News Portal

जसले अरुको ज्यान बचाउन आफ्नो पढाई त्यागे…

रमेश लामिछाने
३०० पटक

काठमाडौ – प्रसिद्ध दार्शनिक थोमस जे वाट्सनलाई कसैले सोध्यो, ‘सफल हुनका लागि के गर्नुपर्छ ?’ उनले प्रश्नकर्तालाई उत्तर दिए, ‘असफल प्रयासहरु दोहोर्याइरहनु पर्छ र दोब्बर बनाउनुपर्छ, हाम्रो असफलतालाई शत्रु मान्ने बानीनै हाम्रो असफलताको प्रमुख कारण हो।’

वाट्सन हरेक असफलताबाट हामीले केही न केही सिक्ने धारणा राख्छन् । यदि यो सामान्य नियम हामिले बुझ्न सक्ने हो र थप परिस्कृत प्रयासहरु निरन्तर गर्ने हो भने सफलताले एकदिन हामीलाई पछ्याउने छ। तर हामीसँग कोसिस गर्ने बानीभन्दा बढी गुनासा हुन्छन् । अरुले आफ्ना लागि केही गरिदिएन, उसले केही सहयोग गरेन, मेरो भाग्यनै गतिलो छैन, अबिभाबकले सम्पती जोडेर राखिदिएनन् आदि। तर गुनासो गर्ने प्रशस्त ठाँउ हुदाहुदै पनि तिनलाई बेवास्ता गर्दै आफ्नै बलबुता र साहसबाट केही मानिसहरु सफल भएका छन् । ती मध्येका एक हुने उदयपुर कटारीका अमर मगर ।

काठमाडौको गौरिघाट खरिबोटमा रहेको मेट्स क्याफेका संचालक हुन् मगर। ४० बषिया मगरले यो क्याफे चलाउन थालेको १० बर्ष भयो । हामी उनको क्याफेमा पुग्दा उनी एकजना ग्राहकलाई केही सम्झाउदै थिए। पोलेको सेकुवा अर्डर गरेका ती ग्राहकलाई आफूले त्यो नबेच्ने गरेको बताउदै थिए। ‘बिबिध कारणले पोलेको सेकुवा स्वास्थ्यबर्धक हुँदैन । यदि मैले यस्ता आइटम मेरा ग्राहकलाई खुवाएँ भने ग्राहकको स्वास्थ्यमा प्रतिकुल असर पर्छ र उहाँहरु अर्को दिनबाट आउनुहुन्न ।’ किन सेकुवा नबेचेको भन्ने हाम्रो प्रश्नमाउनले अगाडी भने, ‘ग्राहकलाई जिब्रोको स्वादसँगै स्वास्थ्यको पनि ख्याल गर्न सम्झाएर अरु आइटम सर्भ गर्छु ।’, सरसफाइ र समानको गुणस्तर मेट्स क्याफेको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

आज सफल व्यवसायीका रुपमा उदायका मगरको बिगतको संघर्ष त्यो भन्दा बढी प्रेरणादायी छ । आमा सानैमा बितेपछि उनी र ५ भाइबहिनीको जिम्मेवारी उनका बुबाको काधमा आयो। वनमा गएर दाउरा काटेर त्यो दाउरा बेची परिवार पाल्ने उनको बुबाको पेशाले उनीहरुलाई पेटभरी खानपनि मुस्किल पर्थ्यो। सुन्दा कुनै दन्त्यकथा जस्तो लाग्ने यो वास्तविकताले नै अमरको सफलताको जग बसालेको हुनुपर्छ ।

