News Portal

जसले नेपालको आकाशमा उडिरहेको पैसा देखे…

रमेश लामिछाने
४५७ पटक

‌काठमाडौं – तपाईं आफ्नो व्यवसायमा आफू कति खट्नुहुन्छ ? वा तपाईंले काम गर्ने ठाँउमा तपाईंको बोसले कति घण्टा काम गर्छन् ? सफल व्यवसायीहरु मध्य धेरैजना आफ्नो कर्मक्षेत्रमा आफैं निरन्तर लागिरहेर सफल भएका छन् । यस्ता ब्यक्तिहरु आफूले राखेका कामदार प्रति बिश्वास त गर्छन् तर आफू क्रियाशिल नभइ आफ्नो व्यवसाय सफल हुँदैन भन्ने मान्यता राख्छन् ।

त्यसो त यहाँ आफूले नेतृत्व मात्रै लिइदिए पनि पुग्छ भन्ने व्यवसायीहरुको पनि कमी छैन। सँगसँगै आफू टाइ सुट लगाएर कुर्सीमा बसिरहनु भन्दा आइपरेको काम गरेर अझ बढी सफल भइन्छ भन्ने अर्को पक्षको मान्यता छ। सोही मान्यता राख्ने एक युवा उद्यमी हुन् रामेछापका ओमराज श्रेष्ठ ।

सातदोबाटोमा रहेको युनिटी फुड क्याफेका संचालक हुन् श्रेष्ठ । उनले यो व्यवसायी सुरु गरेको १० बर्ष भयो भने होटल क्षेत्रमा काम गर्न थालेको १५ बर्ष भयो । हाल ३३ बर्षका उनी १८ बर्षको हुँदा काठमाडौं छिरे। आफ्ना दाइहरु पहिलेदेखि नै होटल संचालन गरेर बसेकाले उनी पनि त्यतै लाग्ने भए। आफ्नै दाइको होटल भएपनि उनी त्यहाँ भाँडा माझ्ने काम गर्थे। दाइ गोपाल श्रेष्ठले साहुको भाइ भयो भने बिग्रिन्छ तर कामदार भयो भने काम सिक्छ भनेर बबरमहलस्थित आफ्नो क्वालिटी फुड क्याफेमा भाँडा माझ्ने काम दिएका थिए। ७ महिना भाँडा माझिसकेपछि उनले त्यहिँ हेल्पर, कुक, वेटर, क्यासियर र भुइ पुस्ने काम क्रमैसँग गरे। यसरी १ बर्षभन्दा बढी बिताएपछि सबै काम जानेकाले अब आफनै काम गर्नुपर्छ भन्ने उनलाई लाग्यो। यति बेलासम्म उनका भाइ टेक राज श्रेष्ठ पनि काठमाडौं आएर सोही होटलमा कुकको काम सिकिसकेका थिए। आफ्ना दाइहरुको प्रेरणा र भाइको साथ लिएर उनले ललितपुरको पाटन अस्पताल अगाडि युनिटी फुड क्याफे संचालनमा ल्याए।

जिन्दगीकै पहिलो व्यवसाय सुर गरेका उनलाई पहिलो दिनको व्यापारले निकै निराश बनायो। ४५ हजार मासिक भाडा र त्यतिनै स्टाफ खर्च आउने उक्त होटलको त्यो दिनको जम्मा व्यापार ३ सय ४५ रुपैया थियो । यसपछिका अरु दिन पनि त्यहि हाराहारीमा व्यापार भयो। निराश भएर उनी बेलुका दाइको कोठामा बस्न पुग्थे। उनका दाइ गोपाल श्रेष्ठले भनेको कुरा आज पनि उनी सम्झिन्छन् । ‘दाइले त्यतिबेला एकैदिन मालामाल व्यापार हुने भए सबैले गर्थे, व्यापारमा धैर्य गर्न सिक्नुपर्छ भन्नुभयो’, उनी भन्छन्, ‘होमराज दाइले त गजव व्यापार भएछ त सुरुमै भनेर हौसला दिनुभयो। यसरी चलाउदा करिव २ महिनासम्म पनि सुधारको कुनै संकेत नदेखिएपछि सबै स्टाफहरुले उनीहरुलाई छोडेर गए।

