइलो लाग्छ ।’

उनीहरुकै साथ, सहयोगका कारण साझा यातायातमा लामो समय काम गर्न पाएको र अहिले बानी परिसकेको उनको भनाई छ । काम गर्दाका तीता मिठा अनुभवहरु छन् उनीसँग । बसमा चढ्ने यात्रुहरुलाई मन्द मुस्कानले स्वागत गर्दै सबैलाई समान व्यवहार गरेर सहज यात्रा गराउँछिन् उनी ।

गाडीभित्र हुने भिडभाडलाई पनि मधुर स्वरले सम्झाउँदै भिडलाई व्यवस्थापन गर्न खप्पिस छिन् रेजीना । सबैसँग राम्रो बोल्दै, राम्रो व्यवहार गरेर यात्राभर यात्रुलाई आनन्दपूर्ण र सहज यात्राको सारथी बनेकी उनी कहिले काँही राम्रो गर्दागर्दै पनि समस्या आउने गरेको बताउँछिन् । ‘म कहिल्यौं कसैलाई नराम्रो व्यवहार गर्दिन् । अफिसले पनि यात्रुहरुलाई सरल र नम्र बोलेर सेवा गर्न सुझाव दिएको हुन्छ । कसैले ठूलो स्वरमा बोलेको भनेर अफिसमा रिर्पोट गर्दापनि हामीलाई सस्पेन गर्ने नियम छ । त्यही भएपनि हामी नम्र व्यवहार देखाउँछौं,’ यात्राका क्रममा भएको घटनाहरुको स्मरण गर्दै रेजीना भन्छिन्,‘तर राम्रो गर्दा गर्दैपनि कोही मान्छेको स्वभाव राम्रो नपचाउने हुँदो रहेछ । त्यही भएर कोही–कोही सामान्य विषयमा पनि झगडा गर्न आउँछन् । तीन बर्षको विचमा ३÷४ ओटा त्यस्ता घटनाहरु घटेका छन ।’

‘कहिले भाडामा किचकिच गर्ने त कहिले टाढाबाट चढेको भएपनि नजिकै बाट चढेको भनेर झुट बोलेर भाडा दिदा झगडा पर्ने गरेको छ ।’ मान्छेका अनौठा व्यवहारहरु सम्झिदै उनी भन्छिन्, ‘कहिलेकाँहि महिला भएर होला केटाहरुले अपमानित व्यवहारसमेत देखाउँछन् । त्यस्तो व्यवहार देखाउने एक जनालाई त गालामा चट्कन समेत हानेकी छु ।’

तर सबै जनाको व्यवहार एउटै नहुने उनको भनाई छ । ‘समाजमा सबै एकै खालका मान्छे हुँदा रहेनछन् । कोही १ रुपैयाँका लागि पनि झगडा गर्न आउँछन् भने धेरै जना पैसा फिर्ता नलिएर पनि जान्छन्,’ यात्रुले टिप्स कतिदिन्छन् भन्ने मोटिभेटको प्रश्नमा उनी भन्छिन्, ‘टिप्स त दिन खोज्छन् । धेरैले पैसा फिर्ता लिन पनि खोज्नुहुन्न । तर मैले खुल्ला भएसम्म पैसा फिर्ता दिने गरेकि छु । आजसम्म १ रुपैयाँ पनि कसैबाट टिप्स भनर लिएकी छैन् ।’

सरल स्वभाव र मायालु बोलीका कारण उनी भएको गाडी चढ्नका लागि प्रतिक्षा गरेर बस्ने गरेको रेजीना सुनाउँछिन् । ‘कोही कोही त घण्टौं कुरेर मेरो गाडी चढ्न भनेर बस्नु भएको हुन्छ’, खुशी हुँदै उनी भन्छिन्, ‘उहाँहरुले यती धेरै माया गरेको देख्दा मनमा एक खालको आनन्द आउँछ । धेरै यात्रुहरुले मेरो काम देखेर साथ, सहयोग र हौसला प्रधान गर्नुहुन्छ र माया पनि देखाउनु हुन्छ ।’ अगाडी थप्छिन, ‘पहिचानबाट मिलेको काम केहि समयका लागि रहन्छ तर कामबाट मिलेको पहिचान संधैव रहन्छ भन्ने सन्देश पाएकी छु ।’

भविश्यका लागि धेरैले सपना सजाएका हुन्छन् । उनले पनि आफ्नो एउटा सानो सपना सजाएर राखेकि छिन् । ‘भविश्यमा पैसा कमाएर आफ्नै गाडी चलाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।’ उनी भन्छिन्, ‘यो सपना पुरा गर्न त्यति सजिलो भने छैन् तर म निरन्तर क्रियासिल भएर काम गर्दै जाँदा एक दिन अवस्य सफलता प्राप्त गर्ने छु भन्ने अठोट लिएकी छु ।’

‘म एक महिला भएर पनि समाजलाई चुनौती दिदै गाडीको सह–चालकको रुपमा काम गरिरहेकी छु । काम सानो ठूलो हुँदैन,’ मोटिभेटसँगको कुराकानीमा उनी भन्छिन्, ‘प्राय मानिसहरु यो भ्रममा बाँचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन्, भाग्यमा अडिएको हुन्छ तर म सफलतलाई माग्यमा जोड्दिन किनकी डोकोमा दुध दोहेर अडिदैन । संघर्ष गर्नैपर्छ ।’

युवाहरुलाई सन्देश दिदै उनी भन्छिन्, ‘जीवन सार्थक बनाउन पानी मात्र होइन् पसिनाले पनि नुहाउनु पर्छ । तसर्थ संघर्ष नै जीवनकमा सफलता प्राप्त गर्ने खुटकिला हो ।’

२०७७ मंसीर ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्