२०५२ सालमा एसएलसी दिएका उनी त्यो बर्ष सफल हुन सकेनन् । त्यसको एक बर्षपछि उनले त्यो फलामे ढोका फोरे। संगै एसएलसी दिएका साथीहरू जनकपुर, धरान, बिराटनगर वा काठमाडौं पढ्न भनी छिरे। उनीभने गाउँमै हलो जोतेर र बुबालाई दाउरा काटेर बेच्न सघाएर बसे । २ बर्षसम्म त्यसो गरेपछि उनमा जसरी पनि पढ्नपर्छ भन्ने सोच आयो र काठमाडौं छिरे । न त कोहि आफन्त न कोहि चिनाजानी यो बिरानो सहरमा कता जाने भनेर बालाजुमा अलपत्र भइरहेको बेला भाग्यले उनको भेट आफ्नो गाउँ नजिकैको एकजना चिनजानको साथीसँग गराइदियो। उनले अमरलाई आफ्नो कोठामा लिएर गए र सँगै राख्न राजी भए। तिनैले अमरलाई ज्यामीको काम पनि मिलाइदिए । १७ बर्षको कलिलो ज्यान, दुब्लो र कमजोर शरीरले उनलाई त्यो काम गर्न साथ दिएन। उनलाई काम गर्न गाह्रो भएपछि ६ महिनामै काम छोड्न मन लागेको थियो । तर उनलाई पेट पाल्नकै लागि काम गर्नपर्ने बाध्यता थियो । त्यो काम उनले सकिनसकि एक बर्षसम्म गरे ।

यसरी काम गर्दैगर्दा उनले अर्को कामको अवसर पाए, एयरपोर्टको एक रेस्टुरेन्टमा भाँडा माझ्ने । त्यो काम ज्यामी कामभन्दा निकै सजिलो थियो । यसरी काम गर्दा कहिलेकाही किचेनमा पनि सघाउने गर्थे उनी । त्यसको छ महिनापछि उनलाई स्टाफ कुक बनाएर आफ्नो होटेलमा लाने प्रस्ताव सहित एकजना होटेल संचालक उनलाइ भेट्न आए। अब उनी बौद्धस्थित होटेल पद्मामा कुकको काम गर्न थाले।

अङ्ग्रेजी बोल्न सार्है रहर लाग्थ्यो उनलाई । बौद्ध आफैमा पर्यटकीय क्षेत्र, त्यसैले त्यहाँ वेटरको भुमिका दिनुस भनेर होटेल मालिकलाई उनले आग्रह गरे। र त्यहीँबाट उनले २ थरी काम सिक्ने र आफूलाई परिक्षण गर्ने मौका पाए। यसपछि पनि उनले काठमाडौंका विभिन्न ठाँउ र होटेल–रेस्टुरेन्टहरुमा काम गरे । आफू दक्ष भइसकेपछि २०६० सालमा साउदी अरब पुगेका उनी राम्रो तलब र सेवा सुबिधा हुदाहुदै पनि ५ बर्षभन्दा बढी विदेश बस्नुहुन्न बरु आफ्नै देशमा सिकेको सिपलाई प्रयोग गर्नुपर्छ भनेर फर्किए । त्यसपछि सुरु भएको हो हालको मेट्स क्याफे।

बिगतलाई फर्केर हेर्दा जे–जे गर्नुपरे पनि राम्रै फड्को मारिएछ जस्तो लाग्छ उनलाई। बाल्यकालका दिन सम्झिदै उनी भन्छन्,‘बुबाले बेचेको एकभारी दाउराको १८ रुपैयाँ आउथ्यो, त्यो मूल्यले चामल नआउने भएकाले हामी सस्तो गहुँ र मकै किनेर खान्थ्यौँ। त्यहि गहुँ र मकैपनि आमा नहुदा पिस्ने, निफन्ने, पकाउने गर्न आउदैनथ्यो ।’ एउटा घरमा छोरीमान्छेको आवस्यकता कति हुन्छ भन्ने कुरा आफूले त्यतिबेला बाटै बुझेको उनको भनाई छ। त्यसमाथि उनीहरु अर्काको जग्गामा घर बनाएर बसेका थिए। नाजुक आर्थिक अवस्थाकै प्रसंगमा उनी भन्छन्, ‘आज मेरो छोरो ए लेभल पढ्दै छ, मेरो लागि त त्यो पनि ठुलो उपलब्धि हो।’