यसो हुँदा झनै राम्रो भएको भन्दै दाइहरुले अझै हौसला दिए। व्यापार कम हुने ठाँउमा स्टाफ नचाहिने र अझै खर्च जोगिने भन्दै आफै मिलेर काम गर्न दाजुहरुले सल्लाह दिए। बिहानै गएर दाजुभाइ मिली खानेकुरा बनाउनेसँगै सरसफाइ गर्ने र १० बजे मात्रै सटर खोल्ने गर्न थाले। यसो हुदाहुदै एकदिन यस्तो समय आयो जब पाटन अस्पतालका डाक्टरहरुले फोन गरेरै कुर्सी रिजर्भ गर्न थाले। व्यापारले आफ्नो उच्चतम बिन्दु छोयो।

त्यतिबेला उनीहरुले होटल चलाएको त्यो घर अलि कुनामा थियो । उनी भन्छन, ‘माग्नेले समेत नदेख्ने त्यो घरमा आफूहरुले व्यवसाय चलाएर देखाइदिएपपछि घरभेटीले छोरा जस्तै माया गर्न थाले । अब अन्त पनि व्यापार बिस्तार गर्नुपर्छ भन्ने सोच बनाएका उनीहरुलाई आफ्नै .घरभेटीले जावलाखेलमा आफ्नै घरमा नारायणघाटको तास एण्ड सेकुवा नामक होटल खोलेको र बिबिध कारणले चलाउन नसकेर बन्द गरेको थाहा भयो।

द्वन्द्व कालको त्यो समयमा माओबादी निकट केही कर्मचारीले युनियन बनाएर हिडेको र काम नगरी तलब मागेको हुदा १० जना काम गर्ने ३० जनालाई तलब खुवाउन पर्ने भएर बन्द गरेका रहेछन् । ५० लाख मोलेका घरभेटीले २५ लाखमै दिने भएपपछि ऊनीहरुले त्यो पनि किनेर चलाउन थाले। एकदुई चोटी पुराना समस्या आएपनि उनीहरुले विविध उपाय लगाएर त्यसलाइ मिलाए। आफ्ना काम गर्ने स्टाफहरुलाई समेत सेयर दिएर म साहु हु भन्ने भावना जगाइ सबै मिलेर चलाउन थाले। त्यो मेहनतको रङ् पनि देखियो र होटल राम्रो चल्न थाल्यो।

घरभेटीलाई उनीहरुले घरभाडा सम्झौता गर्न भने तर तिमिहरु छोराजस्ता मान्छेलाई किन चाहियो कागज जति बस्छौ चलाओ न भनेर छोडिदिए । आफूहरु गाउँबाट आएको सोझो मान्छे भएकाले भइहाल्छ नि भनेर चलाएको र पछि समस्यामा परेको उनी सम्झिन्छन। होटल चलेको १ बर्ष पुग्न नपाउदै घरभेटी को त्यो घरमा अंस मुद्धा पर्यो । ३५ दिनभित्र उक्त घर खाली गर्न पर्ने भयो । त्यतिबेला आफूहरुको २५ लाख डुबेको उनी सम्झिन्छन् ।

अर्को शाखा खोल्न सुकेधारा पुगेका श्रेष्ठ दाजुभाइ त्यहाँ पनि पराजित भए। मेघा फुड्ल्याण्ड नामक त्यहाँको क्याफेमा नि स्टाफलाई सेयर होल्डर बनाइ लगेका थिए उनीहरुले। त्यहाँ भने ग्राहक एकदम कम आउने भएपछि घाटा खाएरै बेचे ।

सबैतिरबाट असफल भएपछि उनीहरु फेरी पाटनमा रहेको फुड्ल्याण्डमा फर्किए । त्यो फुड्ल्याण्डमा पनि कसैको नजर लाग्यो । कसैले घरबेटीको छोरालाई ‘तेरो घरमा किन अरुले व्यवसाय गर्ने आफै मम बेच’ भनेर उचालिदिएका रहेछन् । त्यहाँ पनि खाली गर्न ३५ दिनेको सूचना आयो । आफूहरुले काम गरिरहेको ठाउँ छोड्न त क्षतिपुर्ती तिर्नुपर्छ भन्ने उनीहरुको मागपछि गुण्डा लगाएरसमेत उनीहरुलाई हटाउने प्रयास भयो। अझै उनीहरु डग्मगाएनन्। उनीहरुले फास्टफुड एसोसिएसन गुहारे पछि घरबेटीले पनि आफूहरुको समाज गुहारे। त्यहाँ दोहोरो भिडन्तको स्थिती बन्ने भयो तर समस्या समाधान भएन।

अब घरबेटीले पुलिस लगाइ उनीहरुलाई धम्क्याउन थाले। एकदिन स्थानीय इन्स्पेक्टरले उनलाई थाना बोलाएर त्यँहाबाट सामान लिएर जान भने। उनले आफू राज्यलाई कर तिरेर कानुनी प्रक्रिया पुर्याएर व्यवसाय गरेकाले नजाने जवाफ दिएपपछि धम्कीको भाषा बोल्दै सामान फाकिदिने भन्दै अपशब्द प्रयोग गरि गाली गरे। फास्टफुड लाइनमा विभिन्न किसिमका ग्राहक आउने र चीनजान हुने हुदा उनले आफ्नो रेस्टुरेन्टका नियमित ग्राहक एक एसपीसँग कुरा गर्छु भनेपछि ती इन्सपेक्टर हच्किएको उनको भनाइ छ। अन्तिम अस्त्रको रुपमा घरबेटीले वकिल गुहारे र एकदिन ओमप्रकाशलाई अदालत बोलाइयो। बाहिर उनले आफ्ना एक नियमीत ग्राहक भेटे जो घरबेटीका वकिल थिए। सबै कुरा बुझेपछि ती वकिलले आफू मिलाइदिने भन्दै घरबेटीलाई त्यहाँ बोलाए। दुबैजनालाई राखेर उनले घरबेटीलाई सम्झाए। १ बर्ष मात्र बाकी रहेछ सम्झौता, मुद्दा मामिला गर्दा २/३ बर्ष जति नि लाग्न सक्छ खर्च धेरै हुन्छ बरु १ बर्षमा उ अफै जान्छ छोड्दिनुस भनेपपछि घरबेटी ब्याक भए। त्यसपछि पनि कहिले अग्रिम भाडा त कहिले के भनेर तनाव दिइरहे। सकसले एक बर्ष कटाएपछि सातदोबाटोमा नयाँ ठाँउ लिएर उनीहरुले सुरु गरेका हुन् अहिलेको युनिटी फुड क्याफे।

सातदोवाटो बाहेक अहिले यो क्याफेको शाखा त्रिपुरेस्वर, बाग्बजार र भैसिपाटीमा पनि छ। यी सबै शाखाहरुमा ओम र उनका भाईका साथै अन्य काम गर्ने स्टाफहरुको समेत सेयर लगानी रहेको छ। आफूमात्र कमाउँ भन्ने भन्दा नि सामुहिक रुपमा लगानी गरेर स्टाफ टिकाउने र स्वदेशमै अबसर सिर्जना गर्ने आफूहरुको कन्सेप्ट रहेको उनको भनाइ छ।

बेरोजगार युवाहरु बिदेश गएर जे सुकै गर्न तयार भएको देख्दा उनलाई निकै नराम्रो लाग्ने गरेको बताउँछन् । ‘आफ्नो देशमा त्यहि काम गर्न लजाउने, ठूलो बन्ने गरेको उनलाई मनपर्दैन।’ फरक प्रसंगमा उनी भन्छन्, ‘आफू सबै काम सिकेकाले आफ्नो होटलमा जे परी आयो त्यहि गर्न तयार हुने गरेको छु । म मालिक हो तर भाडा माझ्ने मान्छे नहुदा म आफै माझ्छु। काम गर्न लजाउनेको कहिल्यै प्रगति हुँदैन ।’

आफ्नो यो दुःख को कथा सुनाउदै उनी आम युबाहरुलाई कुरा काट्ने, मेहनत नगर्ने बानी छोडेर कुनै एउटा क्षेत्रको ज्ञान सीप हासिल गरि आफ्नो देशमा उडिरहेको पैसा समाउन तिर लाग्न आग्रह गर्छन् । आफूले नेपाली आकाशमा उडिरहेको पैसा देखेकैले आज यो स्थानसम्म आइपुगेको भनको भनाई छ । धैर्तता र लगनशीलता हुने हो भने जुनसुकै क्षेत्रमा सफल हुन सकिने उनको धारणा छ।

२०७७ मंसीर १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्