यो चरम दुःख र गरिबी बुझेका अमर शिक्षालाई सधैं महत्त्व दिन्छन् । एक हजार तीन सय तलब हुँदा विहे गरेका उनले आफ्नी श्रीमतिलाई पढ्न पद्म कन्या क्याम्पस भर्ना गरेका थिए । आफू जागिरबाट मिलेको ४ घण्टाको छुट्टीमा आर आर क्याम्पस पढ्न जान्थे । यद्यपी पर्याप्त समय दिन नसक्दा उनले प्लस टु पास गर्न सकेनन् । यो शिक्षाको अधुरो चाहना मनमा बोकेर बिदेशीएका उनी फर्किएर करिब १४ बर्षपछि पुनः प्लस टुमा भर्ना भए। त्यसपल्ट उनलाई हातमुख जोड्न कै लागि पढाई छोडनुपर्ने अबस्था थिएन र पास भए । त्यसपछि उनले सोही क्याम्पसमा अङ्ग्रेजी साहित्यमा स्नातक सम्मको अध्यन गरे।

अमरको जीवनको अर्को एउटा पाटो साच्चै उदाहरणिय छ। पढाईमा चरम रुची भएका उनले करिब २ बर्षअघि मास्टर्स पढ्नका लागि आर.आर क्याम्पस भर्ना भए । पहिलो सेमेस्टरको परीक्षा दिने तयारीमा रहेका उनले अरु कसैका लागि पढाइ छोडे। आफ्नो क्याफेको प्रमुख सेफको बुबालाइ ब्रेन हेम्रेजको समस्या देखिएपछि मानवीय नाताले र आफ्नै सहकर्मी भएको हिसाबले आर्थिक संकलन र अन्य सहयोग उनले गर्नुपर्ने भयो। ‘कि त मैले उसलाई समय दिएर आफूले क्याफे हेर्नुपर्यो कि उसलाई यता राखेर म अस्पताल बस्नुपर्ने भयो, त्यसैले कसैको ज्यानभन्दा मेरो पढाई ठूलो होइन भनेर बिचमै छोडेँ । म प्लस टु त त्यत्रो ग्याप राखेर सकेको मान्छे मास्टर्स नि सकौला नि कुनै दिन ?’ उनी अहिले पनि आफूलाई पढाई छोडनु पर्यो भन्ने दुःख नभएको सुनाउछन् । उनी अगाडि भन्छन्, ‘ति बिरामी आज गाउँ गएर काम गर्न सक्ने भएका छन् त्यो देखेर नै सन्तुष्ट छु।’

कोरोनाले पारेको असरको कुरा गर्दै उनी यसले घाटा पारेको मात्रै नभइ एउटा राम्रो पाठ पनि सिकाएको बताउछन् । धनी र मै ठूलो भन्नेलाई सबै समान छन् भन्ने देखाउनुको साथै गाउँघर के काम भनेर चटक्कै विर्सनेलाई दरो झापड मिलेको उनको धारणा छ।

अहिलेको युवापिडीले रातारात सफल हुने सोच उनलाई मन पर्दैन । यी युवाहरुमा धैर्य पटक्कै नभएकाले पनि उनीहरुमा समस्या देखिएको उनी बताउँछन् । म आफै जान्ने बुझ्ने छु भनेर अग्रजको कुरा नसुन्ने बानी हाम्रा युवाहरुमा छ तर उनीहरुले जीवन भोग्न र देख्न बाँकी धेरै छ। त्यसैले सबै युवाहरुलाई उनी धैर्यता, लगनशीलता, मेहनत र शिक्षाको उचित संयोजन गरेर आफ्नो रुची र क्षमता भएको क्षेत्रमा लाग्न आग्रह गर्छन् । आफूसँग विदेश गएर नफर्किएका साथीहरुले चिल्ला गाडी चडेको भएपपनि आफू देशमै बसेर कम्तिमा ७ जनालाई रोजगारी दिनसकेको उदाहरण दिदै उनी युवाहरुलाई देशमै अबसर खोज्न र विदेशमा सिकेको सिपलाई समेत यहीँ प्रयोग गर्न सुझाव दिन्छन् ।

२०७७ मंसीर १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्